Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बिजुली चोरी गिरोहमा प्राधिकरणकै कर्मचारी – Gaule Khabar

बिजुली चोरी गिरोहमा प्राधिकरणकै कर्मचारी

बिजुली चोरी गिरोहमा प्राधिकरणकै कर्मचारी

काठमान्डौं, माघ १०-

४० देखि ५० हजार रुपैयाँ तिर्नुपर्ने घरमा गिरोहले चार/पाँच सय तिरे पुग्ने गरिदिन्थे, मासिक १०/१२ लाख रुपैयाँको विद्युत् खपत हुने उद्योगमा ५० हजार मात्रै तिरे हुने बनाइदिन्थे’विद्युत् चोरी गिरोहकै कारण लोडसेडिङ बढेको र उपलब्ध बिजुली न्यायिक वितरण हुन नसकेको बहस चुलिरहेका बेला विद्युत् चोरीमै संगठित गिरोहमा आबद्ध १६ जना पक्राउ परेका छन् । यतिसम्म कि, विद्युत् प्राधिकरणकै उपल्ला कर्मचारी, मिटर रिडर, प्राविधिक कर्मचारी र पूर्वकर्मचारीसमेत यसमा संग्लन भेटिएका छन् ।

प्राधिकरणको बालाजु शाखाका सुपरभाइजर सुमन श्रेष्ठसहित रत्नपार्कस्थित प्राधिकरण वितरण तथा सेवा निर्देशनालयका वरिष्ठ सहायक दिलबहादुर साउद, सोही कार्यालयका मिटर रिडरहरू मनिज श्रेष्ठ, ओम ढुंगाना, प्रदिप शर्मा, श्याम बस्नेत, ठाकुर महर्जन, काठमाडौंस्थित शाखाका प्राविधिक कर्मचारी टहलबहादुर कार्की, हेटौंडा वितरण केन्द्रमा कार्यरत मिटर रिडर महादेव प्रधान, बानेश्वर शाखाका मिटर प्राविधिक कर्मचारी अच्युत खड्का, लगनखेल शाखाका मिटर रिडर सूर्यबहादुर थापा र भक्तपुर शाखाका पूर्वसुपरभाइजर भगवान पाण्डेलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो ।

गिरोहसँग मिलेर थोरै विद्युत् महसुल तिर्ने चार व्यवसायीसमेत समातिएका छन् । गोकर्णेश्वर नगरपालिका–१३ स्थित मञ्जुश्री खानेपानी व्यवसायका सञ्चालक कुमार लामा, गौशालामा मिठाई पसल चलाएर बसेका भारतीय नागरिक तपन घोष, नक्सालस्थित कपास व्यापारी भारतीय नागरिक परवेज आलम र अनामनगरस्थित रामेश्वरम मिठाई पसलका सञ्चालक रामेश चुँडाललाई समेत पक्राउ गरिएको हो । केही सातादेखिको निगरानीपश्चात् उनीहरू पक्राउमा परेका हुन् । सुरुमा मिटर रिडरहरूले व्यवसायी र घरधनीलाई मिटरमा जति रकम उठे पनि थोरै पैसा तिरेर उम्कन मिल्ने उपाय सुझाउँछन् । रिडरले थोरै रकम उठेको बिल तयार पार्छन् र प्राधिकरणकै प्राविधिक कर्मचारीको सहयोगमा मिटरको सिल तोडेर मिटर उल्टो घुम्ने बनाउँछन् । महाशाखाका एसएसपी सर्वेन्द्र खनालका अनुसार यस्तो थुप्रै गिरोह छन्, तर सबै संगठित छन् ।

