काठमाडौं, माघ २० –
चलचित्र ‘भाग सानी भाग’ ले चुर्लुम्म डुबेका संगीतकार चेतन सापकोटा फेरि अर्को चलचित्र निर्माणको तयारीमा जुटेका छन् । अहिले उनी नायिका करिष्मा मानन्धरले पहिलो पटक निर्देशन गर्न लागेको चलचित्रको निर्माणमा जुटेका हुन् ।
त्यस चलचित्रमा नायिका करिष्मा मानन्धरकी छोरी कविता मानन्धर मुख्य भूमिकामा हुनेछिन् । सापकोटाले बक्स अफिस नभएकै कारण आफ्नो सिनेमा ‘भाग सानी भाग’ डुबेको भन्दै अब बक्स अफिस लागु भएको अवस्थामा मात्र चलचित्र निर्माण गर्न सजिलो हुने बताएका छन् । तर किन रु यो बारेमा आज हामीले उनीसँग कुराकानी गरेका छौँ ।
बक्स अफिस नहुँदा ‘भाग सानी भाग’ डुब्यो
संगीतकार सापकोटाले निर्माण गरेको पहिलो चलचित्र ‘भाग सानी भाग’ले निर्माण टिमलाई चुर्लुम्म डुबायो । चलचित्रको प्रचार—प्रसारको समयमा निकै चर्चा भए पनि रिलिज भएपछि चलचित्रले पानी पनि भन्न पाएन । तर पनि चेतन सापकोटा लगायत टिम फेरि चलचित्र निर्माणमा जुटिरहेको छ । अहिले आफू राम्रो कथाको खोजीमा रहेको बताउँदै उनी ‘भाग सानी भाग’ चलचित्र नचल्नुको कारण चलचित्र हलहरुमा बक्स अफिस लागु नहुनुलाई मुख्य कारण मान्छन् ।
उनी भन्छन्, ‘पहिलो चलचित्र निर्माण गर्दा बक्स अफिस नहुँदा चलचित्रको लगानी उठ्न सकेन । दोस्रो चलचित्र निर्माणको समयसम्म बक्स अफिस लागु भयो भने चलचित्र निर्माण गर्छु । लागु नभएको अवस्थामा चलचित्र निर्माण हुन गाह्रो छ । बक्स अफिस नहुँदा हलवालाहरुलाई गरिखानको लागि चलचित्र निर्माण गरेको जस्तो भएको छ ।’
अहिले सञ्चार मन्त्रालय मार्फत बक्स अफिसको लागि ३ करोडको लगानी भइसकेको छ । तर बक्स अफिस लागु गर्नको लागि हलवालाहरु मान्न तयार छैनन् । बक्स अफिस लागु भएको खण्डमा निर्देशक, निर्माता, कलाकार, प्राविधिक देखि सबैलाई आर्थिक रुपमा राम्रो हुने छ । हलमा संचालन भएको चलचित्रको आम्दानी पारर्दशी हुने छ । चलचित्र निर्माणको सवालमा उनी पनि नयाँ भएको र नयाँ निर्माता मर्कामा पर्ने गरेको उनको बुझाई छ ।
करिष्माको चलचित्रमा संगीत भर्दै
संगीतकार सापकोटा अहिले नायिका करिष्मा मानन्धरको डेब्यु निर्देशन रहेको चलचित्रमा संगीत भर्ने तयारीमा छन् । करिष्माको डेब्यु निर्देशन चलचित्रमा उनले आफ्नी छोरी कवितालाई डेब्यु गराउने पक्कापक्की भइसकेको छ । सापकोटाले चलचित्र निर्माण टिमलाई राजेन्द्र थापाको शब्द र आफ्नो संगीतमा एउटा गीत दिइसकेको पनि बताए ।
यो गीतमा रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको आवाज रहेको छ । यस्तै चलचित्रको बारेमा कुराकानी गर्ने क्रममा उनले करिष्मा अहिले छोरीको ज्यान घटाउन लागि परेको पनि बताएका छन् । कविता चलचित्रमा खोजेको भन्दा धेरै मोटो देखिएको कारण तौल घटाउनु पर्ने बाध्यता आएको हो ।
एकल एल्बम आउँदै
संगीतकार चेतन सापकोटाले अहिलेसम्म ३ सय भन्दा धेरै गीतमा संगीत भरेका छन् । उनी संगीतकार मात्रै नभएर गायक र चलचित्र निर्माता पनि हुन् । संगीत यात्रामा भएको लामो समयको ग्यापपछि उनले नयाँ एल्बम ल्याउने तयारी गरिरहेका छन् । स्टेज कार्यक्रममा जाँदा पुरानो गीत गाउनु पर्दा दर्शकसँगै आफूलाई पनि चित्त नबुझेको भन्दै स्टेज कार्यक्रमलाई लक्षित गरी नयाँ एल्बम ल्याउन लागेको उनले बताए ।
आफ्नै शब्द, संगीत र आवाजमा एकल एल्बम ल्याउने तयारी गरेका सापकोटा भन्छन्, ‘अहिले गीतको एरेन्जको काम भइरहेको छ । अबको केही महिना पछि भिडियो सहित ४ वटा गीत पनि सार्वजनिक हुनेछन् ।’ एल्बमको नेपाली बजार नभए पनि युट्युबमा राख्दा रोयल्टी आउने आश सापकोटालाई लागेको छ ।
एउटा गीतमा संगीत भरेको ६० हजारसम्म लिन्छु
पछिल्लो समय संगीतकारहरु पनि महङगो हुन थालेका छन् । उनीहरुले पनि आफ्नो मेहनत अनुसार पैसा चाहिने बताउँदै आएका छन् । संगीतकार चेतन सापकोटालाई हामीले एउटा गीतमा संगीत भर्दा कति पैसा लिनु हुन्छ रु भनेर प्रश्न गर्दा उनले भने, ‘६० हजार ।’
उनी विशेष गरी सिनेमाको गीतमा महंगो लिन्छन् । तर अन्य एल्बमका गीतहरुमा संगीत भर्दा कम पैसा लिने गरेको पनि उनले बताएका छन् । -उज्यालो अनलाइन