Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विदेश अध्ययन गर्न जान चाहनुहुन्छ ? हेर्नुहोस् कुन देश जान कति लाग्छ खर्च ! – Gaule Khabar

विदेश अध्ययन गर्न जान चाहनुहुन्छ ? हेर्नुहोस् कुन देश जान कति लाग्छ खर्च !

विदेश अध्ययन गर्न जान चाहनुहुन्छ ? हेर्नुहोस् कुन देश जान कति लाग्छ खर्च !

युवाहरूमा अध्ययनका लागि विदेश जाने चलन बढ्दो छ। ‘स्टुडेन्ट भिसा’ मा विदेश पठाउन परामर्श दिँदै आएका संस्थाहरूका अनुसार प्लस–टु पास गरेकादेखि पिएचडी गरेका विद्यार्थीसम्म विदेश जान खुट्टा उचालिरहेका छन्। तर, राम्रो परामर्शको अभावमा पैसा गुमाएको वा विदेश पुगेर दुःख पाएकाहरूको संख्या पनि उत्तिकै छ। युवाहरूको यो बढ्दो अभिरुचिसँगै उनीहरूलाई परामर्श दिन १ हजार ५ सय वटा कन्सल्टेन्सी शिक्षा मन्त्रालयमा दर्ता भएका छन्।

शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डे विद्यार्थीले आफू जान चाहेको देशको भिसा नीति, पढाइको स्तर र परिवारको आर्थिक स्थितिमा ध्यान दिएर मात्र कुन देश जाने हो निक्र्यौल गर्नुपर्ने बताउँछन्। उनका अनुसार ‘स्टुडेन्ट भिसा’ मा विदेश जानेहरू धेरैजसो अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, जापान र क्यानडा रुचाउँछन्। हेरौं, अध्ययनका लागि यीमध्ये कुन देश जाँदा कति खर्च लाग्छ ।

अमेरिका

नेपाली विद्यार्थीले सबभन्दा बढी रुचाउने अमेरिका जान पढाइमा उत्कृष्ट हुनपर्ने कन्सल्टेन्सी सञ्चालकहरू बताउँछन्। आफ्नै खर्चमा अध्ययनका लागि अमेरिका जान थोरै रकमले पुग्दैन। सुरुमा टोफेल/आइइएलटिएस गर्नुपर्ने हुन्छ। यसको तयारीका लागि करिब ५ हजार तिर्नुपर्छ। भाषा परीक्षाका लागि १६ हजार ९ सय ५० रुपैयाँ बुझाउनुपर्छ। त्यसपछि अमेरिकी दूतावासमा अन्तर्वार्ताका लागि १ सय ६० डलर र सर्भिसका लागि २ सय डलर गरी ३ सय ६० डलर बुझाउनुपर्ने हुन्छ। नेपालीहरू खासगरी स्नातक पठ्न अमेरिका जाने हुँदा विद्यार्थीले वार्षिक न्यूनतम ५ हजारदेखि ३० हजार डलरसम्म तिर्नुपर्ने हुन्छ। हाल एक अमेरिकी डलरको विनिमयदर १ सय ९ रुपैयाँ बराबर छ।

‘अमेरिकामा कलेजको शुल्क महँगो पर्छ, तर छात्रवृत्तिमा जानेका लागि अमेरिका उत्कृष्ट गन्तव्य हो,’ ब्रोडवे ओभरसिज एजुकेसन सर्भिसेसका प्रबन्ध निर्देशक तथा इक्यानका केन्द्रीय सदस्य गोविन्द अधिकारीले भने, ‘अमेरिकामा स्नातक पढ्न जानेले स्याट र मास्टर्स पढ्न जानेले जिआरई गर्दा राम्रो हुन्छ।’ त्यस्तै, कन्सल्टेन्सीहरूले ‘प्रोसेसिङ’ शुल्कका रूपमा १५ हजारदेखि २० हजारसम्म लिने गर्छन्। नेपाल सरकारलाई शिक्षा सेवा कर भनेर कलेजमा तिर्ने रकमको १ प्रतिशत तिर्नुपर्छ। ‘नो–अब्जेक्सन’ लेटरका लागि २ हजार रुपैयाँ बुझाउनुपर्छ भने अमेरिका जाँदा २ हजार डलरको ट्राभल चेक बोक्नुपर्छ। जहाजको भाडा भने सामान्यतया ८० देखि ९० हजारसम्म पर्ने ट्राभल एजेन्सीहरूले जनाएका छन्। अस्ट्रेलिया अस्ट्रेलिया पनि नेपाली विद्यार्थीका लागि निकै लोकप्रिय गन्तव्य मानिन्छ।

