चितवन, फागुन ५–
स्थानीय निकायका कर्मचारीको आन्दोलनका कारण चितवनका जिविस र नगरपालिका पूर्णरुपमा बन्द हुन पुगेको छ ।
जिविस र नगरपालिका बन्द हुँदा अहिले दैनिक विभिन्न सरकारी कामको सेवा लिन जाने सोवाग्राही जनता भने सम्बन्धित कार्यालयमा पुगेर रित्तै फर्कन थालेका छन् । सुरुमा हातमा कालोपट्टि बाँधेर विरोध जनाएर आफ्नो माग राख्दै आएका स्थानीय निकायका कर्मचारी अहिले दैनिक कार्यालय नै बन्द गराएर आन्दोलनमा उत्रिन परेको आन्दोलनमा आबद्ध कर्मचारी बताउँछन् ।
स्थानीय निकायअन्तर्गत जिल्लाका नगरपालिका, जिविस र गाविसका समेत रहँदै आएका अस्थायी र करारका कर्मचारीलाई स्थायी गर्नुपर्ने र अन्य सेवासुविधाको समेत राज्यले व्यवस्था गर्न पर्ने उनीहरुको माग छ । चितवनमा पाँच दिनदेखि जिविस र नगरपालिकाको कामकाज ठप्प छन् ।