-नरेन्द्र राई
जीवनमा घाम बनी
तिमी उदाएपछि-
मन वास्प बनी उडिरहेछ।
चोप्रा र हेल्कु डाँडाबाट
थुम्काथुम्का प्रेमिल बादल !
बादलको एकफेर समाएर
उड्नु तिमी
मुन्दिली डाँडाभन्दा नि
माथिमाथि मनको आकाशमा
त्यहाँ मेरा बादलहरुलाई –
तिम्रा निम्ति मात्र भनेर
जुनतारा लुकाउन दिएकोछु।
सल्लाको पातजस्तै
तिम्रो कपालहरुमा
मेरा बादलहरुले जुनतारा उनिदिएपछि
तिमी ज्युब्यु गाउँ फर्किदा-
झरीभै आउनु
खडेरी परेको मकैको बारीजस्तै
यो दिललाई बेस्सरी रुझ्नुछ
र
बग्दैबग्दै जानुछ तिमी र म
दुधकोशी जस्तै जिन्दगी !
बग्दाबग्दै-
मन पगालेर बनाउनुछ
एउटा प्रेमसागर !
अनि
किनारैकिनार बालुवामा लेखिदिनुछ।
तिम्रो नामको कविता
राम्रीसफूल !
नरेन्द्र राईलाई फेसबुकमा भेट्न यहाँ क्लिक गर्नुहाेस् ।