सोलिडारिटी कप विजेतालाई जनही तीन लाख

सोलिडारिटी कप विजेतालाई जनही तीन लाख

काठमाडौँ, मंसिर २४–

अखिल नेपाल फुटबल सङ्घ (एन्फाले) एएफसी सोलिडारिटी कप विजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई जनही रु तीन लाख प्रदान गर्ने जनाएको छ ।

आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको एन्फा कार्यसमिति बैठकले विजेता टोलीका सदस्यलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको हो ।

मलेसियामा सम्पन्न सोलिडारिटी कप फाइनलमा मकाउलाई हराउँदै नेपालले पहिलो पल्ट एएफसीले आयोजना गरेको प्रतियोगिताको उपाधि जितेको थियो ।

त्यस्तै कार्यसमिति बैठकले एन्फाको वरिष्ठ उपाध्यक्षमा मणि कुँवरलाई मनोनीत गरेको छ । बैठकले उपाध्यक्ष कुँवरलाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको हो । उहाँ गत ८ कात्तिकमा निर्वाचनबाट उपाध्यक्षमा विजयी हुनुभएको थियो ।

त्यसपछि रिक्त रहेको उपाध्यक्षमा सिन्धुपाल्चोक जिल्ला फुटबल सङ्घका अध्यक्ष वीरबहादुर खड्का मनोनीत हुनुभएका छन् । एन्फाले २०१७ मा हुने चुनावका लागि विधान संशोधन प्रस्ताव तयार पार्न कुँवरको नेतृत्वमा समिति बनाएको छ ।

बैठकले थ्रीस्टार क्लब एएफसी क्लब च्याम्पियनसिपको प्लेअफ खेल्नबाट वञ्चित भएको बारे छानबिन गर्न वीरबहादुर खड्का, रमेश रायमाझी र सञ्जीव मिश्र सम्मिलित समिति गठन गरेको छ ।

उनीहरूलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । एन्फाले समयमै खेलाडीको नाम दर्ता नगरी दिँदा थ्रीस्टार प्रतियोगिताबाट बाहिरिएको छ ।

महिला साफका लागि २० खेलाडी छनोट

यसैगरी अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भारतको सिलगुढीमा हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरेको छ । पुस ११ गतेदेखि सुरु हुने च्याम्पियनसिपका लागि २० सदस्यीय टोली छनोट गरिएको छ ।

जसमा ३ गोलकिपर, ६ डिफेन्डर, ४ स्ट्राइकर र ७ मिडफिल्डर छन् । प्रशिक्षकमा कुमार थापा र अस्मिता खवास सहायक प्रशिक्षक छन् ।

नेपाली टोलीको कप्तानमा रेनुका नगरकोटी र उपकप्तानमा आँचल वाइवा छन् । अन्य खेलाडीमा नमिताकुमारी दली, गीता राना, पुनम जर्घा मगर, हीराकुमारी भुजेल, सपना लामा, दीपा अधिकारी, सावित्रा राजभण्डारी, कृष्णा खत्री, अनिता बस्नेत, मनमाया लिम्बू, अञ्जिला तुम्बाफो सुब्बा, दीपा राई, शर्मिला थापा, अञ्जना र रानामागर, मञ्जलीकुमारी योञ्जन, कविता धिमाल, सरु लिम्बू र निर्मला विक छन् ।

तीस खेलाडीबाट छनोट गरेर अन्तिम २० को सार्वजनिक गरिएको थियो । समूहमा ‘ए’मा रहेको नेपालको समूहमा श्रीलङ्का, माल्दिभ्स र भुटान छन् । नेपालले पहिलो खेल पुस ११ गते भुटानसँग खेल्नेछ । भारत, अफगानिस्तान र बङ्गलादेश समूह ‘बी’मा छन् । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