काठमान्डौं,पुस ८-
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकको उपस्थितिमा बिहीबार अर्थ मन्त्रालयमा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख बैकुण्ठ अर्याल र जापानी सहयोग नियोग (जाइका) का नेपाल प्रमुख जुन साकुमाले नागढुङ्गा सुरुङमार्ग निर्माण परियोजनासम्बन्धी ऋणपत्रमा हस्ताक्षरपछि साटासाट गर्दै।
सरकारले राजधानी छिर्न नागढुंगा, साँगा र टोखा गरी तीन ठाउँमा सुरुङ मार्ग बनाउने तयारी गरेको छ।
यीमध्ये नागढुंगा सुरुङ मार्गका लागि जापानसँग ऋण सम्झौता भइसकेको छ। त्यस्तै, साँगामा बन्ने सुरुङका लागि जापानसँगै सम्झौताको अन्तिम तयारी भइरहेको छ भने टोखा–थानसिङफाँट सुरुङ मार्ग प्रारम्भिक चरणमा छ।
काठमाडौंको बस्नेतछापदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङ मार्गका लागि बिहीबार जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता गरेको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रम अर्थसचिव शान्तराज सुवेदी र जापानका राजदूत मासासी ओगावाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। जापानले ०.०१ प्रतिशत ब्याजमा ४० वर्षका लागि यो ऋण दिने भएको हो।
२.३५ किलोमिटर लामो सुरुङ मार्ग सन् २०२२ सम्म निर्माण गरिसक्ने लक्ष्य छ। डिजाइन गर्न कन्सल्ट्यान्ट नियुक्ति अन्तिम चरणमा पुगेको सडक विभागले जनाएको छ। कन्सल्ट्यान्ट नियुक्त भएको एक वर्षमा सुरुङको डिजाइन बन्नेछ। निर्माण सुरु भएको साढे तीन वर्षमा सुरुङ मार्ग पूरा हुनेछ।
विभागको वैदशिक सहयोग महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले कुनै अवरोध नआए सन् २०२१ मा सुरुङ मार्ग तयार हुने बताए।
सुरुङ मार्गले काठमाडौंको बस्नेतछाप र सिस्ने खोला जोड्ने छ। नागढुंगाको अहिलेको सडकभन्दा ८० मिटर मुनिबाट यो सुरुङमार्ग बन्नेछ।
१२ मिटर चौडा सुरुङ मार्ग दुई लेनको हुनेछ। यसबाहेक दायाँबायाँ एक÷एक मिटर हिँड्न छुट्याइनेछ। ‘त्यो एक लेन आवश्यक पर्दा दुवैतर्फका सवारीले प्रयोग गर्न पाउने छन्’, श्रेष्ठले भने।
सुरुङ मार्गभित्र अतिप्रज्वलनशील पदार्थ बोकेका, ठूला मालबाहक ट्रक र मोटरसाइकल चलाउन पाइने छैन। सुरक्षाका कारण पेट्रोलियम बोकेका गाडी र मोटरसाइकल चलाउन नपाइने श्रेष्ठले बताए। मोटरसाइकललाई सुरुङ मार्ग पास गराउन एउटा गाडीको व्यवस्था गरिनेछ। जसले दुवैतिरबाट ५÷६ वटा मोटरसाइकल बोक्ने छ। चालक सोही गाडीमा बसेर आउनुपर्नेछ। सुरुङ मार्ग प्रयोग गरेबापत प्रत्येक सवारीले २५ रुपैयाँ तिर्नुपर्नेछ।
सुरुङ मार्गसम्म पुग्न बलम्बुदेखि बस्नेतछापसम्म २.२५ किलोमिटर सडक बनाउनुपर्छ। सिस्ने खोलामा सर्भिस सेन्टर पनि बनाउने विभागको योजना छ। ‘सिस्ने खोलाको पानीलाई मुनिबाट छिराएर एउटा सर्भिस सेन्टर भवन बनाउने सोचेका छौं,’ श्रेष्ठले भने, ‘सेन्टरमा होटल, गाडी पार्किङ, पेट्रोल पम्प, स्थानीय उत्पादनहरू राखिने छन्।’
साँगामा तीन सय मिटर लामो सुरुङ
जापानी सहयोग नियोग जाइकाले भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्म १६ किलोमिटर सडक चार लेनको बनाउन अहिले अध्ययन गरिरहेको छ। उक्त अध्ययनमा साँगामा तीन सय मिटर लामो सुरुङ मार्ग बनाउने उल्लेख छ। करिब पाँच अर्ब खर्च हुने यो बाटो विस्तारमा अनुदान वा ऋणबाट पैसा खर्च गर्ने टुंगो नलागेकाले अन्तिम डिजाइन बन्न सकेको छैन। सुरुमा यो बाटो अनुदानमा बनाउने भनिएको थियो तर जापान सरकारले अनुदानमा दिने पैसाले अरू आयोजना पनि बनाउनुपर्छ। यसमा सबै पैसा खर्च गर्न नसकिने भएपछि नेपाल सरकारले जापान सरकारलाई ऋण दिन अनुरोध गरेको छ।
‘दुवै देशका सरकारबीच कुरा भइरहेको छ,’ श्रेष्ठले भने, ‘छिटै कुन मोडलमा पैसा दिने भन्ने सम्झौता हुन्छ।’
निर्माण सुरु भएको साढे तीन वर्षमा सुरुङसहित सूर्यविनायक–धुलिखेल सडक खण्ड विस्तार गरी सक्ने विभागको योजना छ। सुरुङ मार्ग बनेपछि धुलिखेल–काठमाडौंको दुरी आधा घन्टाको हुनेछ।
नुवाकोट–टोखा सुरुङमार्गका लागि एआइआइबीलाई अनुरोध
विभागले काठमाडौंको टोखा र नुवाकोटको थानसिंह फाँट जोड्ने सुरुङ मार्ग बनाउनेबारे एसियन इन्फ्रास्टक्चर इन्भेष्टमेन्ट बैंक (एआइआइबी) लाई अनुरोध गरेको छ। ‘हामीले प्रोजेक्ट प्रपोजल बनाएर पठाएका छौं,’ महाशाखा प्रमुख श्रेष्ठले भने, ‘तर उनीहरुले जवाफ दिइसकेका छैनन्। उनीहरुले सहयोग नगर्ने भने पनि अन्तबाट स्रोत जुटाएर सुरुङ मार्ग बनाउँछौं।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का पाएको कम्पनी चाइना सिएएमसी इन्जिनियरिङले सुरुङमार्गबारे प्रि–कन्सेप्ट नोट बनाएर विभागमा प्रस्तुत गरेको थियो।
यो सुरुङमार्ग बन्यो भने चिनियाँ नाका रसुवागढीदेखि साढे २ घन्टामा काठमाडौं पुगिनेछ। गत वर्षको भूकम्पले क्षति पु¥याएपछि तातोपानी नाका बन्द भएको छ। अहिले रसुवागढी नाकाबाट मात्रै चिनियाँ चीनसँग आयात निर्यात भइरहेको छ।
चिनियाँ पक्षले तातोपानीको साटो रसुवागढीलाई प्राथमिकता दिएकाले टिमुरेमा सुख्खा बन्दरगाह बनाउन थालिएको छ भने बेत्रावतीदेखि स्याफ्रुबेसी जोड्ने नयाँ सडकको ट्रयाक खोल्न थालिएको छ। नेपाली सेनाले मैलङ–स्याफ्रुबेसी सडकको ट्रयाक खोल्ने काम गरिरहेको भने विभागले गल्छी–बेत्रावती सडक दुई लेनको बनाउने प्रक्रिया सुरु गरेको छ।
‘थानसिङफाँटसम्म निस्कने सुरुङ बन्यो भने त्यहाँदेखि गल्छी–बेत्रावती सडकको कुनै ठाउँमा त्यसलाई जोड्छौं,’ श्रेष्ठले भने, ‘त्यसो हुनसक्यो भने साढे दुई घन्टामा काठमाडौंबाट रसुवागढी पुग्न सकिन्छ।’