Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नवलपरासीमा फलामखानी भेटिएपछिको उत्साह – Gaule Khabar

नवलपरासीमा फलामखानी भेटिएपछिको उत्साह

नवलपरासीमा फलामखानी भेटिएपछिको उत्साह

नवलपरासी,पुस ७-

पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत नवलपरासीको डण्डा बजारबाट करिब २१ किमी उत्तर महाभारत पर्वत क्षेत्रमा अवस्थित धौबादी गाविसको पोखरी गाउँमा ठुलो परिणामको फलामखानी भेटिएपछि त्यसबारे अध्ययन अनुसन्धान जारी छ । नेपालकै ठुलो फलामखानी भेटिएपछि नेपाल सरकारका उच्च निकायदेखि विभिन्न स्थानबाट सर्वसाधारणहरु फलामखानीको अवलोकन गर्न त्यहाँ जाने क्रम पनि बढेको छ ।

पश्चिम धौबादी गाविस,पुर्व देउराली गाविसको नाम्जाकोट,दक्षिण रुम्सी र उत्तर नरम गाविसको ल्हापेसम्म करिब १० किमी क्षेत्र वरिपरि फलामखानी फैलिएपनि २ किमी क्षेत्रको मात्रै विस्तृत अध्ययन अनुसन्धान भईरहेको अध्ययनमा सलग्न भूगर्भविद नारायण बास्कोटाको भनाइ छ ।

दुई किमी क्षेत्रमा मात्रै करिब दुई करोड मेट्रिक टन र बाँकी आठ किमी क्षेत्रमा करिव दुई करोड टन गरी चार करोड टन कच्चा फलाम रहेको बास्कोटाले बताएका छन् । खानी तथा भूगर्भ विभागका भूगर्भविद नरेश महर्जनको नेतृत्वमा भूगर्भविद नारायण बास्कोटा लगायत ५ सदस्यीय टोलीले दुई किमी क्षेत्रको फलाम खानी डाँडाको ६ वटा ब्लकमा दुई सय वटा सेक्सनबाट करिब दुई टन फलाम मिश्रीत ढुंगा नमुना संकलन गरी गत वर्षको चैत्र महिनामै अध्ययन र अनुसन्धान थालेको थियो ।
सरकारले बि.स.२०६५ सालमा धौबादी-३,पोखरी वरिपरिको एकसय साठी वर्ग किमी पहाडी क्षेत्रलाई कोइलाखानीको आशंकामा अध्ययनको लागि रोकेर राखेको थियो । २०६७ सालमा पहिलो पटक कोइला खानीको अध्ययन गर्न खानी तथा भूगर्भ बिभागबाट विज्ञहरु त्याहाँ जाँदा कोइला नभएर फलाम भएको भेटिएको र २०६८ मा थप अनुसन्धान भएपछि मात्र फलाम खानी रहेको पुष्टि भएको हो ।

हाल सम्म फलाम खानी भएको क्षेत्रको च्यानल स्याम्प्लिंग,टोपो जिओलोजिकल सर्वे लगाएतको काम सम्पन्न भईसकेको छ । अर्को चरणमा फलाम खानी कति गहिराइ सम्म छ भनेर थाहा पाउनकालागि ड्रिलिंग गरिने,संकलन गरिएको नमुनाहरु मेटल टेष्टकोलागि भारत,चीन वा तेश्रो मुलुकमा लैजानु पर्ने,प्रयोगशालाबाट आएको नातिजा पश्चात वातावरणीय प्रभावको अध्ययन गर्नुपर्ने र सरासर काम भए उत्खनन सम्मको प्रक्रियामा पुग्न करिब डेढ दुई वर्ष समय लाग्ने भूगर्भविद् नारायण बास्कोटा बताउँछन् । दुई किमी क्षेत्रको च्यानल स्याम्प्लिंगमा संकलन गरिएका नमुनामा २४ देखि ५८ प्रतिशत सम्म हेमाटाइड ओर(फलामको धाउ) भेटिएको बताइएको छ ।

काठमाडौंको फुलचोकी डाँडा, रामेछापको ठोसे,मकवानपुरको भैंसे,नुवाकोटको फुस्रेभिर,तनहुँको लब्धि खोला र भुतखोला,पर्वत,प्युठान,बागलुङ,बझाङ लगायतका स्थानहरुमा आजभन्दा धेरै वर्ष पहिले फलाम खानी पत्ता लागेको थियो । फुलचोकी डाँडामा १ करोड ५ लाख ५९ हजार मेट्रिक टन,रामेछापको ठोसेमा एक करोड मेट्रिक टन,तथा तनहुँको लब्धि खोलामा १० लाख ८० हजार मेट्रिक टन फलामको धाउ रहेको अनुमान गरिए पनि हाल सम्म उत्खनन गर्न सकिएको छैन । पछिल्लो समयमा नवलपरासीको धौबादी-३,पोखरीको पहाडमा लगभग चार करोड टन बराबरको नेपालकै ठुलो फलाम खानी भेटिएपछि राज्यको आँखा यसतर्फ पनि परेको छ ।

तत्कालिन केपी ओली सरकारका उद्योग मन्त्री सोमप्रसाद पाण्डेले नवलपरासीको फलामखानी उत्खनन गर्न चासो दिएपछि खानी तथा भूगर्भ विभागको टोली अध्ययनका लागि नवलपरासी पुगेको थियो । यसैक्रममा २०७३ बैशाख ४ गते पूर्वउद्योग मन्त्री सोमप्रसाद पाण्डे,खानी तथा भूगर्भ विभागका निमित्त महानिर्देशक राजेन्द्रप्रसाद खनाल, उप महानिर्देशक सोमनाथ सापकोटा ,सिनियर इन्जिनियर रुपक खड्का र भूगर्भविद जनकबहादुर चन्दको टोलीले संयुक्तरुपमा धौबादीको फलाम खानी अध्ययन भईरहेको क्षेत्रको निरीक्षण गरेको थियो ।

निरीक्षणकै क्रममा स्थानीयहरूसंग कुरा गर्दै पूर्वउद्योग मन्त्री पाण्डेले फलाम खानीको उत्खनन प्राकृतिक कठिनाई बाहेक बजेटले नरोकिने र सरकार आफैले उत्खनन गर्ने बताउनुभएको थियो । फलामखानी भेटिएपछि स्थानीयहरु आफ्नो गाउँ विकास हुनेमा आशावादी बनेका छन् भने अर्कोतिर फलामखानीको उत्खनन पश्चात वर्षौ देखी बसोबास गर्दै आईरहेको स्थान छोडेर अन्यत्र विस्थापित हुनपर्ने हो की भन्ने चिन्तामा रहेका छन् । स्थानीय ४९ वर्षीय नरबहादुर सारुमगर भन्छन्, “पहाडै फोर्ने, भत्काउने र जम्मै ढुंगा झिकेर लैजाने भनेका छन्,पहाडै फोरेपछि गाउँ नै सखाप भई हाम्रो उठिबास हुने होकी भनेर रातमा समेत निद्रा लाग्दैन ।” त्यस्तै अर्का स्थानीय चन्द्रबहादुर सारु भन्छन्,“फलाम खानीको उत्खनन हाम्रै आँखा अगाडी हुनु पर्दछ,यसलाई अन्य आयोजना जस्तै ढिला गर्नु हुदैन र उत्खनन कार्यले हाम्रो खेतबारी जान सक्ने भएकोले उत्खनन कार्य अगावै हाम्रो बैकल्पिक व्यवस्था हुनु पर्दछ ।”

नवलपरासीको धौबादी डाँडामा रहेको फलाम खानी आज भन्दा करिव डेढ दुई सय वर्ष अघि नै उत्खनन कार्य भईसकेको आशंका अध्ययनमा संलग्न भूगर्भविद नारायण बास्कोटाले गरे । उनको अनुसार विभागको टोलीले च्यानल स्याम्पिंग गरी अध्ययन गरीरहेको स्थान भन्दा करिव चार किमी उत्तर पश्चिमको पहाडको खोंचमा आठ मिटर चौडाई र आठ मिटर उचाइका मानवद्वारा बनाइएका ठूलाठूला तीनवटा सुरुंगहरु तथा फलाम प्रशोधन गरी निस्कने किट धातु लगाएयतका प्रमाणहरु फेलापरेको छ । जसबाट परापूर्वकालमा परम्परागत शैलीमा फलामखानीको उत्खनन गरिएको अनुमान गर्न सकिन्छ । पाल्पाका सेनवंशीय राजाहरुको पालामा आरन सम्बन्धी सीप भएका कालीगढ़हरुले यस क्षेत्रबाट फलाम उत्खनन गरी घरेलु हातहतियार र घरायसी भाँडाकुँडा बनाएर पाल्पा पठाउने गरेको,त्यस ताका यस क्षेत्रमा आरन सम्बन्धी काम गर्ने समुदायको बस्ति नै भएको,फलाम उत्खननको क्रममा पाँच जना कालिगढ़हरु सुरुंग भित्र पुरिएको,उद्धारको पर्खाइमा सात दिन सम्म उनीहरु बाँसुरी बजाएर बसेका,उद्धारको पर्खाईमा रहेका कालीगढ़हरुको मृत्यु भएपछि फलाम उत्खनन कार्य रोकिएको र त्यसपछि उनीहरुको बस्ती बिस्थापित भई उक्त स्थान जंगलमा परिणत भएको भन्ने किम्बदन्ती स्थानीय समुदायमा प्रचलित रहेको पाइन्छ ।

नवलपरसीको धौवादी डाँडामा रहेको यो फलामखानी अहिलेसम्मको अध्ययनको आधारमा सम्भबत नेपालकै सबैभन्दा सुगम स्थानमा र फलाम उत्पादनको हिसाबले सबै भन्दा ठुलो क्षमताको फलामखानी हो । अधिकांश ठुला विकासका आयोजनाहरु संचालन गर्दा स्थानिय बासिन्दाहरु विस्थापित हुने विगतको अनुभव रहेको हुँदा धौवादी(३,पोखरीका वासिन्दाहरुको पनि यसै कुरामा चिन्ता रहेको पाइनु स्वाभाविकै हो । राष्ट्रिय गौरव वोकेको तथा देशको अर्थतन्त्रमा दिर्घकालिन सकारात्मक प्रभाव पार्न सक्ने नेपालकै ठुलो परिमाणको फलामखानी उत्खनन कार्यलाई सरकार फेरवदलसंग कदापी जोडिनु हुदैन । कसले जस लिने वा दिने नाममा राजनीति पनि गरिनु हुदैन ।

फलामजन्य निर्माण सामग्रीको आयातमा ठुलो धन राशी विदेशिएको आवस्थामा नेपालमै रहेका फलामखानीहरु उत्खनन र प्रशोधन गर्न सके थोरै मात्रामा भए पनि आयात घटाई रोजगारी बढाउन सकिन्छ । राष्ट्रि«य गौरवको सम्भावना बोकेको यो फलामखानी स्थानियहरुको जायज माग र आधारभूत आवस्यकताहरु पुरा गर्दै छिटोभन्दा छिटो यसको उत्खनन गर्नु आजको आवस्यकता हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका