Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गाईका नाम : क्याटरिना, दीपिका, रेखादेखि सुजातासम्म – Gaule Khabar

गाईका नाम : क्याटरिना, दीपिका, रेखादेखि सुजातासम्म

गाईका नाम : क्याटरिना, दीपिका, रेखादेखि सुजातासम्म

गोरखा,माघ २-

तनहुँ र गोरखालाई अलग्याउने मस्र्याङ्दी नदीमाथिको बेलिब्रिज पार गरेपछि सुरु हुन्छ, गोरखाको पालुङ्टार नगरपालिका । कच्ची सडक, धुलैधुलो पार गर्दै अघि बढ्दा बाटोको दायाँतिर झ्याम्म परेको झाडी भेटिन्छ । झाडीमा अहिलेको चिसोमा पनि ढड्डी हरियो घाँस देख्न सकिन्छ भने कच्ची सडकको बायाँतिरका खेतका गरामा पनि जौजस्तै लाग्ने हरियो घाँसखेती देखिन्छ । सडक छाडेर झाडीकै बीचबाट गोरेटो समातेर उकालिँदै जाँदा भेटिन्छन्, पाँच दशक उमेर पार गरिसकेका अधबैँसे राजेन्द्र पन्त । पन्त हिजोआज आफ्नो जीवनका महत्वपूर्ण क्षणहरू गाईको बथानमाझ तिनकै स्याहारसुसारमा बिताइरहेका छन् ।

राजेन्द्रका लागि यी गाई परिवारका सदस्यभन्दा कम छैनन् । यिनका हरेक आनीबानीसित परिचित छन् राजेन्द्र । उनले माया गरेको, रिसाएको सबै बुझ्छन् यी गाईले पनि । राजेन्द्रले पनि आफ्ना सन्तानजस्ता यी गाई रिसाएको, खुसी, भएको, भोकाएको, तिर्खाएको सबै थाहा पाउँछन् । गाई बिरामी भएको, साँढे खोजेको, ब्याउने ब्यथा लागेको सजिलै थाहा हुन्छ राजेन्द्रलाई । नहोस् पनि किन, उनले यिनै गाईसित चौबीसै घण्टा बिताउन थालेको २२ वर्ष भइसक्यो ।

राजेन्द्रले आफ्नो गोठका सबै गाईको फरक–फरक नाम राखेका छन् । उनी ती गाईलाई तिनै नामबाट बोलाउने गर्छन् । उनले कुनै नाम लिएर बोलाउनासाथ तिनले उनीतिर पुलुक्क हेर्छन् । आफ्ना सन्तानलाई माया गरेजस्तै राजेन्द्र तिनलाई मायाले सुम्सुम्याउँछन् । तिनले गल्ती गरे भने वेलावेलामा हप्काउँछन् पनि । गाईले पनि राजेन्द्रको माया र रिस दुवै थाहा पाइसकेका छन् । त्यसैले उनको माया पाउँदा फुरुक्क पर्ने ती गाई गाली पाउँदा लुरुक्क पनि पर्छन् । कुनैवेला काम गर्ने कर्मचारीलाई दूध नदिएर हैरान पारेको समयमा राजेन्द्रले गएर ‘के गर्न आँटेको हँ तैँले रु’ भनेर हप्काएपछि खुरुक्क दुध दिएको पनि भोगेका छन् उनले । राजेन्द्रले मुलुकका नेतृहरूदेखि मुलुकबाहिरका अभिनेत्रीहरूका नामबाट समेत आफ्ना गाईको नाम जुराएका छन् । कुनै गाईको नाम सुजाता छ भने कुनैको नाम दीपिका, क्याट्रिना, करिना, रेखा पनि राखेका छन् उनले । पिंकी, पुड्की, गँड्यौली, रानी, मन्त्री, सरला, तारा, चमेली, प्रमिला, रातो म्याडम, सेतो म्याडम, चम्पा, ममता, झरना, नवीना, श्रीदेवी, मीनाक्षी, भाग्यश्रीजस्ता अनेक नाम राखेका छन् पन्तले आफ्नो गोठका गाईको । उनले एउटा अलग्गै रजिस्टर बनाएर हालसम्मका गाईको नामको सूची सुरक्षित राखेका छन् ।

राजेन्द्रको बुझाइमा गाईहरू शान्त प्रकृतिका हुन्छन् । गाईले आफूलाई कुटपिट गरेको, दुःख दिएको, गाली गरेको मन पराउँदैनन् । रिसाएको गाईले खुट्टाले भन्दा बढी पुच्छरले मानिसको आँखा ताकेर हिर्काउँछ । त्यस्तो वेलामा गाईले केही मात्रामा दूध लुकाउने पनि गर्छन् । आफ्नो गोठका गाईले काम गर्ने मान्छेलाई भन्दा आफूलाई बढी चिन्ने र आफूले भनेको मान्ने राजेन्द्रको दाबी छ । सायद, काम गर्ने मान्छे वेलावेलामा फेरिने भएकाले त्यसो भएको हुन सक्ने उनको बुझाइ छ । प्राविधिकले इन्जेक्सन लगाउँदा बुद्रुक–बुद्रुक उफ्रिने गाई आफूले इन्जेक्सन लगाउँदा भने नचली बस्ने गरेको राजेन्द्रको भनाइ छ ।

राजेन्द्रले कामधेनु गाई पालन केन्द्र स्थापना गरेको २२ वर्ष भयो । उनले पृथ्वीनारायण शाहको पालादेखि नै पूर्खाले बचाएर राखिदिएको झन्डै चार सय रोपनी पुख्र्यौली जमिनमा उनले तीन सय ६० रोपनी पाखो बारी र ३० रोपनी खेतमा घाँसखेती गरेका छन् भने बाँकी १० रोपनी जग्जामा घर र गोठको व्यवस्थापन गरेका छन् । गोठमा माऊ, बाच्छी, कोरली लैना, बकेर्ना गरी दुई सय ८२ गाई छन् । जर्सी र होलस्टेन जातका ती गाईले त्यहाँ दैनिक ११ सय ५० देखि १२ सय लिटर दूध दिन्छन् । दूध बिक्रीबाट मात्र उनले महिनामा १७–१८ लाख आम्दानी गर्छन् ।

२०३२ सालमा राजनीतिशास्त्र र इतिहासमा स्नातक उत्तीर्ण गरेपछि पन्तले पालुङ्टारको च्याङ्लीमा रहेको पुख्र्यौली उजाड चार सय रोपनी भिरालो पाखो बारीमा फलफूल खेती सुरु गरे । पुख्र्यौली जमिन बेच्नुभन्दा त्यसको सदुपयोग गर्न सकिन्छ कि भन्ने सोचले राजेन्द्रलाई फलफूल खेतीतर्फ आकर्षित गर्‍यो । उनले त्यहाँ आँप, लिची, भुइँकटहरजस्ता विभिन्न फलफूल लगाए । तर, ‘अलिकति नाम र अलिकति दाम’ भन्ने नारासाथ सुरु गरेको उनको फलफूल खेतीले उनलाई खासै प्रतिफल दिएन । दामको त कुरै छाडौँ, उनलाई त्यसले नाम पनि दिएन ।
एकपटकको असफलताबाट निरास भएर भागिहाल्ने स्वभावका थिएनन् राजेन्द्र । त्यसैले, खासै ज्ञान नभए पनि उनले ०५२ मा सुरु गरे– कामधेनु गाई पालन केन्द्र । त्यसका लागि उनले सुरुमा भारतको सिलिगुडी पुगेर सातवटा गाई ल्याए । व्यवसाय सुरु गरेको दुई वर्षमै उनमा गाईपालनबाट केही गर्न सकिने विश्वास पलायो । यसबाट अलि धेरै नाम र अलि धेरै दाम कमाउन सकिने आत्मविश्वास पलाएपछि उनले ०५४ मा काठमाडौं र पोखराबाट १२ वटा गाई थपे । गाईको संख्या वृद्धिसँगै राजेन्द्रको व्यवसायप्रतिको भोक पनि बढ्दै गयो ।

०५६ पनि उनले पोखरा र स्याङ्जाबाटै थप १२ गाई ल्याए । ०५८ मा स्याङ्जाबाट थप १२ गाई ल्याएसँगै राजेन्द्र पक्का गाईपालन व्यवसायी बने । त्यसयता उनले किनेर गाई थपेका छैनन् । तर, तिनै गाईका बाच्छी हुर्किंदै जाँदा अहिले केन्द्रमा दुई सय ८२ गाई पुगेका छन् । अहिले उनी अरूबाट किन्ने होइन, उल्टै वर्षमा १८–१९ लाखको गाई बेच्छन् । गाईको मूल्य उसले दिने दूधको परिमाणअनुसार तोकेका छन् पन्तले । १ लिटर दूधबराबर १० हजार मूल्य राखेका छन् उनले । यस हिसाबमा कसैले १० लिटर दूध दिने गाई खरिद गर्न चाहेको अवस्थामा एक लाख तिर्नुपर्ने हुन्छ । पन्तको गोठमा ३५ लिटरसम्म दूध दिने गाई छन् । गत वर्षको भूकम्पका कारण भने उनले उल्लेख्य संख्यामा गाई बेच्न पाएका छैनन् । भूकम्पको मारमा उनको व्यवसाय पनि परेको छ ।

राजेन्द्रले २० जनालाई नियमित र दैनिक ५ देखि १० जनालाई ज्यालादारीमा रोजगारी दिइरहेका छन् । आफ्नो जमिनमा उनले हाइब्रिड घाँस रोपेका छन् । यसको बिउ हुँदैन । उखु रोपेजस्तो कटिङ गरेर डाँठ रोप्नुपर्छ । उनको केन्द्रमा सिंगोसेटिया, नेपियर, मलाटोजस्ता विभिन्न प्रजातिका घाँस बाहै्रमास जसो लहलहाइरहेका हुन्छन् । घाँसखेतीका लागि आफूसित भएका घाँसका डाँठ बेचेरै पन्तले वर्षमा ३–४ लाख आम्दानी गर्छन् । गाईलाई आवश्यक पर्ने दाना आफैँ तयार गर्छन् । बजारमा पाइने दानामा युरिया मिसाइएको हुने भएकाले आफूले चोकर, मकै आदि किनेर शुद्ध दाना तयार गरेर खुवाउने गरेको पन्त बताउँछन् । पन्तले केन्द्रको भ्रमण गर्न आउनेका लागि भ्रमण शुल्क पनि तोकेका छन् । उनले स्कुल, कलेज आदिबाट समूहमा आउने अवलोकनकर्ताको एउटा समूहबाट एक हजार उठाउँछन् ।

त्यसबापत उनी आफैँले केन्द्र भ्रमण गराउँछन् । गाई देखाउँछन् । एक डेढ घण्टाको कक्षा लिन्छन् र केन्द्रबारे तयार गरिएको एउटा सिडी पनि दिन्छन् । त्यसैगरी एनजिओ, आइएनजिओबाट अवलोकनका लागि आउने टोलीसित भने पन्तले एक हजार प्रवेश शुल्कबाहेक एक घण्टा कक्षा लिएको थप तीन हजार रुपैयाँ लिन्छन् ।

सो तीन हजारबाट भने उनले कर कटाएर बाँकी रकम लिने गरेका छन् । पन्तको केन्द्र सुरु भएदेखि आजसम्म झन्डै २५ लाखजतिले अवलोकन गरिसकेका छन् । उनको केन्द्रमा स्वदेशी मात्र होइन, विदेशी पनि आएर त्यहीँ एकदेखि ६ महिनासम्म बसेर अध्ययन गरेर फर्किन्छन् । उसो त गाई पालन नै गर्ने रुचि राखेर सिक्न, बुझ्न र अवलोकन गर्न आउनेसित भने पन्तले कुनै शुल्क लिँदैनन् । उनीहरूलाई जति समय लगाएर बुझाइदिनुपरे पनि तयार हुन्छन् । गाई पाल्न चाहने किसानलाई उनको सल्लाह हुने गर्छ, घाँसखेती गरेर घाँसमा आत्मनिर्भर हुनेले मात्र गाई पाल्दा नाफा हुन्छ । साथै, कम्तीमा १० वटा गाई नपाले त्यसबाट व्यावसायिक लाभ लिन नसकिने उनको सुझाब हुने गर्छ ।

अहिले नेपालमा केही हुन सक्दैन, यहाँ बसेर के नै गर्न सकिन्छ भनेर दैनिक दुई हजारको संख्यामा बिदेसिने युवाका लागि राजेन्द्र आफैँमा गतिलो जवाफ हुन् । उनले अरूलाई कति सिकाउँछन् थाहा छैन, तर उनीबाट सिक्न सकिने भने धेरै छ ।
नयाँ पत्रिकाबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका