Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अन्डामा आत्मानिर्भरको योजना अलपत्र – Gaule Khabar

अन्डामा आत्मानिर्भरको योजना अलपत्र

अन्डामा आत्मानिर्भरको योजना अलपत्र

राजाराम कार्की,

काठमाडौँ, मंसिर २५–

आगामी एक वर्षभित्र नेपाललाई अन्डामा आत्मनिर्भर बनाउने सरकारी योजना र तयारी अन्ततः कागजमा सीमित देखिएको छ ।

कुल उत्पादन र देशको जनसङ्ख्याको हिसाब गर्दा नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ३३ वटा अन्डा उपलब्ध छ । यसलाई एक वर्षभित्र ४८ वटामापुर्याई देशलाई अन्डाका क्षेत्रमा आत्मनिर्भर बनाउने सरकारी सोच थियो । पशुपन्छी विकास मन्त्रालयले आगामी एक वर्षमा अन्डा, दोस्रो वर्षमा मासु र तेस्रो वर्षमा दूध उत्पादनमा आत्मनिर्भर हुने योजना अघि सारे पनि अन्डा उत्पादन कार्यक्रम गतिशील हुन नसक्दा योजना कार्यान्वयनमा शङ्का उत्पन्न भएको हो ।

मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले एघार महिनाअघि सार्वजनिक गरेको ४० बुँदे प्रतिबद्धतापत्रमा ‘किसानको साथी’ अभियानबाट ७५ जिल्लाका किसानलाई लक्षित वर्गमा समावेश गराई आगामी एक वर्षमा नेपाललाई अन्डामा आत्मानर्भर बनाइने घोषणा गर्नुभएको थियो ।

अहिले बजारमा अन्डाको अभाव छैन । यद्यपि भारतको सिमानासँग जोडिएका तराईका २२ जिल्लामा भने भारतीय अन्डाको आयात भइरहेको नेपाल अन्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीले बताउनुभयो । उहाँका अनुसार अहिले बजारमा अन्डाको माग बढेको छ । किसानले उचित मूल्य पाएका छन् । अन्डा व्यापारीले उत्पादक (किसान) सँग प्रतिक्रेट रु ३४० मा खरिद गर्ने गरेका छन् । प्रतिवटा अन्डाको थोक मूल्य रु ११ र पैसा ३३ मा किसानसँग खरिद गरी व्यापारीले खुद्रा रु १५ मा बिक्री वितरण गरेका छन् ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घका अध्यक्ष जङ्गबहादुर बिसीले भारतसँग सिमाना जोडिएका जिल्लामा अन्डा आयात रोकिने हो भने नेपालमा अन्डाको हाहाकार हुने बताउनुहुन्छ । उहाँले सस्तोमा उपभोक्तालाई अन्डा खाना दिन कुखुरापालनमा अनुदान वृद्धि गर्नुपर्ने बताउनुभयो ।

विकसित मुलुकको दाँजोमा नेपाललाई लक्ष्यमा पु¥याउन हाल भइरहेको अन्डा उत्पादनमा झन्डै ४५ प्रतिशतले वृद्धि गर्नुपर्छ । मन्त्रिपरिषद्को गत साल पुस ९ गतेको निर्णयबाट कृषि विकास मन्त्रालयलाई टुक्राएर पशुपन्छी मन्त्रालय गठन भएको थियो ।

अन्डा व्यवसायी रामकुमार श्रेष्ठले पशुपन्छीजन्य उत्पादनमा उच्च आर्थिक वृद्धिदर हासिल गर्न राष्ट्रिय पशुपन्छी पालन नीति छ महिनाभित्र तर्जुमा गरी कार्यान्वयन, बिमा ऐन, २०४९ को परिमार्जन, पशुपन्छी व्यवसाय प्रबद्र्धन तथा बजार ऐनका कुरा समेत ओझेलमा परेको बताउनुभयो ।

पशुपन्छी पालनका क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादनमा ११ प्रतिशत र कुल कृषि गार्हस्थ्य उत्पादनमा करिब २६ दशमलव शून्य ८ प्रतिशत योगदान रहेको छ ।

नेपालमा अन्डा दिने ८३ लाख ५० हजार कुखुराबाट वार्षिक ९० करोड अन्डा उत्पादन हुन्छ । हाल अन्डा उत्पादक सङ्घमा आबद्ध एक हजार छ सय साना ठूला अन्डा उत्पादक किसानबाट ५२ हजार अन्डा उत्पादन भएको तथ्याङ्क छ । नेपालमा व्यावसायिक रुपमा तथा एसियाका अन्य मुलुकमा जस्तै अन्डा उत्पादनमा ख्याति कमाएका कुखुराको जातको १५/२० वर्षदेखि पालन हुँदै आएको छ ।

उन्नत जातका कुखुरा नेपालको ग्रामीण क्षेत्रमा सफलतापूर्वक पालन गर्न सकिन्छ । नेपालमा पाइने स्थानीय जातका कुखुराको अन्डा उत्पादन वर्षमा करिब ७०/८० वटा मात्र हुन्छ । सोही अवधिमा व्यावसायिक कुखुराले वार्षिक दुई ८० देखि तीन सयसम्म उत्पादन दिन सक्छ ।

नेपालको ग्रामीण क्षेत्रमा भएका कुखुरालाई व्यावसायिक कुखुरापालन गरी प्रतिस्थापन गर्न सकियो भने हालको उत्पादनमा ४५ प्रतिशतले बढ्न सक्ने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका