चितवन,माघ २-
देवघाटधामको विकासका लागि निर्मित २१ वर्षे वृहत्तर गुरूयोजना आर्थिक अभावमा अलपत्र परेको छ ।२०६६ असोजमा देवघाट क्षेत्र विकास समितिले बनाएको गुरूयोजना संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र पर्यटन तथा संस्कृति मन्त्रालयले अनुमोदन गरेको थियो । तर, मन्त्रालय र अन्य निकायले बजेट विनियोजनमा चासो नदिँदा गुरूयोजना अलपत्र परेको हो ।
बृहत्तर विकासमार्फत देवघाटमा धार्मिक तथा अन्य पर्यटक भिœयाउने योजना थियो । ‘धार्मिक पर्यटनको गन्तव्य र आस्थाको केन्द्र बनाउन थालिएका सबै काम अलपत्र छन् ’ देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले भने, ‘सरकारी निकायले यो क्षेत्रको विकासमा वास्तै गरेको छैन ।’ समितिले चन्दा, दानलगायतबाट संकलन गर्ने रकमबाट सामान्य काम गर्न सकेको उनले बताए ।
गुरूयोजनामा एक अर्ब २२ करोड ४५ लाख रूपैयाँको लागत अनुमान गरिएको थियो । ‘यो गुरूयोजना सम्पन्न गर्नका लागि कम्तीमा वार्षिक १४ करोडका दरले बजेट निकासा हुनुपर्ने प्रावधान हो’ पौडेलले भने, ‘पर्यटन र स्थानीय विकास मन्त्रालयबाटै बेवास्ता भएको छ ।’ पौडेलले अहिले वार्षिक ५० देखि ७० लाख रूपैयाँ पनि आउन नसकेको उनले गुनासो गरे । यसरी आउने रकमले समितिका कर्मचारीको तलबभत्तामा पनि नपुग्ने उनले बताए । यहाँ सञ्चालित विद्यापीठहरु तथा आश्रममा पिठाधीशलगायतको पहलमा मात्र सञ्चालन भएका छन् । गुरुयोजनालाई मूर्तरुप दिन राष्ट्रिय योजना आयोग, अर्थमन्त्रालय, भैतिक योजना मन्त्रालयलाई समितिले पटक पटक रकम माग गरे पनि सुनुवाइ नभएको समितिको ठहर छ । ‘पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई ल्याएर यसको महत्व बुझाउँदै मन्त्रालयले गरेको प्रतिबद्धता जानकारी गरायौं’ पौडेलले भने, ‘आगामी बजेटमा व्यवस्थ गर्छु भन्नुभएको छ ।’
गुरूयोजनामा त्रिशुली नदीमा पक्कीपुल बनाएर देवघाटमा सहज आउजाउको व्यवस्था मिलाउने रहेको छ । हाल त्रिशूली नदीमा रहेको झोलुंगे पुल जीर्ण भइसकेको छ । मेला पर्वमा हजारौंले यात्रा गर्दा दुर्घटनाको जोखिम भएको स्थानीय वासुदेव पन्तले बताए । ‘सप्त गण्डकी विकास तथा वातावरण समाजले यहाँका केही संरचना मर्मत गरेका छौं’ पन्तले भने, ‘सरकारको मुख ताक्दा केही भएन ।’ देवघाट निर्वाचन क्षेत्र भएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको निर्वाचन पूर्वाधार विशेष कार्यक्रममा समेत यो क्षेत्र उपेक्षामा परेको उनले बताए । पौडेलका अनुसार शनिबारको मेलामा ५ लाख पर्यटक आउने अनुमान छ ।
योजनामा गलेश्वर आश्रम, महेश सन्यास आश्रम, हरिहर आश्रम तथा इन्दिरा महिला सन्यास आश्रमको स्तरोन्नति गर्ने, त्यहाँ सञ्चालित संस्कृत पाठशाला तथा उच्च शिक्षाको गुणस्तर सुधार तथा भौतिक निर्माण र दरबन्दीमा सहयोग गर्ने उल्लेख छ । त्यस्तै कन्या वेदवेदाङ्ग विद्यालय स्थापना, प्राविधिक तथा ध्यान केन्द्र निर्माण, सूचना केन्द्र स्थापना गर्ने काम पनि अलपत्रै परेको हो । हिन्दूधर्मावलम्बीको तीर्थस्थल भएकोले आधुनिक समाधिस्थल बनाउने योजनासमेत रहेको पौडेलको भनाइ छ । ‘हजारौं तीर्थयात्री नुहाउने स्थान भएकोले समाधिस्थल व्यवस्थित हुन जरूरी छ’ पौडेलले भने, ‘समितिले काम गरे पनि बजेट नभएपछि सबै योजना अलपत्र परेको हो ।’
देवघाटमै भक्तजन तथा अन्य पर्यटक आएर बस्ने धर्मशाला बनाउने योजना पनि छ । त्यस्तै मणीमुकुन्देश्वर धार्मिक उद्यान निर्माण गर्ने, वृद्धाश्रममा बस्नेलाई नियमित उपचारका लागि अस्पताल सञ्चालन, आर्युवेदिक औषधालय स्थापना, विभिन्न पाटीपौवा बनाउने तथा नदी किनारदेखि वरपर जाने सिढीमार्ग बनाउने योजना पनि अलपत्रै छ । ‘अहिले बिहानै नुहाउन जानेहरु सजिलै जाने बाटोसमेत छैन’ पन्तले भने, ‘बूढापाकाहरु लडेर घाइते समेत भएका छन् ।’ गत साउनमा त्रिशूली नदीतर्फ गएको पहिरोले ९ वटा कुटीसमेत भत्केको छ । ती कुटीमा बस्दै आएका १६ जना वृद्धहरु अहिले अस्थायीरुपमा बस्दै आएका छन् । ती जीर्ण भवन भत्काएर सुरक्षित स्थानमा बनाउने अर्को चुनौती थपिएको गलेश्वर आश्रमका सचिव महेन्द्रराज प्याकुरेलले बताए । भत्केका संरचना संरक्षणका लागि जिविस र भूसंरक्षण कार्यालयमा निवेदन दिए पनि काम नभएको उनले गुनसो गरे । ‘पोखराका इन्जिनियर आएर हेरेर गए, काम भएन’ प्याकुरेलले भने, ‘कसलाइ भनेर काम हुनेहो थाहा छैन ।’ पर्यटन विकास समितिले पनि बेवास्ता गरेको उनको आरोप छ ।
बर्सेनि माघे संक्रान्तिलगायतका चाडपर्वमा मन्त्रीसम्मका पदाधिकारी आएर देवघाट क्षेत्रको विकासको भाषण गरेर जाने गरेको स्थानीयको गुनासो छ । तर, अहिलेसम्म दीर्घकालीन योजनाको समेत काम नभएकोले आकस्मिक काम हुनेमा उनीहरुल शंका मानेका छन् । विकास धार्मिकस्थल भएकोले धेरैको रोजाइमा नपरेको समितिका कार्यकारी निर्देशक जयकृष्ण सुवेदी गुनासो गर्छन् । ‘पदाधिकारी नियुक्तिको समयमा सरकार र दलका नेतालाई हतार भएजस्तै काम गर्न पनि अग्रसर भएहुन्थ्यो, वास्तै गर्दैनन्’ सुवेदीले भने, ‘स्थानीयरुपमा राजस्व संकलन गर्ने अधिकार भए पनि त्यसबाट धेरै निर्माण गर्न सकिने देखिन्छ ।’ गुरूयोजनाको मन्त्रालय तहमै पास भएकोले काममा सक्रियता देखाउन उनले आग्रह गरे ।
त्रिशूली र कालीगण्डकी नदीको संगमस्थल भएकोले देवघाट धार्मिक आस्थाको केन्द्र मानिँदै आएको छ । पवित्र तीर्थस्थलको रुपमा परिचित र विदेशी पर्यटकको पनि यो प्रमुख गन्तव्य हो । दुवै नदीको जलबिहार गर्दै पुगिने संगमस्थलसमेत भएकोले यसको पर्यटकीय महत्व छ । साथै हाल निर्माणाधीन कालीगण्डकी करिडोर र चार ल्याण्डको बन्दै गरेको नारायणगढ–मुग्लिङ सडकको संगमस्थल भएकोले यसले ठूलो महत्व पाउने विश्वास पनि स्थानीयमा छ । ईकान्तिपुरबाट