Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कर्मचारीको निर्वाचनमा पार्टी नेताको घुइँचो – Gaule Khabar

कर्मचारीको निर्वाचनमा पार्टी नेताको घुइँचो

कर्मचारीको निर्वाचनमा पार्टी नेताको घुइँचो

नेपालगन्ज मंसिर २९-

नेपाल निजामती कर्मचारी संगठनको १० औं राष्ट्रिय अधिवेशनमा कर्मचारीका नेता भन्दा पार्टीका नेतालाई बढी चुनाव लागेको छ ।नेकपा एमालेका पोलिटव्यूरो सदस्यदेखि यस क्षेत्रका जिल्ला अध्यक्ष, पदाधिकारीहरुको निर्वाचनस्थल सिद्धार्थ कटेज र होटलहरुमा प्रतिनिधिहरुलाई आफ्नो पक्षमा पार्नका लागि जोड बल गरिरहेका छन् ।

कतिपय नेताहरु अधिवेशनस्थल सिद्धार्थ कटेजमा नपुगेरै जिल्लाबाट आएका प्रतिनिधिहरुलाई आफ्नो पक्षधरका उम्मेदवारलाई जिताउनका लागि विभिन्न खालका आश्वासन, प्रलोभन र भावनात्मक कुराले पगाल्ने प्रयास गरिरहेका छन् । सल्यान क्षेत्र नं. २ का सांसद तथा एमाले पोलिटब्यूरो सदस्य प्रकाश ज्वाला तीनदिनदेखि नेपालगन्जमा भएपनि उनी कार्यक्रम स्थलमा नपुगेरै आफ्नो पक्षधरका उम्मेदवारलाई विजय बनाउन व्यक्तिगत र समूहगत छलफलमा व्यस्त रहेका छन् ।

उनीसँगै दैलेखका सांसद अम्मरबहादुर थापा, सबीएका उपाध्यक्ष एवम् संगठनका पूर्व अध्यक्ष भोला पोख्रेल जोड बलका साथ प्रतिनिधिलाई सम्झाउन लागि परेका छन् । कार्यक्रम स्थलमै पुगेर प्रतिनिधिहरुलाई आफू निकट उम्मेदवारलाई विजयी गराउन प्रतिनिधिहरुलाई अनुरोध गर्नेमा जुम्लाका पूर्व सांसद र पार्टीका जिल्ला सचिव, सुर्खेतका जिल्ला कमिटी अध्यक्ष ध्रुव शाही, सचिव मोहन बडुवाल, जाजरकोटका जिल्ला अध्यक्ष करवीर शाही लगायतका एमाले नेताहरु रहेका छन् ।

त्यसो त बाँकेका पार्टी अध्यक्ष अशोक कोईराला स्थानीय पार्टी कमिटीको सहयोगको लागि धेरै दिन पहिलेदेखि निजामती कर्मचारीको निर्वाचनमा जुटेका छन् । नेकपा एमाले निकट कर्मचारी संगठनको निर्वाचनमा प्रष्टैसँग पार्टी संस्थापन पक्षका उम्मेदवार केदारप्रसाद देवकोटा र माधव नेपाल समूहमा मोहनकुमार घिमिरे प्यानलगत रुपमै निर्वाचनको मैदानमा उत्रिएका छन् ।

विवादै विवादका बीच उद्घाटन भएको यो अधिवेशन उद्घाटनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली नेपालगन्जमा आएको ६ घण्टा पछाडी कार्यक्रम स्थलमा पुगेर विवाद साम्य बनाउन सफल भएका थिए । तत्कालीन अध्यक्ष मोहनकुमार घिमिरेले एकलौटी रुपमा ६६ जना प्रतिनिधिलाई मनोनित गरेको विरोधमा अध्यक्षका उम्मेदवार केदार प्रसाद देवकोटा समूहले उद्घाटन अघि चार घण्टा नारावाजी गरी मनोनित प्रतिनिधि खारेजको माग गर्दै आएको थियो ।

एमाले केन्द्रीय सचिव एवम् मोर्चा संगठनका प्रमुख गोकर्ण बिष्टको पहलमा असन्तुष्ट पक्षको माग पूरा गरेपछि सुरु भएको अधिवेशन आज बुधवार साँझ ६ बजेदेखि मतदान आरम्भ हुने बताईएको छ ।

संगठनका प्रतिनिधि भन्दा यस क्षेत्रका पार्टी नेताहरुलाई समूहगत रुपमा आफ्ना पक्षका उम्मेदवारलाई विजयी बनाउनका लागि भएको प्रयास अधिवेशन स्थलमा हेर्नलायक रहेको छ ।उसो त कार्यक्रम उद्घाटन सत्रमा आउनुभएका पार्टी महासचिव उद्घाटनस्थलमै नपुगेर पुनः काठमाडौ फिर्ता हुनुभएको थियो । विवाद र समूहगत राजनीतिबाट अछुतो नरहेको संगठनको निर्वाचनमा आफ्नो पक्षको विजयी हुने कुरामा दुवै पक्षका उम्मेदवारको दावी रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका