काठमाडौँ, माघ २६-
सरकारले पदयात्रामा जाने पर्यटकलाई सुविधा पुग्ने गरि लुक्लादेखि सगरमाथा आधार शिविर र अन्नपूर्ण पदयात्रा क्षेत्रमा ‘फ्रि वाइफाई जोन’को योजना अघि बढाउने भएको छ ।
पर्यटन प्रवर्द्धनका साथै आपतकालीन अवस्थाको सूचना सम्प्रेषणलाई सजिलो बनाउन यस्तो तयारी थालिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । राजधानीमा बुधबार भएको ‘नेपाल ब्रोडब्यान्ड फोरम–२०१७’ को उद्घाटनपछि आयोजित पत्रकार सम्मेलनमा दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाले यस्तो जानकारी दिएका हुन् ।
‘हामीले सुरुमा लुक्लादेखि सगरमाथा आधार शिविर र अन्नपूर्ण क्षेत्रमा यस्तो सेवा दिने योजना अघि बढाएका हौं,’ उनले भने, ‘विस्तारै त्यसलाई अन्य क्षेत्रमा पनि सुरु गरिनेछ ।’ उनका अनुसार ‘ओकुमुरा मोडल’मा यी क्षेत्रमा इन्टरनेट सेवा विस्तार गरिनेछ । सस्तो अप्टिकल केबलमार्फत उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्न सकिने गरि अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियू) ‘अप्टिकल ट्रान्सपोर्ट’तर्फका पूर्व उपाध्यक्ष हारुको ओकामुराले विकास गरेको प्रणालीलाई ‘ओकुमुरा मोडल’ भनिन्छ ।
ओकुमुराले विकास गरेको प्रविधिमा आधारित चिसो एवं हिउ पर्ने स्थानमा समेत नबिग्रने अप्टिकल फाइबर सञ्जाल बनाई यी क्षेत्रमा वाईफाई सेवा विस्तार गरिने झाले जानकारी दिए । ‘हामीले ओकुमुरासँग यस विषयमा दुई चरण कुरा गरिसकेका छौं,’ उनले भने, ‘अरु सरोकारवालासँगको सहकार्यमा यसलाई अघि बढाइनेछ ।’ पदयात्रा हुने पर्यटकीय क्षेत्रमा कुनै आपतकालिन स्थिती आए सहजरुपमा सूचना आदानप्रदान गर्न यसले सहयोग गर्नेछ । यसैगरी पदयात्रा गर्दै पर्यटकहरुले तस्बिर, भिडियो, सूचना, सन्देश सम्प्रेषण गर्दा नेपालकै पर्यटन प्रवर्द्धन हुने झाले बताए । ‘पर्यटन बोर्डले पनि यसमा सहयोग गर्नेछ,’ उनले भने, ‘हामीले सुरुमा इन्टरनेट सेवा पुर्याउन सहयोग गरिदिन्छौं, त्यसले सेवाप्रदायकलाई सहयोग पुग्नेछ ।’
ओकुमुराले विकास गरेको अप्टिकल फाइबरलाई बिछ्याई रहनु नपर्ने भएकाले सजिलो हुने उनले जानकारी दिए । ‘अप्टिकल फाइबरको बाहिर स्टिलले सुरक्षित गरिएको हुन्छ, यो अरुजस्तो कच्चा हुँदैन,’ झाले भने, ‘अप्टिकल फाइबर पुर्याउन गाह्रो हुने रहेछ भने माइक्रो वेभ प्रविधिलाई पनि अपनाइने छ ।’ यस्तो सेवाका लागि प्राधिकरणले सहजीकरण र पूर्वाधार पुर्याउन सहयोग गरेपनि सेवा भने इन्टरनेट कम्पनीहरुले नै दिनेछन् ।