नवलपरासी, माघ २१–
नेपालमा पछिल्लो समय सिमसार अतिक्रमणको चपेटामा परेका छ । सिमसारलाई जोगाउने खोला र नदी हो । नदी र खोला प्रदुषणको मारमा छन् । नदी र सिमसारको वरपरको अवस्था वर्षौदेखि नियालेका व्यक्तिहरुले यसबाट परेको असर प्रत्यक्ष देखे भोगेका छन् । सिमसारको महत्व दर्शाउन बिहीबार विश्व सिमसार दिवस मनाइयो ।
सिमसार नदीमा माछा र लेउजस्ता आहार हुने भएका कारण अनेकथरीका पानी चराहरु बस्छन् । पुसको अन्तिम र माघको सुरूमा जलपक्षी गणना हुन्छ । नदी र सिमसारका चरा गन्दै हिँड्नेहरुले पहिलाको र अहिलेको अवस्था वर्णन गर्छन् ।
जलपक्षी गणनामा सक्रियताका साथ लाग्ने व्यक्ति हुन् नवलपरासीका चराविद् डीबी चौधरी । ‘सन् १९८७ देखि यसरी जलपक्षी गन्दै आएका छौँ’ चौधरीले भने । चौधरीलाई पछ्याउँदै जाने हो भने एक झुण्डमा सय दुई सय चराहरु अनि यस्ता झुण्ड एक दुई होइनन् दर्जनौं देखिन्छन् । आजको चितवन पोष्ट दैनिकमा खबर छ ।
चखेवा, जलकौवा, खोया हाँसजस्ता सयौं जलपक्षी लहरै उड्दा पहिलो पटक देख्नेहरु तीनछक पर्छन् । एक दिन जानेहरु अचम्म परे पनि वर्षौदेखि चराको अवस्थासँग जानकार चौधरी भने चिन्तित छन् । नवलपरासीको नारायणी नदीको सिख्रौली र अमलटारीको बीचमा छ घोसर घाट । २० वर्षअघि घोसरघाटमा चौधरीले २५ वटा घडियाल र मगर गोही देखेका थिए ।