गाउँले न्युज, काठमाडौं । सोमालियामा कार बम विस्फोट हुँदा ७६ जनाको ज्यान गएको छ । ९० भन्दा बढी घाइते भएका छन् ।
बिहान राजधानी मोगादिशुको चेकपोस्ट नजिकै बम विस्फोट भएको हो । प्रत्यक्षदर्शीहरूले बताएअनुसार, सडक निर्माण कार्यमा जुटिरहेका टर्किस इन्जिनियरहरू नजिकै विस्फोट भएको थियो ।
सोमालियामा भोकमरी सुरु भएदेखि टर्की त्यहाँको मुख्य दाता हो । उसले भोकमरी सुरु भएको सन् २०११ देखि नै सहयोग बढाउँदै आइरहेको छ ।
घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको र केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या ७६ बाट बढ्ने अनुमान गरिएको छ ।
विस्फोटको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । अल-शाबब मिलिट्यान्सले पटक-पटक आक्रमण गर्ने गरेकाले उसैमाथि शंका गरिएको छ ।
अल-शाबब इस्लामिक विद्रोहीको एउटा समूह हो । यो अलकायदासँग पनि सम्बद्ध छ । जसले १० वर्षसम्म सशस्त्र संघर्ष चलाएको थियो । सन् २०११ मा यो समूहलाई राजधानीबाट निस्तेज पारिएको थियो । तर, अझै पनि यसले देशका अधिकांश भागमा नियन्त्रण जमाइरहेको छ ।
सोमालियाका राष्ट्रपति मोहम्मद अब्दुल्लाह फर्माजोले आक्रमणको भर्सना गर्दै “सोमालिया जनतालाई निरुत्साहित गर्न आक्रमण प्रयास भए पनि सोमालिया निर्माण कहिल्यै रोकिने छैन’, आक्रमणलगत्तै प्रतिक्रिया दिँदै भनेका छन् ।