Gaule Khabar
आइतवार, साउन २९, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

अपाङ्गता ऐन चाँडै ल्याउन माग

  • admin
  • बिहिबार, मंसिर २३, २०७३
अपाङ्गता ऐन चाँडै ल्याउन माग

काठमाडौँ, मंसिर २३ –

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७२ लाई जतिसक्दो चाँडो संसद्बाट पारित गर्न सरोकारवाला सङ्घसंस्था तथा अधिकारकर्मीले माग गरेका छन् ।

ऐन ल्याउन ढिलाइ हुँदा अपाङ्गता नभएका व्यक्तिले झुटो विवरण पेस गरेर निजामती सेवा, आरक्षण, राष्ट्रिय र अन्तर्राष्ट्रिय छात्रवृत्तिलगातयका सेवा सुविधा लिइरहेको गुनासोसहित राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाललगायतका सङ्घसंस्थाले दबाब दिँदै आएका छन् ।

छलफलको क्रममा रहेको विधेयकलाई जतिसक्दो चाँडो पारित गराई कार्यान्वयनमा ल्याउन सांसदसँगको महासङ्घले अन्तक्र्रियाका साथसाथै सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाउने काम गर्दैआएको महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले जानकारी दिनुभयो ।

अपाङ्गता संरक्षण तथा कल्याण ऐन, २०३९ को संशोधित ऐनको रूपमा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७२ ल्याउने तयारी गरिएको हो । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले अपाङ्गता ऐन, २०३९ पुरानो भएको भन्दै संशोधनका लागि पाँच पटकसम्म समिति गठन गरे पनि संशोधन हुन सकेको छैन । नयाँ संविधान जारी भइसकेको सन्दर्भ र यससम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय नीतिमा फेरबदल आइसकेको अवस्थामा यस क्षेत्रका अधिकारकर्मीले ऐन संशोधनको माग गर्दै आएका हुन् ।

संविधानमा समानताको हक, छुवाछूत तथा भेदभावविरुद्धको हक, शिक्षासम्बन्धी हक र महिलाको हकलगायतका अन्य हकमा अपाङ्गताको अधिकारलाई समावेश गरिए पनि ‘अपाङ्गताको हक’ को रूपमा भने छुट्टै धाराको व्यवस्था गरिएको छैन । “अपाङ्गता भएका र आर्थिक रूपमा विपन्न नागरिकलाई कानुनबमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक हुनेछ” भन्ने शिक्षासम्बन्धी हकमा उल्लेख गरिएको छ ।

महासङ्घका अध्यक्ष सुवेदीका अनुसार विधेयक संसद्मा दर्ता भएर छलफलका लागि महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिमा पठाइएको दुई महिना भइसक्यो । समिति सभापति रञ्जुकुमारी झाले भने सो विधेयक अहिलेसम्म समितिको सचिवालयसम्म आइनसकेको जानकारी दिनुभएको छ । “विधेयक समितिको सचिवालयमा आएको छैन, अब छिट्टै आउँछ र समितिले छलफल गरेर पुसभित्रमा संसद्मा पठाउनेछ” – सभापति झाले भन्नुभयो ।
विधेयकमाथिका संशोधनकर्तालाई समितिमा आमन्त्रण गरेर छलफलका आधारमा समिति अगाडि बढ्ने सभापति झाको भनाइ छ । महासङ्घले सांसदमार्फत छुटेका सवाललाई संशोधन गर्न अपिल गर्दै आएको छ । विधेयक संशोधनका लागि १३ वटा संशोधन दर्ता भएका छन् ।

निःशुल्क स्वास्थ्य शिक्षा, यातायातमा ५० प्रतिशत छुट, अति अशक्त र पूर्ण अशक्तका लागि सामाजिक सुरक्षा भत्ता, अपाङ्गता भएका व्यक्तिलाई सहयोगीको व्यवस्था, सुस्तश्रवण भएकालाई साङ्केतिक भाषाको व्यवस्था, दृष्टिविहीनलाई ब्रेललिपिको व्यवस्था, श्रवण दृष्टिविहीनसम्बन्धी अपाङ्गता भएकालाई टेक ट्रायल स्पर्श विधिको व्यवस्था गर्नुपर्नेलगायत धेरै विषय विधेयकमा छुटेको र त्यसलाई संशोधनमार्फत समावेश गर्न सुझाव दिइएको अध्यक्ष सुवेदीले जानकारी दिनुभएको छ ।

“पहिलेको तुलनामा अहिलेको ऐनमा नयाँ विषयको रूपमा अपाङ्गताभित्र पनि हिमोफिलिया, अटिजम, डाउनसिन्ड्रोमलगायतका पहिचान हुन नसकेका अपाङ्गताको पहिचान गरिएको छ”– उहाँले भन्नुभयो ।

मनोसामाजिक अपाङ्गता भएकाको लागि छुट्टै दफाको व्यवस्था पनि गरिएको छ जुन यसभन्दा अघिको ऐनमा थिएन । अपाङ्गताको नाममा गैरअपाङ्गले सेवा सुविधा लिँदा पहिलेको ऐनमा कारबाही गर्ने व्यवस्था थिएन भने अहिले त्यो व्यवस्था पनि गरिएको छ । विचाराधीन नयाँ ऐनले शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षालगायतका अधिकार दिन खोजेको छ तर त्यो बाध्यात्मक देखिँदैन ।

नेपालको पछिल्लो जनगणना २०६८ अनुसार अपाङ्गता भएका व्यक्तिको कुल जनसङ्ख्या झन्डै दुई प्रतिशत ९१ दशमलव ९४ प्रतिशत अर्थात पाँच लाख १३ हजार ३२१० रहेको छ । यसमा शारीरिक अपाङ्गता भएका व्यक्ति ३६ दशमलव ६ प्रतिशत, दृष्टिविहीन १६ दशमलव ५ प्रतिशत र सुन्नमा समस्या भएका १५ दशमलव ४ प्रतिशत रहेका छन् ।

त्यसैगरी, बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति ११ दशमलव ५, श्रवण दृष्टिविहीनसम्बन्धी १ दशमलव ८, मानसिक अपाङ्गता ६, बौद्धिक अपाङ्गता २ दशमलव ९ र बहुअपाङ्गता भएका ७ दशमलव ५ प्रतिशत रहेका छन् । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