काठमाडौं, माघ २५ –
स्वास्थ्यमन्त्री गगन थापाले रक्सी (मदिरा) नियन्त्रण गर्न कडा कानुन ल्याउने तयारी गरेका छन्। मन्त्री थापाले मदिरा नियन्त्रणका लागि ‘राष्ट्रिय मदिरा नियन्त्रण नीति, २०७३’ ल्याउन लागेका हुन्। मदिरा सेवनका कारण नेपालमा एचआइभी, क्षयरोग, सडक दुर्घटना, घरेलु हिंसा, आत्महत्या, मुटुरोग र कलेजोको क्यान्सर बढ्दै गएकाले मदिरा नियन्त्रण नीति ल्याउन लागेको मन्त्री थापाले जानकारी दिए।
मन्त्री थापाको निर्देशनमा स्वास्थ्य मन्त्रालयले ‘राष्ट्रिय मदिरा नियन्त्रण नीति, २०७३’ तयार पारेको छ। नीतिले मदिराको उत्पादन, बिक्री–वितरण र सेवन सम्बन्धी विज्ञापन, प्रवद्र्धन, प्रायोजन र समाचार कुनै पनि सञ्चार माध्यमबाट प्रचार–प्रसार गर्न निषेध गरेको छ।
‘मदिराको सेवनका कारण हुने विकृति, रोग र मृत्युदर घटाउने उद्देश्यले नीति ल्याउन लागिएको हो,’ मन्त्री थापाले भने, ‘अब हरेक वर्ष राष्ट्रिय मदिरा रहितदिवस पनि मनाइनेछ।’
मदिराको प्रयोगले निम्त्याउने जनस्वास्थ्य, सामाजिक र आर्थिक समस्या न्यूनीकरण गर्न मदिराको बोतलमा ७५ प्रतिशत भागमा मदिरा सेवनका कारण क्षति भएको कलेजो वा मुटु रोगको चित्र राख्नुपर्नेछ। यस्तै, मदिरा स्वास्थ्यका लागि हानिकारक छ भन्ने सन्देश बोतलमा ठूलो अक्षरले लेख्नु पर्नेछ।
यसअघि चुरोट र सुर्तीजन्य पदार्थको प्याकेटमा यस्तो चित्र र सन्देश आनिवार्य राख्नु र्ने नियम लागू भएको छ। मदिरा नियन्त्रणका लागि चलचित्र, टेलिफिल्म, नाटकजस्ता कुनै पनि मनोरञ्जनात्मक, समाचारमूलक र श्रव्यदृश्य कार्यक्रममा कलाकारको प्रयोग, उत्पादन कम्पनीको ब्रान्ड वा लोगो राख्न निषेध हुनेछ। साथै, बिहान ७ देखि बेलुका ७ बजेसम्म खुला रुपमा मदिरा खरिद बिक्री गर्न पाइनेछैन।
विश्व स्वास्थ्य संगठनले मदिरा सेवनका कारणले हुने रोग र मृत्युलाई कम गर्न १० वटा रणनीति तर्जुमा गरेको छ। यसलाई एक सय ९३ वटा सदस्य राष्ट्रले सर्वसम्मतले अनुमोदन गरिसकेका छन्। नेपाल सरकारले पनि यो रणनीतिलाई अनुमोदन गरेको छ।
नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षण २०११ अनुसार नेपालमा मदिरा सेवन गर्ने श्रीमान् मध्येबाट झन्डै ७० प्रतिशत श्रीमती भौतिक र यौन हिंसाको सिकार बन्ने गरेका छन्। साथै, सो सर्वेक्षणले परिवारकै सदस्यबाट बलात्कार र हत्याका घटनाको मूल कारण मदिरा रहेको देखाएको छ।
सरकारले २०५५ सालमा विद्युतीय सञ्चार माध्यममा मदिराको विज्ञापन गर्न रोक लगाएको थियो। राष्ट्रिय स्वास्थ्य नीति, २०४८ र २०७१ ले पनि नसर्ने रोग नियन्त्रणका लागि मदिरा नियन्त्रणको बाटो खुला गरिदिएको छ। मदिराजन्य पदार्थको सेवन नसर्ने रोगको प्रमुख कारण मध्ये पर्दछ। नेपालका गरिब मजदुरहरुले आफ्नो आम्दानीको १५ प्रतिशत मदिरामा खर्च गर्ने गरेको सर्वेक्षणले देखाएको छ।