Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
खेल मैदानका लागि स्थानीयले डोजर लगाउँदा विद्युत गृहको पर्खाल भत्कियो – Gaule Khabar

खेल मैदानका लागि स्थानीयले डोजर लगाउँदा विद्युत गृहको पर्खाल भत्कियो

खेल मैदानका लागि स्थानीयले डोजर लगाउँदा विद्युत गृहको पर्खाल भत्कियो

काभ्रे,माघ २५ –

स्थानीयले खेल मैदान निर्माण गर्ने भन्दै डोजर चलाउँदा काभ्रको पनौती–१२, खोपासीस्थित खोपासी जलविद्युत आयोजनाको कम्पाउण्डको पर्खाल भत्किएको छ। विद्युत गृहको खाली रहेको जग्गामा खेल मैदान बनाउने भन्दै डोजर लगाएर मैदान बनाउँदा पर्खाल भत्किएको विद्युत गृहका प्रमुख महमद सफिदले बताए।

‘विद्युत् गृहको अन्दाजी २० रोपनी जतिको खाली जग्गा थियो, हामीले यहाँ नबनाउनुस् यो जोखिमपूर्ण ठाउँ हो भन्दा पनि नमानी त्यसमा खेल मैदान बनाउने भन्दै स्थानीयले सम्याउन थाले,’ सफिदले भने, ‘डोजरले सम्याएको माटोजति पर्खाल भएतिर थुपारिदिँदा पर्खाल भत्किएको हो।’

विद्युत गृहको पश्चिततर्फ रहेको पर्खालको करिब २० र २५ मिटर खण्ड भत्किएको सफिदको भनाइ छ। ‘विद्युत् गृहको जग्गा भएकाले हामीले भनेको मान्नुहुन्न भने माथिबाट स्वीकृत लिएर मात्रै बनाउनुस् भनेर भन्दा पनि अटेर गरेर गर्नुभयो,’ सफिदले थपे, ‘अहिले यस्तो बर्बाद भइरहेको छ, त्यसमा उहाँहरुले वास्ता नै गर्नुभएको छैन।’ पहिला केही भयो भने हामी जिम्मेवार हुन्छौँ भन्नेहरुले पर्खाल भत्केपछि वास्ता नगरेको उनको गुनासो छ। ‘कार्यालयले बनाउन अनुमति दिएको छैन, जनताको अगाडि के नै लाग्छ र !’ सफिदले भने, ‘मैले प्रशासन कार्यालयमा पनि पत्र काटेको छु र अनुगमनको लागि कर्मचारीलाई खटाएको छु।’
उनले त्यसको आवश्यक जाँचबुझका लागि विद्युत गृहकै कर्मचारी पर्शुराम वाग्लेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरी प्रशासनमा प्रतिवेदन बुझाउने तयारी गरिरहेको जानकारी दिए। पर्खाल भत्किएको ५ दिन भइसक्दा समेत के गर्ने भन्नेमा स्थानीयले खासै चासो दिएका छैनन्।
सो खाली जग्गामा एक बर्ष अगाडि काभ्रेका २ नंं क्षेत्रका सांसद रामहरी सुवेदीले खेलमैदान बनाउने भन्दै शिलान्यास गरेका थिए। सोही अनुरुप केही दिन अगाडि मैदान बनाउन डोजर लगाएर सम्याएको माटो पर्खाल भएपछि थुपारिदिएका कारण पर्खाल भत्किएको हो। यता सांसद सुवेदी भने सो जग्गा विद्युत प्राधिकरणकै भएको र त्यहाँका युवाले खाली जग्गालाई उपयोग गरौं भनेपछि आफैँले शिलान्यास गरेको बताउँछन्। ‘खेल मैदानको लागि स्थानीय युवाले उपयोग गरौँ न भनेपछि मैले सहयोग गरेको हुँ, तर पर्खाल भत्किएको भन्ने कुरा अहिले थापा पाएँ,’ उनले भने, ‘त्यस्तो हो भने विद्युत् प्राधिकरणले नै बनाउला।’ सो खेल मैदानका लागि आफूले बजेट उपलब्ध गराउने तयारी गरिरहेको उनले जानकारी दिए। यसै विषयमा जिज्ञासा राख्दा प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले विद्युत गृह छुट्टै स्वायत्त संस्था भएकाले सम्बन्धित ठाउँमा कुरा राखेर काम गर्न सुझाव दिएको बताए। ‘त्यो छुट्टै व्यापारिक स्वायत्त संस्था प्राधिकरण हो, त्यही अन्तर्गत कुरा गर्दा राम्रो हुन्छ भनेको छु, त्यसका लागि सुरक्षाको दृष्टिकोणले गर्ने काममा सहयोग गर्छु भनेको छु,’ सिंखडाले भने, स्थानीयहरुसँग कुरा गरेर कति भत्किएको हो, सल्लाह गरी प्रकृया अगाडि बढाउनुस् नमिलेको ठाउँमा म सहयोग गर्छु भनेको छु।’ – थाहा खबर

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका