माघ ९ –
डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४५ औं राष्ट्रपतिको सपथ लिएको अर्को दिन संसारभरका महिलाले खबरदारीस्वरूप प्रर्दशन गरेका छन्। राष्ट्रपति ट्रम्पले महिला, समलिंगी र आप्रवासीलाई लक्षित गर्दै विगतमा दिएका अभिव्यक्ति विरुद्ध खबरदारीका लागि प्रदर्शन गरिएको अायोजकले जनाएका छन्।
‘वुमन मार्च टु वासिङ्टन’ नामाकरण गरिएको प्रदर्शनको लक्ष्य ‘महिला अधिकार भनेकै मानव अधिकार हो र त्यसलाई नयाँ सरकारले उसको पहिलो दिनबाटै कार्यान्वन गर्नुपर्छ र बाँकी विश्वले पनि यसलाई बुझ्नुपर्छ ‘ भन्ने सन्देश दिन हो। यसका साथै प्रर्दशनकारीले प्रजनन अधिकार, समलिंगी अधिकार, नागरिक अधिकार र हिंसाको अन्त्य जस्ता कुरालाई प्राथमिकतामा राखिनु पर्ने बताएका छन्।
राजधानी वासिङ्टनमा २ लाख सहभागी हुने अनुमान गरिएको प्रदर्शनमा सहभागीको संख्या ५ लाख नाघेको छ। अर्को शहर सिकागोमा अत्याधिक संख्यामा सहभागिता भएपछि विरोधको कार्यक्रम स्थगित गरिएको छ। विरोध कार्यक्रममा महिलासहित ठूलो संख्यामा पुरुष पनि सहभागी भए।
चर्चित अधिकारवादी ग्लोरिया स्टिनेम र कलाकार बेलाफोन्टे ले ‘वुमन मार्च टु वासिङ्टन’ को सह–अध्यक्षता गर्दै राजधानी पुगेका थिए। सन् १९९० मा हिलारी क्लिन्टनले पहिलो पटक ‘महिला अधिकार भनेकै मानव अधिकार हो’ भन्ने नारा दिएकी थिइन्, त्यही नारालाई प्रदर्शनकारीले आफ्नो मूल र्ममको रूपमा मानेका थिए। प्रायः प्रदर्शनकारीले कान भएको गुलाबी टोपी लगाएका थिए।
आयोजकले दिएको जानकारी अनुसार यो साताको अन्तसम्म विश्वका ७५ देशमा झण्डै ६ सय विरोध कार्यक्रम आयोजना गरिने छन्। ती प्रदर्शनमा करिब ३० लाख मानिसले भाग लिने अनुमान गरिएको छ। तर सबै प्रदर्शनमा ट्रम्पको विरोध मात्र हुने छैन। दक्षिण अमेरिकामा महिला हिंसाविरुद्ध मार्च पास केन्द्रित हुने छ भने अष्ट्रेलिया र अन्टार्टिकामा पर्यावरणसम्वन्धी विषयमा प्रदर्शन हुनेछ। नाइजेरियामा बिवादित लैंगिक समानताको कानुनविरुद्ध मार्च पास गरिने बताइएको छ।
अमेरिकाको हवाईबाट वासिंङटनको मार्चमा सहभागी हुन आएकी ७१ वर्षिय एलान पाराकिनेले भनिन ‘यस्तो अत्यन्त प्रभावकारी भीड मैले कहिल्यै पनि देखेकी छैन्।’ न्युजर्सीबाट आएकी अर्की सहभागी ६९ वर्षीय लिन्डा लष्टेलाले भनिन् ‘म कहिले पनि यस्तो मार्चमा सहभागि भएकी थिइन्, तर विश्वमा अहिले घृणा फैलिरहेको छ त्यसैले अब त्यसको विरोधमा उत्रनै पर्छ। हामी जहाँ भए पनि कडा रूपमा प्रस्तुत हुनुपर्छ।’
विश्वभरि प्रर्दशन हुँदा राष्ट्रपति ट्रम्प भने आफ्नो नियमित कार्यक्रम अन्तर्गत राष्ट्रिय र्गिजाघरमा प्रार्थना सभामा सरिक भएका थिए। यसैबीच पपुलर भोट धेरै पाएकी तर इलेक्ट्रोलमा पराजित हिलारी क्लिन्टनले ट्वीटरमा सहभागीलाई धन्यवाद दिँदै भनेकी छन्- हाम्रा मान्यताका लागि बोलौं, खडा रहौं र मार्च गरौं।
उनको समर्थनले सहभागीमा थप उर्जा थपेको भन्दै एक जना सहभागीले भनिन् ‘महिला सशक्तिकरणका लागि यो एक अनुपम समय हो भने ट्रम्पका महिलालाई होच्याएर दिएका अभिव्यक्तिको मुखतोड जवाफ हो।’
प्रर्दशनमा हलिउड रंगकर्मीहरु आकर्षण बनेका छन्। उनीहरूले अमेरिकाका बिभिन्न शहरहरुमा भएका र्यालिहरुको नेतृत्व गरिहेका गरे। न्यूयोर्कमा अभिनेतृ हेलेन मिरेन, सिन्थिया निक्शन र हुपी गोल्डबर्गले मोर्चा सम्हालेका थिए भने पार्क सिटी, उटाहमा चार्लिज थेरोनले नेतृत्व गरेका थिए।
फ्रान्सको पेरिसमा रहेको एफेल टावर अगाडि प्रर्दशनकारीले नाच्दै र गाउँदै ‘ट्रम्प, वासिङ्टनमा हामीले हाम्रा दिदीबहिनीहरुसँगै तिमीलाई नियालिरहेका छौ’ भन्ने प्लेकार्ड बोकेका थिए। चेक गणतन्त्रको राजधानी प्रागमा कठ्ठयाङ्गिदो जाडोको प्रवाह नगरी हजारौं प्रदर्शनकारीले पुटिन र ट्रम्पलाई ब्यंग गरेका थिए। अष्ट्रेलियाको सिड्नीस्थित हाईड पार्कमा हजारौंको संख्यामा उपस्थित प्रर्दशनकारीले एेक्यवद्धता जनाउदै नारा लगाएका थिए- घृणा, हठी स्वभाव र नस्लवाद अमेरिकाको मात्र समस्या होइन्।
शनिबारको प्रदर्शन शुक्रबारको जस्तो ध्वंसात्मक नभएपनि करिब २०० प्रर्दशनकारी पक्राउ परेको सुरक्षा अधिकारीले जनाएका छन्।