हुम्लाको लिमी लाम्चाबाट

हुम्लाको लिमी लाम्चाबाट

कृष्ण केसी

अहिले पनि कयौं मानिसहरु काल्पनिक स्वर्गमा रमाउछौं । धेरैले धर्तिमाता अझै चिन्न सकेका छैनौं । गौतम बुद्ध झैं चिन्तक,आइन्सटाइन झैं वैज्ञानिक बन्न सक्ने दिमाग भएर पनि सबैले त्यसलाई मानवहितमा प्रयोग गर्न नजानेकै कारण बेलाबेलामा मानवजाति संकटमा परेको छ । प्रकृतिले प्राणीका लागि चाहिने सबै कुरा दिएको छ तर सचेत मानिसले समेत त्यसलाई राम्ररी सदुपयोग गर्न सकेको छैन ।

हुम्लाको सदरमुकाम सिमीकोटदेखि मानसरोवरको प्रवेशद्धार एवम् नेपालचीन सीमाक्षेत्र हिल्सासम्म, हिल्सादेखि कैलास मानसरोवर नजिकैबाट चिहाउन पाइने लिमीको लाप्सा उपत्यकासम्मको रोमाञ्चक, खोजमुलक र जोखिमपूर्ण अध्ययन भ्रमणले यसपटक मलाई यसबारेमा सोच्न विवश बनाई दिएको छ ।

नेपालको हिमालपारी चीनको मानसरोवर वारी फैलिएको लिमीको लाप्सा उपत्यका यति विशाल, खुला र समतल छ कि जहां काठमाडौं उपत्यका, पोखरा उपत्यका जस्ता दर्जनौं साना ठूला उपत्यका सजिएका छन् । दुरगामी सोचका साथ त्यो ठाउंमा गौतम बुद्धको पहिचान झल्किने गुम्वा सजाउने हो भने लाप्सा उपत्यका मानसरोवर भ्रमणमा जाने पर्यटकहरूको आस्थाको केन्द्र बन्न सक्छ । यसबारेमा नेपाल सरकार र स्थानीय जनताले विशेष ध्यान दिनु पर्छ ।

मनका कुरा बोल्ने हो भने हुम्लाको सुन्दर लिमी बस्तीले बल्ल मलाई मेरो देश चिनायो, साहसी लिमीवासीले मलाई आफ्नो काम, कर्तव्य र अधिकार सम्झाई दिए, मानसरोवरबाट नेपालतिर बगेको नेपालको सबभन्दा ठूलो कर्णाली नदिले मलाई प्रकृतिको नियम पालन गर्न सिकायो, चीनको कैलास मानसरोवरले नेपालमा उभिएको संसारको सर्वाेच्च शिखर सगरमाथा र संसारको सबभन्दा अग्लो स्थानमा सजिएको तिलिचो ताल पुर्नस्मरण गरायो । तर भन्नै लाज लाग्ने कुरा के छ भने कर्णालीभित्रका दुरदराजका बस्तीहरूमा नेपाल सरकार अझै पुगेको छैन् ।

चीनसित जोडिएको हुम्लाको श्रीमष्टा गाविस नेप्कामा रेडियो नेपाल पनि सुनिदैन् । हिल्सामा चीनकै हैकम छ, नेपाली कामदारलाई कजाउछ, नेपाली भ्रमण टोलीलाई हेप्छ । सजिलै आउनजान दिंदैन । काठमाडौंबाट बेलाबेलामा नेताहरु, मन्त्रीहरु हिल्सा आउछन, जान्छन, गएपछि भूसुक्कै विर्सन्छन् ।

हिल्सामा केबल एउटा चौकी छ, प्रहरीले पैसा उठाउछन, खान्छन् । अझ अचम्मको कुरा लिमीलाप्चा क्षेत्रमा त सीमानाभन्दा धेरै यता (नेपालतिर) नेपालीको अनुमति बिना चीनले टहरा बनाएको छ, नेपाली भूमि हडपेको छ । यसबारेमा नेपाल सरकारलाई मतलबै छैन् । स्थानीय जनता बोल्ने स्थिति छैन् । यो आरोप होइन, चीनको अनौठो दादागिरी हो ।

हिल्सा, लिमी, च्वाखोला, टांके चीनसित जोडिएका नाका हुन् । यी सबै नाका सुचारु गर्न नेपाल सरकारले छिटो चीनसित उच्च साजेदारी गर्नुपर्छ ।

जेहोस, जीवनमा पहिलो पटक म एक्लै हिल्साबाट विहान ४ बजे हिंडेर २ वजे तिल बस्ती, ५ बजे हल्ती बस्ती, राती ८ बजे झांगा बस्तीमा एकैदिनमा पुगेको छु ।

झांगाबाट लाप्सा पुगेर एकैदिनमा झांगा फर्केको छु, झांगाबाट एकैदिनमा हिल्सा झरेको छु र हिल्साबाट दुई दिनमा सिमीकोट पुगेको छु । सिमीकोटदेखि हिल्सा, हिल्सादेखि लिमी, लिमिदेिख हिल्सा, हिल्सादेखि सिमीकोटसम्मको यो अध्ययन भ्रमण मेरा निम्ति जीवनकै अविश्मरणीय घटना बनेको छ …….

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका