Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सत्तापक्षले आन्दोलनका अगुवामाथि हत्याको योजना बनाएको एमालेको आरोप – Gaule Khabar

सत्तापक्षले आन्दोलनका अगुवामाथि हत्याको योजना बनाएको एमालेको आरोप

सत्तापक्षले आन्दोलनका अगुवामाथि हत्याको योजना बनाएको एमालेको आरोप

काठमाडौं,मंसिर २२-

प्रमुख विपक्षी नेकपा एमालेले ५ नम्बर प्रदेशको आन्दोलन दबाउन सत्ता पक्षले अपराधिक समूह परिचालन गरेर आन्दोलनका अगुवाको हत्या योजना बनाएको आरोप लगाएको छ ।

मंगलवार साँझ भैरहवामा उद्योग वाणिज्य महासंघका उपाध्यक्षमाथि गोली प्रहारको घटनालाई गम्भीरतापूर्वक लिँदै एमालेले सरकारसँग जवाफ माग्ने निर्णय गरेको छ ।

तराईका बिभिन्न जिल्लामा सत्तापक्षले निर्णय गरेरै आन्दोलनकारीको प्रतिकार गर्ने भन्नु र गोली प्रहार हुनुलाई संयोगमात्र मान्न नसकिने एमाले महासचिव ईश्वर पोखरेलले अनलाइनखबरलाई बताए ।

‘यो सामान्य घटना होइन, उद्योग वाणिज्य महासंघको अगुवाइमा प्रदेश विभाजन विरुद्ध विशाल प्रदर्शन भएलगत्तै उपाध्यक्षमाथि गोली प्रहार भएको छ’ एमाले महासचिव पोखरेलले भने ‘अन्यत्र पनि हाम्रा नेता कार्यकर्ता र आन्दोलनकारी जनतामाथि धम्की आएका छन् ।’

भैरहवाको गोली काण्डलगत्तै एमालेका शीर्ष नेताहरुले प्रहरी उच्च अधिकारीहरुसँग समेत सोधपुछ गरेको स्रोतले जनाएको छ ।

kulprasad-neupane

भैरहवा उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेमाथि गोली प्रहार गर्ने वीरेन्द्र यादवसँग प्रहरीले अहिले सोधपुछ गरिरहेको छ ।

मंगलबार भैरहवाको गल्लामण्डी क्षेत्रमा गोली चलेेको थियो । सिद्धार्थ उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्ष कुलप्रसाद न्यौपाने माथि गोली प्रहार भएपनि गोली न्यौपानेलाई लागेन ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मोटरसाइकलमा आएको दुई जनाको समूहले न्यौपानेमाथि गोली प्रहार गरेको थियो । गोली प्रहार गरेको आशंकामा सिपवा ५ का वीरेन्द्र यादव पक्राउ परेका छन् ।

एमालेले सत्ता पक्षबाट अघिल्लो दिनमात्रै उद्योग वाणिज्य महासंघका पदाधिकारीलाई प्रदेश विभाजन विरुद्ध कुनै प्रदर्शन नगर्न र सहभागी नहुन धम्की दिइएलगत्तै गोली प्रहार हुनुलाई गम्भीर रुपमा लिएको महासचिव पोखरेल बताउँछन् ।

प्रदेश नम्बर ५ को भेलाका सिलसिलामा नेपालगञ्ज पुगेका एमाले उपमहासचिव एवम् प्रदेश संयोजक बिष्णु पौडेलले पनि गोली काण्ड सत्तापक्षको योजनामा भएको र उनीहरुले अपराधिक गिरोह प्रयोग गरेर शान्तिपूर्ण आन्दोलनमा लाग्नेमाथि त्रास सिर्जना गर्न खोजेको आरोप लगाए ।

पौडेलले अनलाइनखबरसँग भने- ‘प्रधानमन्त्रीले ५ नम्बर प्रदेशका जनतालाई बितण्डाकारी र यहाँ चलेको आन्दोलनलाई गणतन्त्र बिरोधी भन्नु र आन्दोलनलाई समर्थन गर्नेमाथि गोली चलाउनुलाई हामीले गम्भीर रुपमा लिएका छौं । यस प्रकरणमा सरकार के भन्छ ? हामी जवाफ पर्खिरहेका छौं ।’

पाँच नम्बर प्रदेशको तराई र पहाड दुवैतिर सबै पार्टीका कार्यकर्ता र जनता आन्दोलित रहेको भन्दै पौडेलले जनतालाई बितण्डाकारी र गणतन्त्र बिरोधी भनेर सरकार दमन र अपराधिक गिरोहको सहारा लिने योजनामा रहेको आरोप लगाए ।

गोली प्रहार गर्ने व्यक्तिले कसको निर्देशनमा काम गरेको भन्ने साविती बयान दिइसकेकाले प्रहरी प्रशासनले यथार्थ सार्वजकि गर्नुपर्ने एमाले नेता पौडेलले बताए ।

उनले भने- शान्तिपूर्ण आन्दोलनकाविरुद्ध अपराधिक तत्व परिचालित गरिएको छ । सत्तापक्षले जति त्रास सिर्जना गरे पनि आन्दोलन रोकिँदैन ।

पाँच नम्बर प्रदेश विभाजन विरुद्ध बर्दिया, बाँके, दाङ, रुपन्देही, कपिलबस्तु र नवलपरासीका तराई भूभाग र पहाडका सबै जिल्लामा आन्दोलन भइरहेको एमाले पोलिटव्यूरो सदस्य दलवहादुर राना मगरले बताए ।

उनले आन्दोलनमा सहभागी हुन नदिन उद्योगी व्यवसायीहरुलाई अपराधिक समूहमार्फत धम्की दिइएको आरोप लगाए ।

तराई र पहाडका जनतालाई वितण्डाकारी र गणतन्त्र विरोधी भनेर सरकारले नै अपमान गरेको एमालेको आरोप छ । यही आडमा दमन गर्ने षडयन्त्र भइरहेको भन्दै सबै जिल्लामा आन्दोलनकारीलाई सतर्क गराइएको एमाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका