चितवन,पुस २९-
बच्चा जन्मिएपछि रक्तश्राव नरोकिँदा चितवनको विकट पहाडी गाविस लोथरको वडा नं. ९ कान्दाको ताउसिलिङकी सुविमाया चेपाङको निधन भएको छ ।उपचारका लागि स्वास्थ्य संस्था लैजाने तयारी गर्दा गाउँमै उनको निधन भएको हो । सदरमुकाम भरतपुरदेखि जान एक दिन लाग्ने कान्दाबाट गाउँको स्वास्थ्य चौकी आउन पनि तीन घण्टा उकालोओरालो हिँड्नु पर्ने बाध्यता छ ।
‘रगत बग्न रोकिँदै नरोकिएपछि स्वास्थ्य चौकी लैजान भनेर राति दुई बजे घरबाट हिँडाएका थियौं । तर, बाटोमै उनको प्राण गयो’ मृतक सुत्केरीका श्रीमान् २४ वर्षीय मंगलबहादुर चेपाङले भने । २२ वर्षीया सुविमाया चेपाङले बुधबार साँझ सात बजे छोरी जन्माएकी थिइन् । यो उनको दोस्रो सन्तान हो ।
चेपाङहरु सुत्केरी व्यथा लागेपछि घरदेखि परको पाखोबारीमा गएर बच्चा जन्माउने गर्छन् । ‘व्यथा लागेपछि दौडेर बारीतिर गएकी थिइन् । केही बेरपछि बच्चा आँफै बोकेर आइन् । छोरी जन्मिएकी रहिछन्’ श्रीमान् मंगलबहादुरले बिहीबार दिउँसो टेलिफोनमा भने । बारीबाट बच्चा लिएर घर आए पनि उनको सालनाल खसेको थिएन ।
‘साल नझरे पनि बच्चा बोकेर तगडै आाएकी थिइन् । मैले साँझ जाउलो पकाएर खान दिएँ । तातो पानी पनि पकाउँदै खान दिएँ’ मंगलबहादुरले भने, ‘तर, समय बित्दै गए पनि साल नझरेपछि उनी डराए । भाउजू सुनमायालाई बोलाएर ल्याएँ । सुनमायाले पनि केही सहयोग गरिन् । तर, न साल झ¥यो, न रक्तश्राव नै रोकियो । निकै आत्तिएपछि काका र अरु साथीभाइलाई बोलाएर तल एउरेली टारमा रहेको स्वास्थ्य चौकीमा लैजान तम्सियौं । घरदेखि पर आधा घण्टाको ओरालो पनि नझर्दै बाटोमै उनको प्राण गयो ।’
कान्दाको कान्देश्वरी राष्ट्रिय प्रथमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाका अनुसार सुविमायाले गर्भवती हुँदा नै पौष्टिक खाना नपाएको अवस्था देखिएको छ । ‘म गएर हेर्दा झोलामा आइरन चक्की जस्ता केही औषधिहरु ल्याएर त्यसै राखेको देखियो । गर्भवती भएपछि पौष्टिक आहार खाने कुरा त पर छाडौं, आवश्यक गर्भ जाँचसमेत नियमित नगराउने अवस्था यहाँ छ’ प्रधानाध्यापक थपलियाले भने । पाँच वर्षअघि बिहे भएकी सुविमायाले तीन वर्षअघि छोरो जन्माएकी थिइन् ।
‘त्यो बेलामा पनि उनी सुत्केरी भएको समयमा आफू सो गाँउ जाँदा उनलाई सासूले मकै भुटेर खान दिएको देखेको’ कान्दाको विकास अभियनामा सक्रिय काठमाडौंको सामाजिक संस्था लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले भने, ‘गर्भवती र सुत्केरी हुँदा पर्याप्त खाने कुराको अभाव हुनुका साथै आमा र बच्चाको जीवन र स्वास्थ्यमा समस्या आए उपचार पाउन नसक्ने अवस्था छ ।’
‘भरतपुर जानु परेमा दिन बित्छ । गाउँ नजिक भएको स्वास्थ्य केन्द्र पनि तीन चार घण्टा पर छ । गाउँ नजिकै एउटा क्लिनिक राख्नु पर्छ कि भन्ने सोच थियो । त्यसो भएको भए यस्तो दुःखद अवस्था आउँदैन थियो’ गौतमले भने । चेपाङहरु नेपालको सीमान्तकृत वर्गमा परेका आदिवासी हुन् । पाखापखेरा नजिक बस्ने उनीहरुको आर्थिक अवस्था पनि निकै नाजुक छ ।
खोरिया फाँडेर परम्परागतरुपमा कोदो, मकै खेती गर्ने चेपाङहरुलाई आफ्नो बारीको उत्पादनले तीन महिना पनि खान पुग्दैन । अन्न सकिएपछि गिठ्ठा, तरूल, भ्याकुर सिस्नोजस्ता जंगली कन्दमुल र सागको सहारामा छाक गुजार्छन् । अन्न अभाव भएका बेलामा जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा सोही कान्दा गाउँमा ६ वर्षअघि एकै घरमा आठजनाको ज्यान गएको थियो ।चितवन पोष्ट दैनिकवाट साभार