Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सौराहा महोत्सवमा हात्ती दौड हटाइयो, हात्ती पोलो थपियो – Gaule Khabar

सौराहा महोत्सवमा हात्ती दौड हटाइयो, हात्ती पोलो थपियो

सौराहा महोत्सवमा हात्ती दौड हटाइयो, हात्ती पोलो थपियो

चितवन,पुष ३-

पर्यटकीय नगरी सौराहामा हरेक वर्ष जस्तै यस वर्ष पनि आयोजना हुने चितवन हात्ती महोत्सव २०७३ को तयारी तीव्र पारिएको छ । १३ औं संस्करणको महोत्सव आगामी पुस ११ गतेदेखि १५ गतेसम्म चल्ने छ ।

आयोजक क्षेत्रिय होटल संघ सौराहाका अनुसार यसपटक हात्ती दौड प्रतियोगिता महोत्सवबाट हटाइएको छ । अजंगको ज्यान भएको हात्तीलाई दौडाउँदा यातना दिइएसरह हुने भन्दै पशु अधिकारकर्मीहरुले विरोध गर्दै आएका थिए ।

क्षेत्रिय होटल संघ सौराहाका प्रथम उपाध्यक्ष एवं महोत्सवका संयोजक दिपक भट्टराईले भने, ‘यसपटक हात्ती दौड हटाएका छौं र पर्यटकहरुलाई थप आकर्षित गर्न हात्ती पोलो र हात्ती श्रृङ्गार प्रतियोगिता थप गरेका छौं ।’

महोत्सवलाई वन्यजन्तु मैत्री बनाउन हात्ती दौडलाई हटाएर हात्ती ‘फाष्टवाक’ प्रतियोगिता गरिने उनले बताए ।

हात्तीपोलो चितवनबाट नै सुरु भएकाले यस पटकको महोत्सवमा हात्ती पोलो विशेष आकर्षण बन्ने हात्तीपोलो खेल व्यवस्थापन समिति संयोजक शंकर सैंजुले बताए । ुपर्यटक आउँदा चितवनमा हात्ती पोलो किन नहुने भनेर धेरै प्रश्न गरे,’ उनले भने, ‘हामीले पनि धेरै महसुस गरेपछि यहाँका सबै व्यवसायीहरुको पहलमा यो खेल हुन लागेको हो ।’

बाघमारा मध्यवर्ती सामुदायिक वनको खुल्ला चौरमा हुने महोत्सवमा हात्ती फाष्टवाक प्रतियोगिता, हात्तीपोलो प्रतियोगिता, हात्तीका छावाहरु बीच फुटबल, हात्ती श्रृंगार प्रतियोगिता, टाँगा दौड, हात्ती पेन्टिङ, हात्तीको वनभोज, साँस्कृतिक कार्यक्रम र डुंगा दौड प्रतियोगिता हुने छन् ।

सो हात्ती महोत्सवकै निकै आकर्षणको रुपमा रहेको हात्तीका छावाका विचको रोमाञ्चकारी फुटबल प्रतियोगितामा ४ टिम र हात्ती सुन्दरी प्रतियोगिताका लागि ५ वटा हात्ती सहभागी हुने नतिजा प्रकाशन एवं हात्ती सुन्दरी प्रतियोगिताका ऋषि तिवारीले जानकारी दिए ।

यसैगरी दुई बर्ष अघिदेखि थप गरिएको हात्ती वनभोज कार्यक्रममा १ सय बढी हात्ती सहभागी हुने र उनीहरुलाई रुचि अनुसारको सक्खर, धान, केरा, काउली, बन्दा, उँखु, स्याउ, सुन्तला लगायतका अन्य परिकारहरु खवाइने हात्ती वनभोज कार्यक्रमका संयोजक योगेन्द्रनाथ अधिकारीले जानकारी दिए ।

यतिबेला प्रतियोगिताका लागि आवश्यक पर्ने खेल मैदान व्यवस्थापनदेखि स्वागत गेट निर्माण लगायतका सम्पूर्ण तयारी तीव्र पारिएको संघका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए । हात्ती महोत्सवका कारण चितवनको सौराहा सिंगारिदै छ भने मुख्य बजार, होटल, पार्क, रिसोर्टहरु पनि सजाउने काम भइरहेको छ ।

महोत्सव क्षेत्रीय होटल संघ सौराहाको मुख्य आयोजना तथा चित्रसेन, बाघमारा मध्यवर्ती सामुदायिक वन, रत्ननगर नगरपालिका, मृगकुञ्ज उपभोक्ता समिति, युनाईटेड हात्ती सञ्चालन सहकारी, सौराहा बचत र सौराहा पर्यटन व्यवसायी समूह तथा रेवान सौराहाको सहआयोजनामा हुन लागेको हो ।

महोत्सवले हात्ती र मानवबीचको सम्वन्ध प्रगाढ गराउन सहयोग गर्ने र यसबाट पर्यटक प्रवर्द्धन र संरक्षणमा टेवा पुग्ने आयोजकको विश्वास छ ।

महोत्सवमा ५० वटा व्यावसायिक र संरक्षणमूलक स्टल राखिने र प्रतियोगिता सम्पन्न गर्नका लागि ७० लाख खर्च लाग्ने अनुमान आयोजकले लिएको क्षेत्रिय होटल संघका कोषाध्यक्ष एवं आर्थिक समिति संयोजक शिरलाल परियारले बताए ।

महोत्सव आन्तरिक र बाह्य गरी करिब दुई लाख बढी पर्यटकले अवलोकन गर्ने तथा दुई करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका