गाउँले न्युज, सोलुखुम्बु । सोलु जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गरेको यो आयोजना २३.५ मेगावाट क्षमताको छ । सरकारले अध्ययन गरेर निजी क्षेत्रलाई निर्माण गर्न दिएका ६ आयोजना (सुपर सिक्स) मध्येको एक यस आयोजना निर्माण सकेर प्रसारणको तयारीमा छ।
विद्युत् प्राधिकरण र नेपाल विद्युत् विकास विभागका प्राविधिक आएर परीक्षण गरी पास गरेपछि नियमित प्रसारणमा जाने आयोजनाको तयारी छ। केन्द्रीय प्रसारण लाइनमा जोड्ने सोलु कोरिडोर निर्माणको काम ढिला भएकाले वैकल्पिक रूपमा ३३ केभीए प्रसारण लाइन लाम्माने–ओखलढुंगा–बुइपा–गाइघाट पठाउने योजना छ।
सन् २०१० मा ऊर्जा मन्त्रालयको अनुमतिपछि सन् २०११ बाट प्रारम्भिक काम सुरु गरी २०१४ बाट निर्माणको काम थालेको आयोजनाले सन् २०१८ भित्र निर्माण पूरा गर्ने लक्ष्य राखेको थियो। भूकम्प तथा आयोजना क्षेत्रको भौगोलिक अवस्थाका कारण निर्माणको काम एक वर्ष ढिला भएको आयोजनाका प्रबन्धक मार्कण्डेय न्यौपानेले बताए। पूर्णस्वदेशी लगानीमा निर्माण भएको आयोजनाको लागत ४ अर्ब ४० करोड रुपैयाँ छ।
खोलाको पानीको बहावमा आधारित आयोजनाको तल्लो भागमा १ सय ७० मिटर लामो टनेल छ भने टनेलभित्र हाइ प्रेसर पाइप बिच्छ्याएको छ। कुल ४.३ किलोमिटरको पाइपमध्ये तीन सय ९ मिटर लो प्रेसर र चारसय मिटर हाई प्रेसर संरचनामा पर्ने आयोजनाका साइड प्रशासन प्रमुख बद्रीमान श्रेष्ठको भनाइ छ।
सोलु खोलाको पानी नियन्त्रण गर्न ४.२ मिटर उचाइ र २६ मिटर लम्बाइको बाँध निर्माण भएको छ। बाँधको पानी आवश्यक परेको समयमा रोक्न र बढी हुँदा खोल्न तीन मिटर लामो दुईवटा गेट भएको ‘स्लुइस’ निर्माण गरिएको छ। २.५ मिटर ब्यास र १.९ मिटर उचाइका पेनस्टक पाइप छन्। आयोजनामा १.२ मिटर उचाइ र ४.३ मिटर लम्बाइका तीनवटा इन्टेक गेट बनाइएको छ।
आयोजनाको कन्स्ट्रक्सनको काम ‘सीई कन्स्ट्रक्सन’ले गरेको हो। आयोजनाका लागि लक्ष्मी बैंकको नेतृत्वमा आठवटा बैंक र एक जलविद्युत् तथा विकास कम्पनीले ७५ प्रतिशत लगानी गरेका छन्। २५ प्रतिशत कम्पनीको इक्विटी रहेको छ ।
sourse:annpurn