‘गिरोहहरू बिजुली धेरै खपत हुने क्षेत्रमा खटिन्छन्,’ उनले भने । कसरी कम शुल्क तिर्न सकिन्छ भन्ने उपायको खोजीमा रहेका व्यवसायीको सम्पर्कमा पुगेपछि मिटर रिडर र प्राविधिक कर्मचारीले सेटिङ तयार पार्छन् । प्राधिकरणका उपल्ला कर्मचारीको मिलेमतोमा तयार हुने यस्तो ‘सेटिङ’ मा व्यवसायीसँग मोटो रकम लिइन्छ र बाँडीचुँडी गरिन्छ । कतिसम्म भने प्राधिकरण बालाजु शाखाका सुपरभाइजर सुमन श्रेष्ठ प्राय: कार्यकक्षमा भेटिँदैनथे । कार्यालय समयमा पनि उनी बा५च ३४५१ नम्बरको निजी गाडीमा बौद्ध, बालाजु र मन्डिखाटार क्षेत्र घुमिरहन्थे । गाडीको डिक्कीमा मिटर सिल, मिटर खोल्न आवश्यक उपकरण, मिटर बिगार्न आवश्यक तारलगायत सामग्री सधंै बोकी हिँड्थे । अपराध महाशाखाको टोलीले केही दिनयता उनको गतिविधि निगरानी गरिरहेको थियो । श्रेष्ठ निजी घरका अलावा धेरै बिजुली खपत गर्ने उद्योगमा लुसुक्क छिर्थे । बिजुली खपत जति भए पनि थोरै रकम उठाइदिने ‘डिल’ गरेर फर्कन्थे । महाशाखा टोलीले शनिबार साढे ४ बजे मन्डिखाटारस्थित घरमा मिटर बिगारिरहेको अवस्थामै श्रेष्ठलाई पक्राउ गरेको हो ।

गिरोहले मिटर बिगारेर कम शुल्क तिरे पुग्ने व्यवस्था मिलाइदिएबापत कारखानाबाट मासिक ४० देखि ५० हजार रुपैयाँ लिएको देखिन्छ । घरको हकमा भने उनीहरूले कति शुल्क कम उठ्ने बनाइएको हो, त्यसै आधारमा रकम लिएको देखिन्छ । कतिसम्म भने मासिक चालीसदेखि पचास हजार रुपैयाँ बराबरको विद्युत् खपत हुने घरमा गिरोहले मासिक चारदेखि पाँच सय रुपैयाँ शुल्क तिरे पुग्ने बनाइदिन्थे । त्यस्तै मासिक दसदेखि १२ लाख रुपैयाँ बराबरको विद्युत् खपत हुने उद्योगमा पचास हजार रुपैयाँ मात्रै तिरे हुने बनाइदिन्थे ।

एसएसपी खनालका अनुसार यो टोली पछिल्ला १२ वर्षदेखि यस्तो काममा संलग्न रहँदै आएका देखिन्छन् । प्राधिकरणका एक उपल्ला कर्मचारीले विद्युत् चोरीमा संगठित गिरोह लागिपरेको यो घटनाले पुष्टि गरेको बताए । ‘अझै उपल्ला कर्मचारी र ठूलो गिरोह संगठित भएर लागिपरेको हुन सक्छ,’ उनले कान्तिपुरसँग भने ।
प्राधिकरणले विद्युत् चुहावट करिब २६ प्रतिशत रहेको निष्कर्ष निकालेको छ । जसमा १२ देखि १४ प्रतिशत प्राविधिक चुहावट भए पनि अन्य चुहावट भनेको गिरोहको सक्रियता र व्यक्तिगत रूपमा हुने चोरी नै हुन् । प्राधिकरणका अनुसार औसत मूल्यका हिसाबले प्रत्येक वर्ष चोरीको बिजुलीकै कारण ९ अर्ब रुपैयाँभन्दा धेरै गुम्ने गरेको छ ।

विद्युत् चोरीमा प्राधिकरणका कर्मचारी पक्राउ परेको जानकारी महाशाखाको अभियोजन शाखाले साँझ प्राधिकरण केन्द्रीय कार्यालयलाई गराएको थियो । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भने, ‘विद्युत् मिटरमा कम खपत देखाई कम महसुल उठाएर नेपाल सरकारलाई नोक्सान पुर्‍याएको भन्ने गोप्य सूचनाका आधारमा केही बहालवाला र केही पूर्वकर्मचारीलाई अनुसन्धानका क्रममा सोधपुछ भइरहेको व्यहोराको जानकारी प्रहरीले गराएको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका