समर हुम्ली ।। ३६ वर्षको कालखण्डमा हुम्लाको पत्रकारिताको इतिहासमा ९ पत्रिका मात्र दर्ता भएका छन् तर तिनीहरुमा धेरै जसो दर्तामा मात्र सीमित छन् भने केही पत्रिका मात्र प्रकाशित भएका छन् । हालसम्म पछिल्लो समयमा दर्ता भएको पत्रिका हुम्लाश्री मासिक पत्रिका हो ।
वि.सं.२०३५÷२०३६ सालको राजनीतिक उथलपुथलको प्रत्यक्ष र परोक्ष प्रभाब हुम्लामा पनि प–्यो । त्यसको प्रभाव स्वरुप हुम्लामा शैक्षिक हिमज्योति वार्षिक मुखपत्र नामक पत्रिका प्रकाशनमा आयो । यो नै हुम्लाको पत्रकारिताको इतिहासमा पहिलो पत्रिका हो । तर यसको स्वरुप कस्तो थियो, त्यो भने थाहा पाउन सकिएको छैन । त्यसको करिब १० वर्षपछि शैक्षिक हिमज्योतिको दोस्रो अङ्क प्रकाशनमा आएको छ ।
हुम्लामा कार्यरत राष्ट्सेवकहरुले जिल्लास्तरमा आन्तरिक रुपमा कर्मचारीको बौद्धिक, नैतिक, शारीरिक तथा साहित्यिक गतिविधिहरु आदानप्रदान गर्न गराउनका लागि कर्मचारी मिलन केन्दको गठन गरिएको र सोबाट हुम्ला संगम नामक वार्षिक मुखपत्र प्रकाशनमा ल्याइएको छ । यो कालक्रमिक रुपमा हुम्ला संगम, रलिङ्ग सन्देश र शिर्ष सदरमुकाम नाममा विभिन्न समयमा प्रकाशनमा आएको छ । यसले हुम्लाको साहित्यिक पत्रकारिताको इतिहासमा उल्लेखनीय योगदान गरेको छ ।
हालसम्म हुम्ला जिल्लाबाट तपसिलका पत्रपत्रिकाहरु प्रकाशनमा आएका छन् । जस्तैं ः शैक्षिक हिमज्योति (२०३६), हुम्ला संगम (२०४४), हुट्टीट्याऊँ (२०४८), रलिङ सन्देश (२०५२), खार्पुदोभान (२०५१), नयाँ दुबो (२०५६), हुम्लाश्री (२०५८), हिमाली मुस्कान (२०५६), शैक्षिक गुञ्जन (२०५७), हाम्रो हिमाली मुस्कान (२०५८), हुम्ला संवाद (२०६०), हुम्ला विकास समाचार (२०६०), मातृभुमि (२०६१), कृषि पत्रकारिता (२०६१), कालोअक्षर (२०६०), सरसफाइ (२०६३), गाउँको आवाज (२०६४), गाउँको रैबार (२०६४), घीउढुंगा (२०६४), चोखेचौर (२०६४), इन्द्रेणी (२०६४), शिर्ष सदरमुकाम (२०६५), कर्णाली डट कम (२०६६), कर्णाली रैबार (२०६७), कचहरी (२०६७), हिमनगर (२०६७), कर्णाली सरोवर (२०६९), सिमकोट टाइम्स् (२०६९) र कचहरी साप्ताहिक (२०७०), कचहरी दैनिक (२०७१) र हुम्लाश्री मासिक (२०७२) । यी पत्रिकाहरु वार्षिक मुखपत्र, भित्तेपत्रिका, हवाई पत्रिका तथा समाचारमुलक पत्रिकाहरुका रुपमा रहेका छन् । यी चार दर्जन पत्रिकाहरुमा नौ पत्रिका मात्र जिल्ला प्रशासन कार्यालय हुम्लामा दर्ता भएका छन् । हुम्लाबाट प्रकाशित अन्य धेरै जसो पत्रिकाहरुले जिल्लाका विविध विषयवस्तुहरुलाई समेटेका छन् भने मुखपत्रको पनि धर्म निभाएका छन् ।
हुम्ला जिल्लाको पहिलो दर्ता पत्रिका हिमाली मुस्कान मासिक हो । यो पत्रिका आ.व. २०५५÷०५६ मा जिल्ला प्रशासन कार्यालय हुम्लामा दर्ता भएको हो । यो पत्रिका तीन अङ्कसम्म मात्र प्रकाशन भएर बन्द भएको छ । यसपछि २०५७ सालमा हाम्रो हिमाली मुस्कान त्रैमासिक पत्रिका दर्ता भएको छ । यसको ठीक १० वर्षपछि कर्णाली डट कम साप्ताहिक पत्रिका दर्ता भएको छ भने यसको एक वर्षपछि कर्णाली रैबार साप्ताहिक पत्रिका र कचहरी मासिक पत्रिका दर्ता भएर प्रकाशनमा आउन थालेका छन् । पछिल्लो समयमा दर्ता भएको कर्णाली डट कम साप्ताहिक पत्रिका केही महिना प्रकाशनमा आएर अनलाइन संस्करण हुँदै बन्द भएको छ भने कर्णाली रैबार साप्ताहिक पत्रिका केही अंक प्रकाशनमा आएको छ । पछिल्लो समयमा हिमनगर मासिक र सिमकोट टाइम्स् साप्ताहिक पत्रिका प्रकाशनमा आएर पनि बन्द भएका छन् । कचहरी मासिक पत्रिका हाल मासिक, साप्ताहिक हुँदै दैनिक पत्रिकाको रुपमा प्रकाशनमा आए पनि भौतिक, आर्थिक, बौद्धिक र प्राविधिक रुपमा पनि धरमराउन पुगेको छ । न त सुचारु छ न त छ बन्द मात्र अधमरो रुपमा रहेको छ कचहरी मिडिया हाउसको नाममा ।
हु्म्ली पत्रकारिताको साढे तीन दशक लामो इतिहासमा एक वर्षमा साढे एक पत्रिका प्रकाशन भएको अनुमान गरिए पनि यथार्थमा त्यो होइन । जब नेपालमा प्रजातन्त्रको पुर्नवहाली भएपछि देशभरी खुला वातावरणको फाइदा हुम्लाले पनि पायो । यसैको प्रतिफल हुम्लामा करिब २१ पत्रिकाहरु हस्तलिखित रुपमा प्रकाशित भएका छन् भने २६ पत्रिकाहरु छापा पत्रिकाहरुको रुपमा प्रकाशनमा आएका छन् ।
नेपालभरी आमसञ्चारका बारेमा जानी नजानी चेतनाको लहर बढ्दै गएको कारण पत्रपत्रिकाहरुमा हुम्ला र हुम्लीको पनि सहभागिता बढ्दै गयो । यसैको परिणाम स्वरुप राष्ट्यि, क्षेत्रीय तथा स्थानीय पत्रपत्रिकाहरु र एफ.एमहरुको संख्या बढ्दा पत्रकारहरुको संख्या पनि बढ्दै जाँदा हुम्लाका पत्रकारहरुको पनि संलग्नता बढ्दै गएको छ ।
नेपाल पत्रकार महासंघ संस्थागत रुपमा नेपालभरी पत्रकारहरुको हकहित तथा अधिकारका लागि सक्रिय भएका कारण पनि पत्रकारिता र पत्रिकाका लागि जानी नजानी आकर्षण बढ्दो अवस्था छ तर गुणस्तर भने कम छ । यसका लागि नाम मात्रको पत्रकारिता गर्ने अर्थात् पीत पत्रकारहरुको संख्या न्यून गर्ने कुरा मुख्य चुनौति रहेको छ । नाम मात्रका पत्रकारहरु राजनीतिक सत्ता र कमीसनको मोटो भत्तामा मात्र सीमित रहेका छन् । पत्रिकाको नाममा धेरैले बील र सिलको भरमा फाइदा लिएका छन् । यो काम र प्रवृति कम गर्नका लागि गुणस्तरीयता, सक्रियता र व्यावसायिकता जस्ता कुराहरु बढाउन आवश्यक छ ।
हुम्लाका केही सक्रिय पत्रकारहरुको पहलमा द्वन्द्व न्युनिकरण गर्ने काममा सक्रिय भएका कारण जनयुद्धमा पनि शान्ति पत्रकारिताको सफल अभ्यास भएको एक नौलो उदाहरण होे । यसबाट जिल्लास्तरीय रुपमा सहयोग पुगेको थियो । यसैले साँच्चै सत्य, तथ्य, निष्पक्ष र आमसमुदायका लागि पत्रकारिता गरेमा सबैतिरबाट आफै सहयोग पाइने कुरा निर्विवाद भएको सञ्चारकर्मी रमेश ऐडीको भनाई रहेको छ । यसका लागि पत्रकारिता गर्ने व्यक्तिमा पनि भर पर्दछ । पत्रकारिता गर्ने व्यक्ति साँच्चै पत्रकार हुनुपर्छ नकि सत्रकार अर्थात् पीत पत्रकार ?
हुम्ला जिल्लामा व्यवसायी पत्रकारिताको शुरुवात गर्ने व्यक्ति अग्रज पत्रकार जयबहादुर रोकाया हुन् । उनैले देखाएको पथमा हुम्लाका धेरै पत्रकारहरु व्यवसायीकतातिर उन्मुख भएका छन् । यसको श्रेय अग्रज पत्रकार जयबहादुर रोकायालाई नै जान्छ । उनकै सक्रियता र अगुवाईमा कर्नाली अञ्चलमा नै पहिलो पटक वि.सं. २०५८ सालमा तदर्थ समिति गठन भई वि.सं. २०६० सालमा हुम्ला जिल्लामा नेपाल पत्रकार महासंघ, जिल्ला शाखाको स्थापना भएको हो । अझै उनले सिकारु पत्रकारहरुका लागि सिर्जनशीलता र क्रियाशिलता दिनुपर्छ ।
हुम्लाबाट पत्रिका प्रकाशन गर्नु भनेको एक किसिमको प्रतिज्ञा र तपस्या गर्नु हो । आमचासोका समाचार, लेख रचना र अन्य सामाग्रीहरु संकलन गर्ने काम एकातिर अति कठीन छ भने अर्कातिर विज्ञापन माग्नका लागि पत्रिकाहरु प्रति ग्राहकले निरन्तरताको खोजी गर्ने कुरा जायज छ ।
हाल सिमकोटमा बिजुली आएकोले कम्प्युटरको डेस्कटपका कामहरु हुम्लामा नै गर्न सकिने भएको छ । यस्ता प्रीप्रेस र पोस्टप्रेसका कामहरु गर्नका लागि पनि प्राविधिक र आर्थिक पक्षको समायोजन गर्न अति गाह्रो छ । जब यी कामहरु सकि नसकि गरेर पत्रिका नेपालगञ्ज र काठमाडौंबाट छापेर नेपालगञ्ज सुर्खेतमा पु–्याएपछि अभिमन्युले चक्रव्युह तोड्नका लागि गरेको संघर्षभन्दा धेरै संघर्ष नेपालगञ्जको विमानस्थलमा गर्नुपर्छ । यी र यस्ता अनेकौं समस्या माझ प्रकाशित पत्रिका समयमै ग्राहकको हातमा पर्छ कि पर्दैन । सधैं चिन्ताले तानिरहने विषय बनेको छ ।
ग्राहकलाई ग्राहक बनायो पत्रिका प्रकाशन छैन ? शुभेच्छुकलाई विज्ञापन माग्यो पत्रिका आँउदैन ? र त कसरी माग्ने विज्ञापन र कसरी बनाउने ग्राहक ? यी यावत कुराहरुको व्यवस्थापन मिलाउन सकेमा ग्राहक र विज्ञापनदाताहरुको कमी छैन । म कस्तो छु भनेर पहिला आफ्नो मुख नहेरेर अरुलाई गिज्याउन मिल्ला कि नमिल्ला ? यो पत्रकार साथीहरुले सोच्नै पर्ने कुरा हो । म केही मासिक पत्रिकाहरुको अग्रीम वार्षिक ग्राहक बने तर एक अंक बाहेक पत्रिकाका अरु अंकहरु आएनन् ? खै कता हरायो ? खै कता हराए ? यदि पत्रकारहरु सक्रिय भएमा समाचारको खाँचो छैन र पत्रिका नियमित प्रकाशन भएमा ग्राहक, विज्ञापनदाता र शुभेच्छुकहरुको माया पाउन कठिन छैन ।
आशा गरौं, गणतान्त्रिक नेपालमा सूचना, सञ्चार र आमचासोका कुराहरु हाम्रो र राम्रो संविधानमा पूर्ण प्रेस स्वतन्त्रता सहितको मौलिक हकका रुपमा प्रत्याभुत हुनेछन् । मिडियाका लागि सरलता, सहजता र सुलभता आउने कुरारमा विश्वास गरौं । जय गणतन्त्र नेपाल, जय नेपालीहरुको बलिदान, जय पत्रकारिता पेशा !