सरसफाइ साहित्यमा हुम्ला

सरसफाइ साहित्यमा हुम्ला

 

-समर हुम्ली

सरसफाइ साहित्य अभियान ग्रामीणस्तरमा शारीरिक र मानसिक रुपमा चेतना दिने एउटा अवधारणा हो । कहिले काँही हातमा कुचो र कलम कापी समातेर घर घरका आँगनहरुमा गएर सरसफाइ गर्दै कविता पनि लेखिन्छ त ? कहिले समय सुहाउँदो अन्तरक्रियात्मक रुपमा बौद्धिक सरसफाइका बारेमा छलफल र बहस गरिन्छ । तर के हो त सरसफाइ साहित्य अभियान ?
तोरीको फुल
फुस्स गन्धे छ ढल
फल रहित !
प्रस्तुत हाइकुले समसामयिक गन्धलाई उजागर गरेको छ । विविधितायुक्त प्राकृतिक संग्राहलयमा बसेर गोर्खाालीको तुष भावना बोकी गन्धजति सबै छरेर सुगन्धलाई कुम्लोमा थुपारी विकासको नाममा साखुल्ये प्रवृत्ति प्रदर्शन गर्दै झोला भर्ने कर्मचारीहरुको मानसिक शुद्धता अर्थात सरसफाइ गर्न यो अभियानको आवश्यकता रहेको छ । कारवाही जस्तो देखिने दुर्गमको बसाईबाट मुक्ति पाउनका लागि यसको अनिवार्यता छ । के सधै कालो कालो वादलको कुहिरोमा रुमलिएको काग जस्तै भएर दुर्गमको दूर दूर दूर दराजमा उपेक्षित भएर बस्नु भनेको कुमारी आमा कुन्तीको मात्तृ वात्सल्य विहीन कर्ण झैँ बनेर बस्ने कहाँ गए ?

के मत्स्यगन्धाहरुलाई योजनगन्धा बनाउने पराशरहरु यहाँ जन्मेका छैनन् त ? के यहाँ अब कण्वहरुको घाँटी च्यापिन लागेको छ त ? के आफ्ना सन्तानहरुलाई प्रवाहमय नदीको भेलमा बगाएर श्राप मुक्त हुन खोज्ने वा उन्मुक्तिको प्रपञ्च रच्ने गंगाहरु आवाल शन्तनुहरुको रक्षा कवज बन्न सक्छन् र ? के राष्ट् र राष्ट्यिताको नाममा धृतराष्ट्हरुको पापात्मालाई सहेर देवब्रत भीष्महरुका प्रताडित आत्माहरुलाई लिएर अर्जुनको शरशै्या शवमा बाँच्न बाध्य किन पारिन्छ त ? यो सबै मनो विकार, शारीरिक विकार, समाजिक विकार तथा वातावरणीय विकारको सरसफाइ गर्न आवश्यक छ ।

धुवाँको मुस्लो !
बैशाखे भाँडावर्तन
पस्की परिकार

हो वर्तमान समयमा विकासको सरसफाइ गर्ने अगुवा नभएको हगुवाहरुले द्वन्द्वलाई आय आर्जनको अवस्थालाई बालुवाको पहाड बनाई रहेका छन् । यहाँ अंगुलीमालहरु हत्याको शृङ्गखलाहरुलाई संख्यात्मक रुपमा बढाएर एक हजार औंलाको माला लगाएर अजर, अमर र अविनाशी हुन चाहन्छन् । यहाँ तोरमारणहरु सल्बलाएर हुम्लीको घाँटीमा कात हानी रहेका छन् ।

युग युगका दादा इमिनहरु रगत र रगतको लहुलाई चुसेर नशा नशामा घुसेका छन् । परजीवीको रुपमा जुका, घुन, उपियाँ, जुम्रा, किर्ना, ज्वाँल, कृतिका र कीरा भएर सबाल्टर्नलाई नासमास गर्नका लागि सिआइएको बिग्बीगिी बढेको छ । नव नव उपनिवेश बनाउनका लागि रले प्राकृतिक स्रोतहरुमा एनाकोन्टाको दाह्राहरु फौलाएर बिष छरेको छ । जब जब, जो जो,जसले जसले सांस्कृतिक, सामाजिक तथा आर्थिक धरातललाई प्रदूषित बनाउँदै जालो जालो कालकूट विषको महामारी फैलाउँछ ।

