प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पोल्ट्री उद्योगलाई निश्चित समयका लागि आयकर छुट दिने घोषणा गरेका छन्।नेपाल पोल्ट्री महासंघको साधारणसभा उद्घाटन गर्दै आत्मनिर्भरतर्फ अगाडि बढेको पोल्ट्री उद्योगलार्इ निश्चित समय आयकर छुट दिएर प्रोत्साहन गरिने बताए।’यो क्षेत्र आत्मनिर्भरतर्फ अघि बढेको क्षेत्र हो’उनले भने, यो क्षेत्रको विकासका लागि केही समय आयकर छुटको व्यवस्था गर्छु।
उनले पोल्ट्री व्यवसायका लागि पाँच प्रतिशत ब्याजमा ऋण पाउने व्यवस्था कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाए। कृषि क्षेत्रका लागि सरकारले पाँच प्रतिशत ब्याजमा ऋण दिने व्यवस्था ल्याएको थियो।
उनले पोल्ट्रीका लागि आवश्यक मेसिनरी ल्याउँदा भन्सारको एचएस कोडका कारण रोकिएको बताउँदै यो प्राविधिक कठिनार्इ हटाउन तत्कालै सम्वन्धित मन्त्रालयलार्इ निर्देशन दिने बताए। प्रचण्डले औद्योगिक क्षेत्रको समस्या समाधानका लागि सरकार र निजी क्षेत्र सम्मिलित कार्यदल बनाउने बताए।
एक लाख ५० हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको यो क्षेत्रले राष्ट्रिय आयमा करिब ७० अर्ब रुपैयाँ बराबरको योगदान दिएको भट्टराईले बताए।राज्यले केही सहुलियत दिएमा आगामी पाँच वर्षमा अहिलेको उत्पादनलाई दोब्बर बनाउन सकिने उनले बताए।
गत आर्थिक वर्षमा १० करोड ७९ लाख किलो मासु र एक अर्ब ३४ करोड गोटा अण्डा उत्पादन भएको थियो। नेपालमा अहिले ७ करोड २५ लाख कुखुरा वर्षेनी उत्पादन हुने गरेको उनले बताए।
अहिले नेपालीले एक वर्षमा सरदर प्रतिव्यक्ति ४७ गोटा अण्डा र ३.८ केजी मासु मात्रै खपत गरेको देखिन्छ। अन्य एसियाली देशमा यो खपत दोब्बर भन्दा बढी अर्थात ९ देखि १० किलो मासु र १ सय १० गोटा अण्डा प्रतिव्यक्ति खपत रहेको उनले बताए।
दाना, चल्ला, मासु र अण्डा उत्पादनमा नेपाल पूर्ण रुपमा आत्मनिर्भर छ। अहिलेको कुखुरा उत्पादनको लागि करिब १५ अर्ब रुपैयाँ बराबरको मकै र भट्टमासको पिना आयात हुन्छ। नेपालमै मकै र भट्टमास उत्पादन गर्न सकिएमा वार्षिक १५ अर्ब रुपैयाँ बराबरको आयात घटाउन सकिने भट्टराईले बताए।