डोल्पाबाट जुम्ला आउँदै गरेको भे १ त ६८४२ नंको ट््याक्टर आज बिहान दुर्घटना हुँदा ३३ वर्षीय लङ्कबहादुर रोकायाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटना जुम्ला गोठीचौर गाविसस्थित कालो साँघु भन्ने स्थानमा भएको हो । मृतक डोल्पा रिमी गाविस– ५ झ्याकोट गाउँ निवासी रहेको स्थानीय व्यापारी प्रेमबहादुर बोहोराले जानकारी दिनुभयो ।
बोहोराका अनुसार रोकायाका छवर्षीय छोरा निर्दोष बेपत्ता छन् । रोकाया १४ क्विन्टल जटामसीको ट्र्याक्टरमा बोकेर डोल्पा चाँैरीकोटबाट जुम्लाका लागि बिहानै ३ः०० बजे हिँडेको उनकै मीतभाइ नरबहादुर रोकायाले डोल्पाबाट जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले दुर्घटनाग्रस्त ट्र्याक्टर सडकभन्दा एक सय मि तल खस्दा बाबु लङ्कको शव भेटिए पनि छोरा निर्दोष जवा नदीमा बेपत्ता भएको हुन सक्ने अनुमान गरिएको बताएको छ ।
दुर्घटनामा रिमी– ८ डोल्पाकै १७ वर्षीय मीरा बुढा गम्भीर घाइते भएको र उनलाई उपाचारार्थ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बेपत्ता बालकको खोजी भइरहेको छ । ट्र्याक्टर चालक फरार रहेकाले घटना कसरी भएको हो भन्न थाहा हुन नसकेको जनाइएको छ ।
बिदाका समयमा जडीबुटी लिएर तल झर्न खोजेका रोकाया महादेव निमावि थापागाउँ डोल्पामा निमावि कार्यरत शिक्षक थिए । रासस