अस्ट्रेलिया

जान विद्यार्थीले सर्वप्रथम आइइएलटिएस गर्नुपर्ने हुन्छ। यसका लागि कम्तीमा ५ हजार तिर्नुपर्छ। त्यसपछि भाषा परीक्षाका लागि १६ हजार ९ सय ५० बुझाउनुपर्छ। भिसाका लागि अस्ट्रेलियन दूतावासमा ५ सय ५० अस्ट्रेलियन डलर बुझाउनुपर्ने हुन्छ। प्रोसेसिङ शुल्क भनेर भिएफएसमा ३ हजार २ सय ६० दस्तुर तिर्नुपर्ने हुन्छ। त्यसपछि कलेज शुल्क पढाइको स्तरअनुसार डिप्लोमा हो भने वार्षिक ७ हजार देखि १२ हजार डलरसम्म, ब्याचलर हो भने १६ देखि ३० हजार र मास्टर्सका लागि १६ देखि ३० हजार डलरसम्म लाग्ने परामर्शदाताहरू बताउँछन्।

त्यस्तै, प्रोसेसिङ चार्ज भनेर कन्सल्टेन्सीहरूले १५ देखि २० हजारसम्म लिने गर्छन्। शिक्षा सेवा कर भनेर नेपाल सरकारलाई कलेज शुल्कको १ प्रतिशत बुझाउनुपर्छ। नो अब्जेक्सन लेटरका लागि २ हजार रुपैयाँ लाग्छ। त्यस्तै २ हजार अमेरिकी डलरको ट्राभलचेक पनि बनाउनुपर्छ। अन्य प्रशासनिक खर्च करिब ५ हजार रुपैयाँ लाग्छ। अन्त्यमा जहाज टिकटको ५५ हजारदेखि ७० हजारसम्म पर्छ।

न्यूजिल्यान्ड

पछिल्लो समय अध्ययनका लागि न्यूजिल्यान्ड जानेको जमात पनि ठूलो छ।न्यूजिल्यान्ड जान सुरुमा आइइएलटिएस गर्नुपर्छ। त्यसका लागि कम्तीमा ५ हजार र परीक्षाका लागि १६ हजार ९ सय ५० तिर्नुपर्ने हुन्छ। कन्सल्टेन्सीहरूले प्रोसेसिङ चार्ज करिब १० हजार लिने गर्छन्। भिसाको निम्ति करिब २५ हजार ६ सय ८० रुपैयाँ तिर्नुपर्ने हुन्छ।

न्यूजिल्यान्डमा पनि डिप्लोमा पढ्न जानेले वार्षिक करिब १६ हजार, ब्याचलर पढ्न जानेले १८ हजार, पोस्ट ग्रयाजुएटका लागि १९ हजार ५ सय तथा मास्टर्सका लागि २४ हजार देखि ३४ हजार न्यूजिल्यान्ड डलर बुझाउनुपर्ने इक्यानका महासचिव तथा कमन फाउन्डेसन कन्सल्टेन्सीका प्रमुख कार्यकारी सन्तोष प्याकुरेलले जानकारी दिए। हाल १ न्यूजिल्यान्ड डलरको बिनिमयदर ७९ रुपैयाँको हाराहारी पर्छ। ‘नो अब्जेक्सन लेटर’ का लागि २ हजार रुपैयाँ र २ हजार डलरको ट्राभलचेक पनि बनाउनुपर्छ। न्यूजिल्यान्ड जान जहाज टिकट सामान्यतया ८० देखि ९० हजारसम्म पर्छ।

जापान

पछिल्लो समय जापान जाने विद्यार्थीको संख्यामा उल्लेख्य रूपमा वृद्धि भइरहेको पिसफुल एजुकेसन फाउन्डेसनकी प्रिन्सिपल निरुपमा महर्जनले जानकारी दिइन्। जापान जान जापानी भाषा सिक्नु जरुरी छ। भाषा कक्षा र परीक्षाको लागि कोर्सअनुसार करिब २१ सय देखि ३६ सयसम्म तिर्नुपर्ने हुन्छ। कन्सल्टेन्सी प्रोसेसिङ भनेर १ हजार डलर तिर्नुपर्छ। भिसाको निम्ति २५ सय बुझाउनुपर्छ। स्कुलको पढाइ शुल्क ५ लाख ८० हजारदेखि ६ लाख ८० हजार जापानी येनसम्म तिर्नुपर्ने हुन्छ।

त्यस्तै होस्टलका लागि १ लाख ३० हजार येनदेखि १ लाख ५० हजार येनसम्म बुझाउनुपर्ने हुन्छ। हाल १० जापानी येनबराबर ९ रुपैयाँ ६० पैसा छ। यो शुल्कले ठूलो सहरका लागि ३ महिनासम्म र सानो सहरका लागि ६ महिनासम्म पुग्छ। जापान जान जहाजको टिकट सामान्यतया ५५ देखि ६५ हजारसम्म पर्छ। नो अब्जेक्सन लेटरका लागि २ हजार रुपैयाँ बुझाउनुपर्छ। २ हजार अमेरिकी डलरको ट्राभलचेक पनि बनाउनुपर्छ।

क्यानडा

नेपाली विद्यार्थीमा क्यानडाको लोकप्रियता पनि निकै छ। क्यानडाको शैक्षिक गुणस्तर राम्रो भएकाले विद्यार्थीहरू क्यानडा जान लालायित हुने गरेको ओपेरा एजुकेसनल कन्सल्टिङ प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक पदम भट्टराइले जानकारी दिए। क्यानडा जान आइएलटिएसमा ६ दशमलब ५ अंक ल्याउन जरुरी भएको भट्टराइले बताए। आइएलटिएस पढ्न सामान्यतः ५ हजार र परीक्षा दिन १६ हजार ९ सय ५० रुपैयाँ लाग्छ। त्यस्तै क्यानेडियन दूतावासमा १३ सय २० भारु बुझाउनुपर्ने हुन्छ। भिएफएस प्रोसेसिङको लागि दिल्लीमा रहेको क्यानेडियन दूतावासमा ४२ सय १७ भारु बुझाउनुपर्छ। कन्सल्टेन्सीहरूले प्रोसेसिङ चार्ज भनेर करिब १० हजारदेखि २५ हजारसम्म लिने गर्छन्।

त्यसैगरी नो अब्जेक्सन लेटरका लागि २ हजार दस्तुर तिर्नुपर्ने हुन्छ। क्यानडामा विश्वविद्यालय स्तरमा अध्ययन गर्न १६ हजार क्यानेडियन डलरभन्दा बढी लाग्छ भने कलेज स्तरमा पढ्न ८ देखि १२ हजार क्यानेडियन डलरसम्म तिर्नुपर्छ। हाल एक क्यानेडियन डलर बराबर ८३ रुपैयाँ छ। त्यस्तै क्यानडा जानुभन्दा पहिले जिआइसी सर्टिफिकेट बनाउन जरुरी छ। यसका लागि १० हजार २ सय क्यानेडियन डलर तिर्नुपर्छ। यसमा १० हजार क्यानेडियन डलर भने विद्यार्थीले फिर्ता पाउँछन् र क्यानडा जान जहाज टिकटका लागि सामान्य समयमा करिब ८० देखि ९० हजारसम्म पर्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका