चितवन, फागुन ६–
ज्येष्ठ नागरिकको लागि बनेको सेवा सुविधाहरु लिखतमा मात्रै सिमित रहेको प्रति ज्येष्ठ नागरिकहरुले गुनासो गरेका छन् । ज्येष्ठ नागरिक संघ चितवनकोे शुक्रबार सम्पन्न ५ औं वार्षिक साधारणसभा एवं चौथो अधिवेशनमा उपस्थित ज्येष्ठ नागरिकहरुले यस्तो बताएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथी सांसद रामकृष्ण घिमिरे रहनु भएको थियो । उहाँले ज्येष्ठ नागरिकलाई बेवास्ता गरे इतिहासलाई नै वेवास्ता गरे सरह हुने उनले बताउनुभयो । सरकारले ज्येष्ठ नागरिकको क्षेत्रमा गरेको कामहरुमा केहि कमजोरी भएपनि त्यस्लाई विस्तारै सुधार गर्दै लैजाने उनले बताए । यस्तै अहिलेको संविधानले सम्पूर्ण क्षेत्र, वर्ग र समुदायका व्यत्तिहरुको हक र अधिकारलाई समेटेको भन्दै संविधान कार्यान्वयन हुन आवश्यक रहेको बताउनुभयो । पहिचानको सवालका कारण मधेसीहरु संविधानको रुकावट बनेको उहाँले प्रष्ट्याउनुभयो ।
ज्येष्ठ नागरिक संघ चितवनका निर्वतमान अध्यक्ष बालकृष्ण सुवेदीले ज्येष्ठ नागरिकहरु एक ठाउँमा भेला भएर आफ्ना समस्याहरुबारे छलफल गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । वैदेशिक रोजगारीमा युवाहरुको बढ्दो आर्कषणका कारण पनि आमा बुबा प्रति ख्याल गर्न नसक्दा उनीहरुमा निरासा छाउने गरको उहाँले बताउनुभयो ।
कार्यक्रममा १० जना ज्येष्ठ नागरिकहरुलाई छाता, दोसल्ला र सम्मान पत्रले समेत सम्मान गरिएको छ । कार्यक्रममा ज्येष्ठ नागरिक संघ चितवनका सचिव देवी कुमारी सापकोटाले प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो भने कोषाध्यक्ष भेषराज न्यौपानेले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रममा पूर्व सांसद भिमबहादुर श्रेष्ठ,महिला तथा बालबालिका कार्यालयकी सीता लामिछाने, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य ऋषिराम न्यौपाने लगायतको उपस्थिती रहेको थियो । यस्तै संघको आज भएको अधिवेशनले धु्रवराज शर्मा अर्यालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती गठन गरेको छ ।