नेपालगन्ज,पुस ६-
प्रविधिले मानिसको काम सजिलो र विश्वासनीय बनाउँछ । भारतीय क्षेत्रमा सुरक्षा अधिकारीहरुले उच्च प्रविधिको प्रयोगगरि राज्यको नीति र ब्यवस्थामा भूमिका निर्वाह गरिरहँदा नेपालगन्ज भन्सार कार्यालयले पनि आगामी एक वर्ष प्रविधिको उच्चतम् प्रयोग बारे मानसिकता बनाएको छ ।
खुल्ला सिमाना, अब्यवस्थित आवागमन, र अदक्ष जनशक्तिले भन्सारको लक्ष्यमा प्रभाव पार्ने गरेको छ । नेपालगन्जको सिमाना पूरै खुल्ला भएपनि सरकारले एक स्थानमा मात्र नाका निर्धारण गरी आयात निर्यातको कार्यलाई ब्यवस्थित गर्ने प्रयास गरेको छ । जिल्लाको अन्य स्थानबाट राजश्व प्राप्त हुन सक्ने हो भने, दैनिक राजश्वमा करिब ३० प्रतिशत थप बृद्धि हुने कर्मचारीहरुको भनाई छ ।
अहिले दैनिक २ करोड रुपैया राजश्व शंकलन हुँदै आएको भन्सारमा भारत घुम्न जाने, रोजगारी गरी आउने, वा विवाह गरी दाइजोमा ल्याउने सम्पत्तीमा ब्यवहारिक रुपमा कर नलगाइएको नेपालगन्ज भन्सार प्रमुख जनार्दन आचार्यले बताए । नागरिक स्तरबाट जस्तोसुकै गुनासो आएपनि हामी कतिपय अवस्थामा ब्यवहारिक छौं । खासगरि घरेलु खर्चमा प्रयोग हुने उपभोग्य सामाग्रीलाई एक हजार रुपैया सम्म भन्सार शुल्क नलिएर छाड्ने गरिएको उनले बताए ।
चेकजाँचको प्रक्रियाका लागि भन्सारले सिसि क्यामरा जडा गरेको छ । त्यस बाहेक भन्सारका ६१ कर्मचारीले भन्सारको कार्य ब्यवस्थापन र अनुगमनमा काम गर्दै आएका छन् । चोरी पैठारी नियन्त्रण र भन्सार गस्तीका लागि सशस्त्र प्रहरीका ७५ जना, नेपाल प्रहरीका २९ जना जवानहरु कार्य गर्दै आएका छन् । नेपालगन्ज भन्सार कार्यालय बाहेक बाँकेमा ५ वटा अन्य छोटी भन्सार कार्यालय मार्फत ५ हजार रुपैया सम्मको सामाग्री ल्याउन मिल्ने गरी तीन दशक अघि सम्म ती छोटी भन्सारहरु संचालनमा थिए । छाटी भन्सारहरु संचालन गर्ने सरकारी सुरसार नभएको भन्सार प्रमुख आचार्यले बताए । सिमानामा दुबै तर्फ भन्सार नभएर एकतर्फी भन्सार संचालन हुँदैन, आचार्यले भने, भारतले पनि अन्य नाकामा साना भन्सारहरु स्थापना गरे मात्रै नेपालले छोटी भन्सार बारे विचार गर्न सक्छ । नरैनापुर, भोजपुर, होलिया, सुईया, साईगाउँ लगायत क्षेत्रमा रहेका भन्सारहरु बन्द भएपनि सामान निकासी र पैठारीको क्रममा रोकिएन ।
गाउँसंग जोडिएको भारतीय खुल्ला सिमाना र त्यस कारण हुन सक्ने संभावित गतिविधिलाई निगरानी गरिएपनि तस्कर र ब्यवसायीहरुको लागि सुरक्षित बाटोको रुपमा प्रयोग हुँदै आएको छ ।अहिले सम्म ब्यवसायी र एजेन्टहरुले सामाग्रीको तौल बारे दिएको जानकारीलाई नै भन्सार कार्यालयले आधार मान्दै आएको छ । तौल गर्ने प्रविधि नहुँदा सास्ती खेप्दै आएको भन्सारले, यस वर्ष भित्रै वोइंग व्रिज–तौल गर्ने मेसिन) संचालनको तयारी छ । मेसिन मार्फत ट्रकलाई पनि तौल गर्न सकिन्छ प्रमुख अचार्यले भने, तौल गर्ने प्रविधि पछि वास्तविकताको तथ्ययुक्त आधार रहन्छ । भन्सार नाकाबाट मासु, जडिबुटी जस्ता वस्तुहरु निर्यात भएपनि आयात नै बढि भएको उनले बताए ।
नेपालगन्ज भन्सार मार्फत सबै भन्दा बढि पेट्रोलियम पदार्थ आयात हुने गरेको अभिलेखमा छ । त्यसपछि उद्योगलाई चाहिने कच्चा पदार्थ, चावल क्लिंकर, प्लास्टिकजन्य वस्तुहरु आयात हुने गरेको हो । ब्यवसायीहरुको सुविधाका लागि मालबाहक ट्रकलाई चाँडो र सजिलो गरि निकासी पैठारी गर्ने गरेको भन्सार कार्यालयले जनाएको छ । ‘जतिबढि समय रोकिन्छ, लागतखर्च बढि हुन्छ’ प्रमुख आचार्यले भने, ‘त्यसलाई थप सजिलो र सुविधायुक्त बनाउने हाम्रो लक्ष्य छ ।’
तस्करीबाटै साढे पाच करोड
नेपालगन्ज नाका हँुदै वैधानिक रुपमा सामाग्री ल्याउने ब्यवस्था भएपनि तस्करी गर्ने र राजश्व चुहावट गर्नेहरुको समस्या विस्तारै बढ्दै गएको छ ।निगरानीका लागि भन्सार कार्यालयले विभिन्न तरिकाहरु अवलम्बन गरेपनि ग्रामीण नाकाहरुमा सुरक्षा जाँचको पहुच हुन सकेको छैन । रुपईडिहा नाकाबाट पनि दिनहुँ सयौंको संख्यामा तस्करी गर्ने महिला पुरुषहरु देखा पर्ने गरेको प्रहरी भनाई छ ।
राजश्व चुहावट गर्ने ब्यक्ति वा फर्मलाई कारवाहीको दायरामा ल्याएर नियम बमोजिम जरिवाना असूल गर्ने मुद्दा चलाउने कार्य भन्सारले गर्दै आएको छ । भन्सार कार्यालयको अभिलेख अनुसार आर्थिक वर्ष २०७०।०७१ मा ६०४, २०७१।०७२ मा ३०१, २०७२।०७३ मा ३५९ मुद्दा दर्ता भएका छन् । मुद्दामा ५ करोड ५१ लाख ८९ हजार रुपैया दावी गरि मुद्दा चलाइएको भन्सारले जनाएको छ । प्रहरीले चेकजाँचका क्रममा राजश्व नतिरेको वस्तु बरामद गरी कारवाहीका लागि भन्सार कार्यालयमा दाखिला गर्दै आएको छ । भन्सार कर्मचारी, राजश्व अनुसन्धान र सशस्त्र प्रहरीको फरक फरक टोली अवैध निकासी, पैठारीको निगारानी गर्ने गरेको हो ।
भन्सार कार्यालयले मालवस्तु अवैध रुपमा निकासी पैठारी भएको वा हुने सूचना दिने ब्यक्तिलाई १५ प्रतिशत पुरस्कार दिँदै आएको जनाएको छ ।कसैले कुनै मालवस्तु चोरी निकासी वा चोरी पैठारी गर्न लागेमा वा गरेमा सुराकी दिनेलाई पन्ध्र प्रतिशत, चोरी निकासी वा चोरी पैठारी गर्न लागेको मालवस्तु मानिससहित पक्री पेश गरेकोमा तीस प्रतिशत, मालवस्तु सुन, चा“दी वा जवाहिरात भएमा बीस प्रतिशत, चोरी निकासी वा चोरी पैठारी गर्न लागेको मालवस्तु मात्र पक्री पेश गरेकोमा बीस प्रतिशत पुरस्कार दिने ब्यवस्था रहेको भन्सार प्रमुख जनार्दन आचार्यले बताए ।
तस्कर खोई ?
भन्सार कार्यालय नेपालगन्ज र प्रहरीले गर्ने कारवाहीमा पटक पटक सामान बरामद भएको खबर आएपनि सामान ल्याउने ब्यक्ति फरार भएको प्रहरीले जानकारी दिँदै आएपछि सो विषयमा अहिले नागरिकको चासो बढेको छ ।
सिमापारीबाट तस्करी गर्ने ब्यक्तिको मालसामान बरामद भएको विषयमा मानिसलाई मुद्दा नचलाउने भएका कारण मानिस फरार देखाउने सिलसिला सुरु भएको श्रोतको भनाइ छ । ब्यवासायीले सामान तस्करी गराउँदा तस्करले आफ्नो रकम हालेर तस्करी गर्ने र ब्यवसायीको हातमा परपछि रकम प्राप्त हुने हुँदा सामान जफ्त हुनुनै ठूलो सजाय मानिएको प्रहरीको दावी छ ।
लगानी भएको सामान जफ्त भएपछि तस्करी स्वतः कम हुने भन्सार प्रमुख जनार्दन आचार्यको विश्वास छ । उनले भने, मानिस पक्राउ गरिएमा मुद्दा प्रक्रियामा जाँदा दोब्बर जरिवाना र सजाय हुने अवस्था भएकोले सामान्य नागरिकहरुलाई त्यसमा नअल्झाएको हो ।
‘ठूलो परिमाणमा ब्यवसायीले गरेको भन्सार छलीमा मुद्दा चलाइन्छ’, आचार्यले भने, ‘सानो तस्करी गर्नेहरुको सामान जफ्त गरेपछि पुनः लगानी जुटाउन समस्या हुन्छ र तस्करी घट्छ ।’ सामाग्रीलाई पछि भन्सारले कानून अनुसार लिलाम गर्ने गरेको जनाएको छ ।दैनिक नेपालगन्जवाट