त्यसका विरुद्ध आञ्चलिक साहित्य अभियान, अभिज्ञान आन्दोलन, राल्फा आन्दोलन, झर्रोवादी आन्दोलन र बुटपालिस आन्दोन, मनोक्रान्ति अभियान जस्ता झड्काहरु लाग्छन् । हो यस्ता र यही किसिमका विकार, खकार, अशुद्धता र विकृति हटाउन लागि सरसफाइ साहित्य अभियानको आवश्यकता रहेको छ । तब मात्र खश खशिया बाह्र रसियाको उत्खनन्, अन्वेषण तथा अभ्युत्थान गर्न सक्छौं ।
हरियो चौर
गन्तव्यहीन चाप
सरग टाढा !
छ्या कस्तो दुर्गम ठाउँ, यहाँ त कुकुर पनि नबसोस् तर किन होला । जिन्दगीको लागि पैसा कमाउन देशावर नचहारेर झोलाका झोलामा तोला भर्ने हाकिम सापहरु मदीराको माँत र उन्मादमा खुशि भएर अघिल्लो दिनमा सराप्छन् र पछिल्लो दिनमा झोलामा भर्छन् विकास र विकासको नाममा आएको निकासको बजेटका अनेकौं नाममा पेश्की, भ्रमण खर्च, लुगाभत्ता, औषधि खर्च, मसदन्द खरीद, जिन्सी सामान खरीदहरुको दर्जमा माग फारमका काला काला अक्षरहरुमा सेतो सेतो धरातलको वक्षस्थलमा राजनीति, भाजनीति र भातनीतिको पोको बोकेर उभिन्छन् । जो जो बटुवाहरु भेटिन्छन् उनीहरुलाई ससानो पार्को, चुर्को, पुल्बु, क्याल्वा, कुन्देरी र थलाको पार्सी पठाउन मौरीको गन्तब्य झैँ चलायमान हुन्छन् । कुकुर बाँधेर गोरेटोमा ढुकुरको ऐडा जान्छन् । मालामालको जालमा हाम्फालेर संगीहरुलाई कारङ्गखोलाको भुँन्याणोमा खसाल्छन् । बिना श्रीमान्को प्रसुति हुने कुमारीआमाहरु अस्पतालमा गर्भरिोधक सुई लगाउँन जाँदा त्यहीं बलात्कृत हुन्छन् । बिना बाबुका छोराहरु सहोदर सन्तान भएर रक्त सम्बन्धबिनाको नाताप्रमाणित गरेर श्रीसम्पत्तिको मालिकको लाममा आएर उभिन्छ । तर पनि बिडम्बना जसले दिन्छ नाना, दाना र छाना उसैलाई सराप्ने चलन छ । युद्धको उद्घोष गर्छ । विद्रोहको चेतवनी दिन्छ । आत्महत्याको राग अलाप्छ । यी मनरच्याँसे अलापहरु सतीले सरापेको संस्कृतिको एक एक अंशहरु त हैनन, ओ जीऊ ?
बिगे्रको धारो !
पहिारोभित्र चोती
छ्वार्र छ्रवार्र छ्यू
“एक घर एक चर्र्पी अभियान”ले जिल्लाभरि चर्पीको बारेमा चेतना जगायो । सरसफाइ कार्यक्रमले घरघरमा सचेतना जगाउने र पु–याउने काम ग–यो । सस र गैससका प्रस्तावपत्रहरुका साझेदार बन्ने काममा सफलता पायो । यसले समाजमा सकारात्मक प्रभाव पारे पनि दीर्घकालीन कुराको अल्पकालीन कार्यक्रमले हावा र हुरीको रुप लिएर ठेकेदारहरु र कर्मचारीहरुको चुरीफूरी च बढायो । हाकिम कारीन्दा भए, कारीन्दा भए हाकिम । यो साखुल्ले र सुलसुले प्रवृत्तिको आँधीहुरीले अवसरवाद, चम्चावाद र फरीयावादको हावाले कसलाई माथि चढायो, कसलाई तल लडायो र कसलाई त्यसै रडायो । तर पनि हुम्लाको शारीरिक र मानसिक सरसफाइका लागि यस्ता अभियान सञ्चालन गर्न अति खाँचो छ । गरेमा नहुने के छैन र ? तर पनि गोर्खालीहरुको ग्वार्रगुर्र र ह्वार्रहुर्रमा हुर्केका टुर्केका र फुर्केकाहरु न.प्र., त.प्र. र श.प्र.का नतिजाहरु देखाएर सहर बजारका बोडिङ्गहरुले शिक्षालाई बेचेर अविभावहरुलाई प्रफुल्ल पार्न डिस्टीक्सनका नतिजाहरु देखाए झैं पहिलोमा पहिलो देखाउने संस्कार संस्कारीएको छ । भलै जाँचमा विशिष्ट श्रैणीमा प्रमाणपत्र पाए पनि काममा लास्ट नै किन नहोस् जस्तै छन् हुम्लामा विकासको कामहरु ।
ब्यस्त छ नेल
रङ फर्ने वादल
उफ टठ छ !
सरसफाइको ह्याङओभरमा डुबेर शिशाका टुक्राहरुबाट शिशमहलका वरपर सर्बत्र मदीराको दुर्गन्धले मदीरामय भएको छ हुम्ला । काँचो मासुको कवाफले कवाफिएको छ हुम्ला । विना बाबुका सुत्केरी आमाहरुको सुत्केरी गल्लीमा घामको नाममा ढेलको जाम हुँदा दुर्गन्धीत रगतको आहाल बगेर फोहर बनेको छ हुम्ला । व्यापारीहरुको उपयोगितावादले प्लाष्टिकमय बनाएको छ हुम्ला । चामलको राजनीतिले चामलमय बनाएको छ हुम्ला । कर्मचारीहरुको कचकच र थच्चथच्चले थाला पारेको छ हुम्ला । यसका लागि पनि सरसफाइ साहित्य अभियानको आवश्यकता छ हुम्ला र हुम्लीहरुका लागि । र त यहाँ देउडाको गीतमा आत्मीयतयाको भाका छ । मौरीको घारमा महको चाका छ । भग्रीहरुको साथमा आञ्चलिकताको खाका छ । माँडुहरुमा सामुहिक भावनाको गाजा छ । तर तर नेपालका राष्टसेवकहरु शैक्षिक जडतालाई बोकी हुम्लालाई डम्पिङ साइट र डस्टबीनको एक भाँडो मात्र मानेर कमाऊ र लुटको भावनाले लत्पतिएका छन् । मपाईँत्वको कामनाले जीगोलेका छन् । उत्साहको खडेरीले भडखालामा परेका छन् । तर पनि यो हुम्लालाई अंग्रेजको उपनिवेशिक भावनाको लहरमा लहरीएर हुम्लालाई सृजना हैन, खडेरीको जग बसाल्छन् । कलुषित भावना खसाल्छन् । जुवाको कुवा खनेर जान्छन् । र त आमा बाबुले नबनाएको बाटोमा हिंडेर कुल कुलान्तरसम्म लागेको ऋण चुक्ता गर्न हुम्लालाई रोज्दछन् रे ? कारण यहाँ विकासे काम नगरेरै कुम्ल्याउन पाइन्छ । जनसहभागितामुलक कार्यक्रम लक्षीत वर्ग, समाज र तहमा नपुगेर टपरटुईयाँ र हुट्टिट्याँऊ प्रवृतिले लाखौं र करोडांै रकम कमिशनको खेलमा विना लिक्को रेल गुडाउँछन् हुम्लामा तर हुम्ला त दुर्गम हुन सक्दैन ? यो सुगम भए त कहाँको कमाई र दमाईको नाममा दर्ज हुन सक्छ र ? यसैले यो दुर्गम नै रहोस् ? तर हुम्लाका गाउँहरु आत्मनिर्भरताको बाटोमा हिंडेका छन् । काठमाडौंमा पानी छैन, ग्याँस छैन, बिजुली छैन्, इन्धन छैन तापनि शहर र सहरमा किन आकर्षण ?
रोप्दै पालुवा
उमालेर एडस र ?
यौनको रोग !
गाविस, जिविस र अन्य संघ सस्था एवम् गैरसरकारी संस्थाहरुबाट कार्यन्वयन हुने विभिन्न भाँति र ताँतीका कार्यक्रमहरु आ–आफ्नो सोच, स्वार्थ र लोकप्रीयताको लागि आउँछन्, जान्छन् र खान्छन् । यसको सरसफाईका लागि शारीरिक र मानसिक यी दुई कुरको समायोजन गरेर चेतनाको विकास गर्न गराउने समय आएको छ । गरीव र गरीबीको हङकङकको रुपमा विकसित हँुदै गएको हुम्लाको सिमकोट गोर्खालीको “माना चामल उठाउँने” ठाउँका रुपमा कुरुपिएको नग्न पूर्वधार विहिन ठाउँ हो । नाम नभएको र दाम हराएको गाउँ हो हुम्ला । आजभोलि त गाविसका सचिवहरु सरकारका विना छोरीका ज्वाईँ भएका छन् । गाविसको बजेटलाई जाँडको भुम्ला झैँ जहाँ, जसरी, जहिले, जसले, जति रकम कुम्लामा हाले पनि कसैले केही गर्न सक्दैनन् । तालुलमा आलु फलेको छ । सेतो भ्रष्टचारको एक एक नमुना हो । खास्स् र खुस्स् हास्स् र हुस्स् गरेर खोली बगाइन्छ । बिना खोलाको साँघु लगाइन्छ । सामाजिक सुरक्षा भत्ताको गाँस, हातमा म्यारीजको तास, शहरमा बास हाम्रा सचिवज्युहरुको मिठो मिठो छ गाँस, न त कसैले गर्न सक्छ सरुवा न त गर्न सक्छ कारवाही । अमेरीका झैँ महाशक्तिशाली छन् यिनीहरु । यो प्रशासनीक सरसफाई हुने कहिले हो खै ?
खल्ती तानातान्
ढुगां बोकी गुँडामा
बसन्तको हुरी !
हाम्रा सस तथा गैससहरुको तथ्याङ्क पनि आफु खुशी मनोमानी तरकारी संकलन र प्रयोग गरिन थालिएको छ । र त साविकको अङ्कलाई बढाएर “गाउँ आयो गु आयो” भन्ने उखान अब त विकसित भएर “ विकास आयो भ्रष्टचार भयो ।” भन्ने कुरा विकासको पहिचान बोकेको भएको छ । यहाँ शिशाका टुक्राहरु फोहरको आहालमा छरपष्ट छन् । प्लाष्टिकका पर्खालहरुमा डम्पिङसाइटको शिखर चढ्दैछ । यो प्रवृति सुधार्नै पर्छ नत्र जहाँ पनि, जहिले पनि र जसरी पनि ज्वालामुखी ओकल्न सक्छ हुम्लाले ? आगो बन के वेर ? हवस् त मित्रहरु नौ हाइकु र हुम्लाको सरसफाइ साहित्यको अभियानको कथुङग्री यत्ति नै हो । यहाँहरुका केही क्रिया प्रतिक्रियाहरु, रायहरु, सुझावहरु र सल्लाह छन् भने अवश्य पठाई सरसफाइ कार्यमा सहयोग गर्नु होला ।
कालो तछाला
रजस्वलाको खात
आँकुरा भाँच्दै !
बोनको मन्त्रमा हुम्ला
समर हुम्ली
बोनधर्मको शाब्दिक अर्थ ‘मन्त्र, प्रार्थना र स्तुति हुन्छ । यो एक प्राकृतिक धर्मको समानान्तर परिभाषा भएको धार्मिक मत भएकाले प्राचीन कालमा प्राकृतिक शक्ति, भुतप्रेत, आँधीबेहरी, हावापानी, वादल, रुख वनस्पति, ढुङ्गा माटो, पानी, आगो जस्ता पञ्च भौतिक तत्वहरुको पुजा गर्ने संस्कारले स्थान पायो । यो शक्ति समाज अनुसार कहीँ बोन भयो । कहीँ मैठो भयो । कहीँ ल्हागो भयो । कहीँ गुरा भयो । कहीँ महाकाल भयो । कहीँ भैरब भयो । कहीँ सुमैजी र गवालो समेत भयो । यी विभिन्न रुप रङ्ग र स्पन्दनहरुको प्रस्फुटन हो । धामीले न्यायिक कार्य र तन्त्रमन्त्र दुबै काम गर्दछ । यो एक बोनधर्म र हिन्दुधर्मको मिश्रित रुप मानिन्छ ।
हुम्ला कर्णाली प्रदेशको उत्तरी साँचो भएकाले नै विशाल खश साम्राज्य र बाइसी राज्यहरुको ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक, पु्रातात्विक तथा सामरिकस्थल मानिन्छ । यस्ता महत्व बोकेका भग्नावशेषहरुमा सीमकोटको दोचा–दोफर गुठी, चौपाडी, चौत्था, दत्तात्रेय चौतारी, मुग्रा, कालोसिल्तोको माँडु, कोट, सीमचौर, गिरखेल्न, भारखाङको १२ साले गुफा, हुम्ली ढङ्गो, सुकीला गुम्बा, सेल्मुकाङ, बिभुक गुफा, खोड गुम्बा, ग्यागु्र गुफा, खार्पुनाथ,ऋृणमोक्ष गुफा, रामपाल, हंसपाल, बाँडपाल, ल्वासुर, गुरा, म्हादेउ, भ्वानीका माँडुहरु, सारम्पुरी देउता, गोन्वो छेवाङ, टुङमा, हल्जी गुम्बा, तम्लुङ गुम्बा, तुम्कोट गुम्बा, हयाङ्सी गुम्बा, यारी, हिल्छाचौर, नौमुली, रानी धर्मशालालाई जीवित राख्ने ला, धर्मशाला, पाटीपौवा, मुग्रा, देवल, बाटो, भुओखाडो, बिसुन, पातीहाल्न, कोसेढुङ्गो आदिमा मिश्रित रुपमा हुम्लाको धार्मिक संस्कारभित्र अनेकौं बोनधर्मका परम्पराहरु लुकेका छन् । यी सबै साधन र स्रोतभित्र ‘बोन’ धर्मका ऐतिहासिक र पौराणिक प्रमाण मानिन्छन् ।

‘बोन’ धर्मका प्रबर्तक सेन्राव–मिवो–चेलाई मानिन्छ । उनी स्वयम् भगवान् श्रीशिवका साक्षात् रूप मानिँदै आएका छन् । यिनलाई पौराणिक हिन्दु कथनमा महर्षि कृष्ण द्वैपायन व्यास र दत्तात्रेय मानिन्छन् भने हुम्ली समाजले तोन्वा सेन्राव, बज्र गुरु, मैठो, मस्टपा र ह्वाडेखोली पनि भन्दछन् ।

हुम्लाको सदरमुकाम सीमकोटदेखि १६ कोस टाढाको पुर्वोत्तर भागमा अवस्थित रोङकाई सेल्मोकाङ अर्थात् रलिङ गुम्बामा वि.सं. १३१२ को अशोक चल्लको ताम्रपत्र पाइएको छ । जसलाई नेपाली भाषाको सर्वप्राचीन र शुद्ध लेखोट मानिन्छ । यसैले प्राचीन खश राजाहरु उत्तरको जडानमा जाड भाषा र दक्षिणको खशानमा खश भाषाको विकास गरेको प्रमाण हो । त्यसमा ‘हाम्रा साँध–सिमाना बलियो गरिएको छ’ भन्ने वाक्य कुँदिएको छ । यसको अर्थ हो खश साम्राज्यको ‘स्याङसुङ सभ्यता सम्पन्न र बलियो छ । यी राजाहरु बोन, जैन, बौद्ध र हिन्दु धर्ममा मिश्रित समाजको प्रतिनिधित्व गरी राज्य गर्थे । जसको फलस्वरुप प्राचीन नेपाली भाषा एघारौं शताब्दीभन्दा अघि अस्तित्वमा आई राजकीय सम्मान प्राप्त गरेको प्रमाण राजा दापुपालको वि.सं. १०३८ को अभिलेख हो ।

यो बोनधर्मको पृष्ठभुमिमा उत्तरबाट बुद्धधर्म र दक्षिणबाट हिन्दुधर्मले अतिक्रमण गरेर धार्मिक आक्रमण भएको कारण ‘सेतो बोन’ र ‘कालो बोन’ देउताको उदय भयो । सेतो बोन आदेशक र कालो बोन पालक देखिन्छ । यसैले एकतामा अनेकता र अनेकतामा एकताको सांगीतिक ध्वनि ‘ॐ मत्रिमुदे सालेदु हुँ’ बाट ‘ॐ मणि पद्येम हु्ँ’, ‘ॐ बज्र गुरु हुँ’, ‘ॐ बुद्ध धर्म संघ र ॐ चन्द्र सुर्य मरुत् भन्ने मन्त्रका ऋचाहरु ध्वनि, आवाज, अक्षर र शब्द भएर पृथ्वीको काप बाप र राप रापमा रुपान्तरित भई कर्नालीको स्पन्दन प्रवाह भएको छ । यी नाम, गुण र विशेषताहरु ३६ विरुदावली, ३६ कर, ३६ गुण, ३६ कोट, ३६ वीरस्तम्भ, ३६ लोकसुस्केरा आदिको छत्तीस समुहमा स्थापित र आबद्ध भई व्युत्पत्ति भएको छ – कर्नालीको अरुणिमा, गरिमा र महिमा बोनधर्मको उद्घोषमा ।

बोनधर्म आदिम सभ्यतामा मानवीय भावनाको आकस्मिक संकट र प्राकृतिक क्रियाकलापलाई संयोजन गर्ने एक उत्कृष्ट मानवीयताको उद्घोष हो । यसको प्रमाण हुम्लाका लामा र धामीहरुको तन्त्रमन्त्र गर्ने तौर तरिका र न्यायिक कार्यको सम्पादन गर्ने क्रियाकलापहरुलाई नियालेर हेर्दा थाहा हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका