काठमाण्डौ । प्रदेश नम्बर १ का मुख्मन्त्री भीम आचार्यले राजीनामा दिएको छ । प्रदेश १ को प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै आचार्यले आज सोमवार पदबाट राजीनामाको घोषणा गरेको हो । उनले विश्वासको मत लिने कार्यक्रम रहेकोमा विश्वासको मतसम्बन्धी प्रस्तावलाई मतदानमा लैजानुअघि नै राजीनामा दिएको हो । आचार्यले विश्वासको मत नपाउने स्पष्ट थियो ।
आचार्य गएको भदौ १० गते मुख्यमन्त्री पदमा नियुक्त भएको थियो । एमाले विभाजन भएपछि प्रदेश १ मा सम्भावित विभाजन रोक्न तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर आचार्य एमालेबाट एकल बहुमतको मुख्यमन्त्री बनेका थिए । तर १० जना सांसद एमाले छाडेर एकीकृत समाजवादीमा गएपछि आचार्य अल्पमतमा परे ।
९२ सदस्यीय प्रदेश सभामा एमालेसँग सभामुखसहित ४१ सांसद छन् । त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, ,जनता समाजवादीका तीन जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाको एक जना सांसद रहेका छन् ।