नवलपरासी, पुस ७-
खेतमा उखु सुक्न थालेपछि नवलपरासीका किसानले बाध्य भएर उद्योगले तोकेकै मूल्यमा उखु बिक्री गर्न थालेका छन् ।केही किसानले भने सरकारले निर्धारण गर्ने मूल्यका आधारमा पछि भुक्तानी लिने सर्तअनुसार उद्योगलाई उखु दिन थालेका छन् ।सरकारले समयमै उखुको मूल्य निर्धारण नगर्दा किसान समस्यामा परेका हुन् ।
उखु सुक्नलाग्दा पनि सरकारले मूल्य निर्धारण गर्न सकेको छैन । किसानका प्रतिनिधिहरुले पटक–पटक उखुको मूल्य तत्काल निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।तर, सरकारी ढिलाइका कारण नवलपरासीका किसानले उखु खेतमै सुक्न थालेपछि बाध्य भएर उद्योगले तोकेकै मूल्यमा बिक्री गर्न थालेका छन् । कतिपय किसानले भने पछि मूल्य निर्धारण गर्ने सर्तमा उद्योगलाई उखु दिएका छन् ।
दुबै सर्तमा उखु उपलब्ध गराउन किसान सहमत भएपछि चिनी उद्योगहरु सन्चालनमा आएका छन् । अहिले यहाँका किसान उखु काट्न व्यस्त छन् ।
उद्योगहरुले प्रतिक्विन्टल ४८० देखि ४९२ रुपैयाँमा उखु खरिद गरिरहेका छन् । सरकारले मूल्य तोकेपनि भुक्तानीमा ढिलाइ गर्ने भएकाले सस्तोमै उद्योगलाई उखु बिक्री गरेको किसानहरुको भनाइ छ ।
उखु काटेपछि अन्य बाली लगाउन र मजदुरको ज्याला दिन बाध्य भएर सस्तोमै उखु बेच्नु परेको उनीहरुको गुनासो छ ।नवलपरासीमा बाग्मती, सुनवल र इन्दिरा चिनी उद्योग छन् । तर, जिल्लामा हरेक वर्ष उखु उत्पादन घट्दै गएको छ ।
नवलपरासीमा २ वर्षअघि २८ लाख क्विन्टल उखु उत्पादन भएकोमा यस वर्ष १५ लाख क्विन्टलमात्र उत्पादन भएको उखु उत्पादक कृषक समितिले जनाएको छ ।