गोरखा, माघ ६ –
सरकारले नेपाली सेना मार्फत गोरखाको सामागाउँ हुँदै चीनको सीमासम्म सडक खन्ने भएको छ । बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडकखण्ड अन्तर्गत लापुभीरबाट सामागाउँसम्मको ट्रयाक खोल्ने काम नेपाली सेनालाई दिने टुंगो लागेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेटसहित सेनालाई सडक निर्माणको अख्तियारी दिएको रक्षा मन्त्रालयका सहसचीव उत्तमप्रसाद नागीलाले बताउनुभयो । बेनीघाटबाट सामागाउँको लार्केभञ्ज्याङसम्मको सडकको लम्बाई करीब १ सय ८० किलोमिटर हुनेछ ।
त्यसमध्ये सेनाले १ सय २० किलोमिटर सडकको ट्रयाक बनाउनेछ । त्यसका लागि चालु आर्थिक वर्ष ३ करोड ५० लाख रुपैया विनियोजन भइसकेको नागीलाले बताउनुभयो । बेनीघाटबाट लापुभीरसम्मको ६० किलोमिटर सडकको ट्रयाक बनाउने काम भने सडक विभाग मार्फत भइरहेको छ ।
आरुघाट भन्दा माथिको झण्डै २० किलोमिटर सडकखण्डको स्तरोन्नतीको काम अहिले पनि भइरहेको सडक विभाग अन्तर्गतको ११ किलो छेवेटार भालुस्वाँरा वारपाक सडक योजनाका प्रमुख अमृतमणि रिमालले बताउनुभयो ।
त्यसभन्दा माथिको सडकको प्राविधिक जाँचसहित ट्रयाक बनाउने सबै काम अब नेपाली सेनाले नै गर्नेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आग्रहमा रक्षाले नेपाली सेना मार्फत ट्रयाक खन्न लागेको हो ।
रक्षामन्त्री बालकृष्ण खाँड, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, अर्थ, रक्षा र भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, नेपाली सेनाका उच्च पदस्थ अधिकारी र सांसद लगायतको टोलीले सडकको ट्रयाक बनाइने क्षेत्रको दुई महिनाअघि अवलोकन गरेका थिए ।
कठिन भूगोलका कारण सडक निर्माण गर्न समय लाग्ने भएपछि नेपाली सेना मार्फत बनाउन लागिएको होे । कडा चट्टान सहितको पहरो फुटाउँदै सडक निर्माण गर्नु पर्ने र त्यसका लागि विस्फोटक पदार्थको धेरै प्रयोग हुने भएकाले नेपाली सेना मार्फत काम गर्दा सजिलो हुने प्राविधिकहरुको भनाई छ ।
सडकको अन्तिमविन्दू लार्केबाट चीनको सीमानाका रुइला भञ्ज्याङसम्म १६ किलोमिटर ट्रयाक बनाएपछि उक्त सडकलाई चीन जोड्न सकिने ११ किलो छेवेटार भालुस्वाँरा वारपाक सडक योजनाका प्रमुख रिमालले बताउनुभयो । चीनले भने रुइलासम्म सडक बनाइसकेको छ ।
चीन जोड्ने महत्वपूर्ण सडक भएकाले सरकारले यो सडकखण्डलाई पि वान अर्थात पहिलो प्राथमिकतामा राखेको रक्षाका सहसचिव नागीलाले बताउनुभयो । ट्रयाक खन्नका लागि घटिमा दुई अर्ब बढीमा ५ अर्ब रुपैयाँसम्म खर्च लाग्न सक्ने प्राविधिकरुले अनुमान गरेका छन् ।
काममा जटिल खालका अवरोध नआए ३ वर्षसम्ममा ट्रयाक खोल्न सकिने सेनाका प्राविधिकहरुलाई उद्धृत गर्दै रक्षा मन्त्रालयका सहसचिव नागिलाले बताउनुभयो । सडक बनेपछि गोरखामा दुर्गम ७ सहित उत्तरका १३ गाविसका बासिन्दालाई आउजाउमा सजिलो हुनेछ ।