प्राधिकरणको जिल्ला कार्यालयमा ७० दरबन्दीमध्ये ५८ पद रिक्त

प्राधिकरणको जिल्ला कार्यालयमा ७० दरबन्दीमध्ये ५८ पद रिक्त

काठमाडौं ,माघ २७ –

भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन गठन गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा दरबन्दीअनुसारका कर्मचारी पूर्ति हुन नसक्दा काम अघि बढ्न सकेको छैन ।

प्राधिकरण केन्द्रीय कार्यालयमा ७० जना कर्मचारीको दरबन्दी रहेकामा २१ पद खाली रहेको प्राधिकरणका सचिव डा सञ्जय शर्माले राससलाई जानकारी दिनुभयो । “प्राधिकरणमा प्राविधिकतर्फको सहसचिव एक, प्राविधिक उपसचिव तीन, प्राविधिक शाखा अधिकृत १०, शाखा अधिकृत प्रशासन एक र प्राविधिक नायब सुब्बा छ पद रिक्त छ, दरबन्दीअनुसार कर्मचारी नहुँदा काममा प्रभाव परेको छ, जिल्ला कार्यालयमा उपसचिव भए अरु कर्मचारी करारमा लिएर काम गर्ने गरी सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरिएको छ, स्वीकृत भएर आएपछि कर्मचारी करारमा लिने प्रक्रिया सुरु हुन्छ” – उहाँले भन्नुभयो ।

जिल्ला समन्वय समितिको कार्यालयमा ७० दरबन्दी रहेकामा १२ जना कार्यरत छन् भने ५८ पद रिक्त छ । जिल्ला कार्यालयमा राजपत्राङ्कित द्वितीय श्रेणी नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका १४ उपसचिवमध्ये आठ पद पूर्ति छ भने छ पद रिक्त छ । राजपत्राङ्कित तृतीय श्रेणीका १४ इन्जिनियरको दरबन्दीमध्ये चार पदमात्र पूर्ति छ, १० पद खाली छ । पुनःनिर्माणमा प्राविधिक कर्मचारीको सङ्ख्या कम हुँदा काम गर्न समस्या भएको बुधबार सार्वजनिक लेखा समितिको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले बताउनुभएको थियो । प्राधिकरणमा आउँछु भनेका कर्मचारीलाई पनि मन्त्रालयले पठाउन ढिलाइ गरेको उहाँको गुनासो थियो ।

जिल्ला कार्यालयमा १४ लेखापाल र २८ सिभिल इन्जिनियरको दरबन्दीमध्ये सबै पद रिक्त छ । भूकम्प अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर र भक्तपुरमा जिल्ला कार्यालय सञ्चालनमा कर्मचारी अभाव भएको हो । जिल्ला कार्यालयमै कर्मचारीको अभाव हुँदा गाउँ गाउँमा खटिएका इन्जिनियरको समन्वयमा समस्या भएको छ । जसका कारण पीडितले गाउँमा इन्जिनियरलाई भेट्न नसकिएको गुनासो आइरहेको प्राधिकरणले जनाएको छ । पहिलो किस्ताको रु ५० हजार बुझेर पुनःनिर्माण सुरु गरेका पीडितले कर्मचारी अभावकै कारण समस्या खेप्नुपरेको छ ।- रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका