काठमाडौँ, पुस ७ –
मुलुकमा मानिसहरु प्रतिष्ठित पेसा वा पदको खोजीमा रहेका हुन्छन् । लाइबेरियन पेसालाई पनि सानो पेसाका रुपमा लिने मानसिकता नेपाली समाजमा अझै प्रचलनमा छ । के साँच्चिकै लाइबेरियन पेसा सानो पेसा नै हो त रु
विश्वका विभिन्न मुलुकमा लाइबेरियन पेसालाई विचार गर्ने हो भने ठूलाठूला प्रतिष्ठित व्यक्तिले पनि लाइबेरियनको काम गरिसकेको तथ्य फेला परेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्सेतुुङ, इजरायलका पूर्व प्रधानमन्त्री गोल्डा मायर तथा बेन्जामिन फ्रयाँक्लीजस्ता ठूलाठूला नेताले पनि लाइबेरियन भई काम गरिसकेका छन् ।
काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजले बुधबार आयोजना गरेको तीन महिने पुस्तकालय तथा सूचना विज्ञानसम्बन्धी तालिमको उद्घाटनका अवसरमा सो कुराको जानकारी दिइएको हो ।
कार्यक्रममा शिक्षा मन्त्री धनीराम पौडेलले ज्ञानको आधारशीला मानिने पुस्तकालय ज्ञान, चेतना दिने तथा दुर्लभ पुस्तक सङ्ग्रहित गर्ने मुख्य थलोको विकासका लागि हो भन्नुभयो ।
उहाँले नेपालमा अझै पुस्तक तथा पुस्तकालयसम्बन्धी नीति नभएकाले सरकारले नीतिनिर्माणतर्फ जोड दिएको बताउँदै यसलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।
समाजका अध्यक्ष डा नारायण खड्काले सार्वजनिक पुस्तकालय विद्यार्थी, अनुसन्धानकर्ता तथा पाठकका लागि हिराको भण्डार भएको र यसले मुलुकको पहिचानको संरक्षण गरिरहेको बताउनुभयो ।
गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइरालाले गोरखापत्र संस्थानमा ऐतिहासिक महत्वका दुर्लभ वस्तु संरक्षणमा चुनौतीपूर्ण रहेको बताउनुभयो ।
तालिम संयोजक जुजुकाजी डङ्गोल, शिक्षा मन्त्रालय पुस्तकालय समन्वय शाखाका प्रतिनिधि यादवचन्द्र निरौला, डा मोहन लोहनी तथा समाजका महासचिव तीर्थराज वन्तलगायतका वक्ताले सार्वजनिक पुस्तकालयको महत्व र यसको चुनौतीमाथि प्रकाश पार्नुभएको थियो ।
बाह्र वर्षअघि स्थापना भएको त्यस पुस्तकालयमा हाल १८०० नियमित पाठक तथा ५० हजार थान पुस्तक रहेको छ । सो पुस्तकालय सञ्चालनका लागि वार्षिक रु ३० लाख सरकारबाट उपलब्ध हुँदै आएको छ ।- रासस