Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा युवा स्वरोजगार कोषको रकम उठ्न नसकेपछि प्रहरी परिचालन – Gaule Khabar

चितवनमा युवा स्वरोजगार कोषको रकम उठ्न नसकेपछि प्रहरी परिचालन

चितवनमा युवा स्वरोजगार कोषको रकम उठ्न नसकेपछि प्रहरी परिचालन

वसन्त ढुंगाना
चितवन, माघ १९ –

चितवनमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम समयमा उठ्न नसकेपछि प्रहरी परिचालन गरिएको छ ।
जिल्लाका चार वटा सहकारीले कोषबाट लगेको रकम समयमा नतिरेपछि प्रहरी लगाएर रकम उठाउन लागिएको युवा तथा साना व्यवसायी स्वरोजगार कोष चितवनका कार्यक्रम संयोजक रामचन्द्र लम्सालले जानकारी दिए । स्वरोजगार कोषको रकम गत आर्थिक वर्षभित्र सबै उठ्नु पर्ने भएपनि अझै २२ लाख रुपैयाँ उठ्न बाँकी रहेको लम्सालले बताए ।
‘असार महिनाभित्र कोषबाट लगेका सम्पूर्ण युवाले ऋण तिरिसक्नु पथ्र्यो । सात महिना पुग्दा पनि उठ्न सकेको छैन’ उनले भने, ‘हामीले प्रहरी परिचालन गरेर रकम उठाउन लागेका छौँ ।’ माघ १६ गते स्वरोजगार कोषको रकम लगेका युवालाई खोज्नको लागि प्रहरीसहितको टोलि माडीमा पुगेको उनले बताए । चितवनमा तीन वर्षको लागि युवा तथा साना स्वरोजगार कोषले १२ करोड रुपैयाँ युवाहरुलाई लगानी गरेको थियो ।
शुक्रनगर दुग्ध सहकारी संस्थाले सात लाख, गुराँस फूल बहुउद्देश्यीय सहकारी संस्थाले आठ लाख, शिवशक्ति बचत तथा ऋण सहकारी संस्था शिवनगरले छ लाख र एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले अझै ऋण चुक्त्ता गर्न सकेका छैनन् । अब एक महिनाभित्र सबै सहकारीले ऋण तिर्न नसके प्रशासनिक कारबाही गरिने उनले बताए । ‘अब पनि एक महिनाभित्र सबै रकम तिर्न नसके हामी जग्गा रोक्का गछौँ’ उनले भने, ‘सरकारी अन्य सेवा सुविधाबाट बञ्चित गर्छौं ।’
युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालन नियमावली २०६५ को नियम १२ मा कोष र बैंक, वित्तीय संस्था एवं सहकारी संस्थाबीच सम्झौता भए अनुसार साँवा र ब्याज नियमित रुपमा बुझाउनुपर्ने साथै तोकिएको समयमा ब्याज नबुझाएमा सहकारीको सञ्चालक समितिको अथवा किसानको जग्गा रोक्का गर्न पाउने व्यवस्था छ ।
सरकारले २०६९ सालबाट स्वरोजगार कोषको रकम सहकारीमा लगानी गर्न सुरु गरेको हो । तीन वर्षका लागि युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम चितवनमा १४ वटा सहकारी र दुई वटा बैंकमार्फत किसान तथा व्यवसायीलाई लगानी गरिएको थियो । गुराँस फूल बहुउद्देश्यीय सहकारीका अध्यक्ष हरिकुमार श्रेष्ठ सहकारीबाट ऋण लगेका किसानले समयमा ऋण भुक्तानी गर्न नसक्दा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम तिर्न नसकिएको बताउँछन् ।
‘स्वरोजगार कोषको रकम हामीले सबै गाईपालनमा लगाएका थियौँ । किसानहरुलाई गाईपालनबाट घाटा भयो । किसानले हामीलाई ऋण तिरेका छैनन्’ उनले भने, ‘किसानले हामीलाई रकम बुझाएनन्, हामीले पनि बुझाएनौँ ।’ गुराँस सहकारीले २५ लाख रुपैयाँ स्वरोजगार कोषको रकम लगेको थियो । अहिलेसम्म १६ लाखमात्र बुझाइएको श्रेष्ठले बताए । ‘हामीले कोषबाट रकम लगेर १० जना किसानलाई लगानी गरेका थियौँ’ उनले भने, ‘पाँच जना किसानले सबै रकम चुक्त्ता गर्नु भयो । पाँच जनाले तिर्नु भएको छैन ।’
शुक्रनगर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष छविलाल सापकोटाले एक महिनाभित्र तिर्न बाँकी सात लाख रुपैयाँ चुक्ता गर्ने बताए । युवा स्वरोजगार कोषको रकम चुक्त्ता गर्नको लागि किसानहरुसंग पैसा उठाउन लागेको उनले बताए । ‘हामीले २६ लाख रुपैयाँ स्वरोजगार कोषबाट ऋण लिएका थियौँ । त्यसबाट १६ जना किसानमा लगानी ग¥यौँ,’ उनले भने, ‘१२ जना किसानले अझै सात लाख तिर्न बाँकी छ ।’
‘तीन वर्ष अगाडि शुक्रनगरमा गाई पाल्ने अभियान खुबै चलेको थियो । हामीले गाईपालन व्यवसायमा लगानी ग¥यौँ’ उनले भने, ‘गाई पालेका किसानहरुले ऋण तिर्न सकेनन् ।’ कोषले बेरोजगार युवालाई बिनाधितो सहुलियत ब्याजदरमा न्यूनतम प्रतिव्यक्ति ५० हजारदेखि दुई लाखसम्म कर्जा प्रवाह गर्ने व्यवस्था गरेको छ । त्यस्तो कर्जा बढीमा १२ प्रतिशत ब्याजदरमा प्रवाह गर्नुपर्छ । अहिले भने सरकारले युवा स्वरोजगार कोषको रकम युवाले बिनाधितो सात प्रतिशतमा प्राप्त गर्ने मापदण्ड बनाएको छ ।
नेपाल सरकारले २०६५ सालमा स्वरोजगार कोषको स्थापना गरेको हो । कोषको रकम कम्तीमा तीन प्रतिशत गरीब किसानलाई लगानी गर्नुपर्ने युवा तथा साना स्वरोजगार कोष चितवनका कार्यक्रम संयोजक लम्सालले बताए । सहकारी र बैंकमार्फत जिल्लामा उद्योगतर्फ झोला र बाँसका सामग्री निर्माण, कृषितर्फ तरकारी, माछापालन, मौरीपालन, बंगुरपालन, धानखेती, व्यवसायतर्फ किराना, व्यूटीपार्लर र होटेलमा स्वरोजगार कोषको रकम लगानी भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका