Gaule Khabar
मङ्लबार, मंसिर १३, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

अमेरिका लैजाने भन्दै थाइल्यान्ड पुर्‍याई अलपत्र पार्नेक्रम बढ्दो

  • admin
  • मङ्लबार, पुस ५, २०७३
अमेरिका लैजाने भन्दै थाइल्यान्ड पुर्‍याई अलपत्र पार्नेक्रम बढ्दो

काठमाडौँ,पुस ५- 

मानव तस्कर दलालले अमेरिका, युरोपलगायत महादेशमामा लैजाने भनी नेपालीलाई पर्यटक प्रवेशाज्ञामा थाइल्यान्ड पुर्‍याई अलपत्र पार्ने क्रम पछिल्लो समय बढ्दै गएको छ।

मानव तस्करले अमेरिका, अस्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया तथा युरोपका केही मुलुकलगायत आकर्षक देशमा प्रवेशाज्ञा लगाई पठाइदिने प्रलोभनमा पारी ठग्दै आएकाले त्यसमा नपर्न थाइल्यान्डस्थित नेपाली दूतावासले आज विज्ञप्ति जारी गर्दै आग्रह गरेको छ।

तस्करले आकर्षक गन्तव्य मुलुकको प्रवेशाज्ञा प्राप्त गर्न थाइल्यान्डबाट सहज हुने तथा त्यहाँबाट त्यस्ता देशमा जानसमेत सजिलो हुने जनाउँदै नेपालीलाई सुरुमा सम्बन्धित देशको प्रवेशाज्ञा लागेपछि मात्रै रकम दिने सर्तमा राजधानी बैंकक बोलाउने गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “थाइल्यान्ड आइसकेपछि अनेक बहाना बनाएर सकेसम्म धेरै पैसा मगाउन लगाई निजबाट लिने र कानुनी रुपमा थाइल्यान्ड बस्न पाउने अवधि समाप्त भई अवैधानिक भएपछि यहाँका प्रहरी प्रशासनलाई खबर गरीरगराई पक्रन लगाउने वा प्रवेशाज्ञाको अवधि बढाउनका लागि छिमेकी मुलुक मलेसिया, सिङ्गापुर, कम्बोडिया आदि गएर आउन सुझाउने र त्यहाँ गइसकेपछि ती मुलुकबाट थाइल्यान्डको प्रवेशाज्ञा उपलब्ध नहुने हुँदा त्यतै अलपत्र परी नेपाल फर्कन बाध्य पार्ने गरेको देखिन्छ।”

कतिपय अवस्थामा विकसित देशको नक्कली प्रवेशाज्ञा लगाएर कबोल गरे जति रकम असुल गरी पीडितलाई नक्कली प्रवेशाज्ञा दिने र सोको सूचना त्यहाँका प्रहरी प्रशासनलाई दिई पक्राउ गराउनेजस्ता कार्यसमेत भएको दूतावासले जनाएको छ।

मानव तस्करले आफ्नो वास्तविक परिचय नखुलाई नक्कली नाम र ठेगाना बताएर ठग्ने हुँदा पीडितले तिनविरुद्ध उजुरी गर्नसमेत नसक्ने अवस्थाको सिर्जना हुने र पीडित नै प्रहरीद्वारा पक्राउ पर्ने गरेको देखिएको छ। पीडकको नाम र ठेगाना दिन नसक्ने अवस्थामा प्रहरीले पक्राउ परेका पीडितलाई कानुनी रुपमा दोषी ठहर्‍याई कारबाहीमा पार्ने गरेका छन्।

थाइल्यान्डबाट मात्र नभई छिमेकी मुलुक कम्बोडिया, लाओस, भियतनामबाट समेत यस प्रकारको ठगी धन्दा मौलाउन थालेको दूतावासले जनाएको छ। नागरिक दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