Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
शान्ति स्थापनाको सन्देश नेपालबाट संसारले सिक्नसक्छ – परराष्ट्रमन्त्री – Gaule Khabar

शान्ति स्थापनाको सन्देश नेपालबाट संसारले सिक्नसक्छ – परराष्ट्रमन्त्री

शान्ति स्थापनाको सन्देश नेपालबाट संसारले सिक्नसक्छ – परराष्ट्रमन्त्री

काठमाडौँ, मंसिर २३ –

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालले शान्ति वार्ताबाटै द्वन्द्वको समाधान गरेको सफलता संसारकै लागि एक सफल उदाहरण भएकाले यसबाट विश्वले नै सिक्नसक्ने बताउनुभएको छ ।

इन्डोनेसियाको बालीमा बिहीबारदेखि सुरु भएको बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – संसारका अरु देशमा पनि द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका लागि नेपालबाट विश्वले नै सिक्न सक्छ ।

विश्वका ९४ देशका विदेशमन्त्री, मन्त्री तथा प्रतिनिधिहरुको सहभागिता रहेको सो सम्मेलनको उद्घाटन इन्डोनेसियाका राष्ट्रपति जोको विदोदोले बिहीबार बिहान गर्नुभएको हो । यस सम्मेलनको यसपटकको नारा ९थिम० धर्म, प्रजातन्त्र र बहुलवाद राखिएको छ ।

शान्ति र प्रजातन्त्रका लागि नेपालले विगत लामो समयदेखि गरेको सङ्घर्षको उदाहरण दिँदै परराष्ट्रमन्त्री डा महतले यस सङ्घर्षले नेपाली नागरिकलाई पनि शान्त र सहनशील बन्न सिकाएको धारणा राख्नुभयो ।

उहाँले नेपालले विगतमा शान्ति र प्रजातन्त्रका लागि गरेको यस सङ्घर्षको परिणामस्वरुप दशकौँपछि नेपाली जनताले संविधानसभामार्फत आफँै संविधान लेख्ने अवसर पाएका र नेपाली जनताद्वारा जारी यस संविधान प्रजातान्त्रिक, समावेशी र सहभागितामूलक रहेको बताउनुभयो ।

मन्त्री डा महतले भन्नुभयो – “हामी संसारमा नै उदाहरण दिन मिल्ने गरी समावेशी प्रजातन्त्रको अभ्यास गरिरहेका छौँ र हामीले संविधानमा नै देशको संसद्मा कम्तीमा पनि ३३ प्रतिशत र देशका सबै स्थानीय तहमा ४० प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेका छौँ ।” उहाँले अगाडि भन्नुभयो – “हाल नेपालमा राष्ट्रपति, संसद्मा सभामुख र प्रधानन्यायाधीशमा पनि महिला रहनुभएको छ ।

समावेशी र सहभागितामूलक विकास प्रयासलाई नेपाल सरकारले प्राथमिकतामा राखेको र देशका महिला, गरिब तथा समाजमा विभिन्न कारणले पछि परेका समुदायका नागरिकको सशक्तीकरणका लागि आवश्यक नीति र कार्यक्रमका लागि अघि बढेको जानकारी पनि उहाँले सो सम्बोधनका क्रममा दिनुभयो ।

नेपालले आगामी केही समयभित्रै केन्द्र तथा स्थानीय तहहरुका निर्वाचनको योजना गरिरहेको र यसमार्फत लामो समयपछि नेपाली जनताले लेखेको संविधानको कार्यान्वयनमा थप सशक्तता आउने र दिगो विकास र देशले लिएको समावेशी र सहभागितामूलक शासन व्यवस्थालाई थप संस्थागत बनाउन सहयोग पुग्ने धारणा पनि राख्नुभयो ।

सो सम्मेलनमा मन्त्री डा महतले नेपाल धार्मिक सहिष्णुता र सांस्कृतिक बहुलताको एक अद्धितीय उदारहण हो भन्दै हाम्रो देशमा हिन्दू, बौद्ध, इस्लामलगायतका अन्य धर्मबीचमा ऐतिहासिक रुपमा सहिष्णुता कायम रहिआएको स्मरण गर्नुभयो ।

नेपाल सधैँ शान्तिपूर्ण सहअस्तित्व र धार्मिक तथा बहुसांस्कृतिक मान्यतामा विश्वास गर्छ भन्दै उहाँले भन्नुभयो – “प्रजातन्त्र, कानुनी शासन, बहुलवाद र शान्तिपूर्ण सहअस्तित्वका माध्यमबाट नै अन्तर्राष्ट्रिय समुदायका बीचमा पनि सहयोग, साझेदारिता र समन्वय कायम गर्न सकिन्छ भन्नेमा नेपालको विश्वास रहेको बताउनुभयो ।

एसिया यस्तो धार्मिक र सांस्कृतिक बहुलताको धनी क्षेत्र हो भन्दै उहाँले नेपालजस्तै इन्डोनेसियाको बालीले पनि एसियाली विविधतायुक्त समाजको प्रतिनिधित्व गर्ने बताउनुभयो ।

समाजका हरेकखाले चुनौतीको समाधानका साथै नागरिकको सामाजिक न्यायका लागि समावेशी प्रजातन्त्र र धार्मिक स्वतन्त्रता एवम् सहिष्णुता सशक्त औजार हुन् भन्दै नेपाल सधैँ धर्म वा अन्य कारणले हुने कुनै पनि प्रकारका आतङ्कवादको विरुद्धमा रहँदै आएको प्रतिबद्धता पनि सो अवसरमा उहाँले व्यक्त गर्नुभयो ।

नेपाल सधैँ शान्ति, प्रजातन्त्र र मानवअधिकारका पक्षमा रहेको भन्दै नेपालले हरेक नागरिकको मौलिक तथा नैसर्गिक अधिकारको सम्मानको पक्षमा रहेको उहाँले उल्लेख गर्नुभयो ।

भोलिसम्म चल्ने यस सम्मेलनमा इन्डोनेसियाली राष्ट्रपति र संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव कोफी अन्नानले पनि मन्तव्य राख्नुभएको थियो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका