ईगर्भनेन्स र ईपेपर राम्रो नागरिकका लागि राम्रो छ तर प्राविधिक जनशक्तिको अभाब

ईगर्भनेन्स र ईपेपर राम्रो नागरिकका लागि राम्रो छ तर प्राविधिक जनशक्तिको अभाब

( हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारीको काम कार्य सम्हाल्नु भएका डा. कृष्ण बहादुर घिमिरेको जन्म वि.सं. २०२२ साल साउन ११ गते संखुवासभा जिल्लामा भएको हो । उहाँले जनप्रशासनमा स्नातकोत्तर त्रिभुवन विश्वविद्यालयबाट गर्नुभएको छ भने दक्षिण कोरियाको सिउल नेशनल युनिभर्सीटीबाट आईटी पोलिसीमा सन् २००८ फेबूअरीमा विद्यावारिधी गर्नुभएको छ । वि.सं. २०५३ सालमा निजामति सेवामा शाखा अधिकृतको रुपमा प्रवेश गर्नुभई वि.सं. २०६९ मा उपसचिव हुनुभएको हो । उहाँ सरल र मृदुभाषी हुनुहुन्छ भने नीति नियम र प्रशासनिक काममा दक्ष मानिनुहुन्छ । उहाँसँग जिल्लाको प्रशासनिक, विकासे तथा अन्य समसामयिक गतिविधि बारेमा गरिएको कुराकानी संक्षिप्त रुपमा प्रस्तुत गरिएको छ । सं. )

१. हुम्ला जिल्लाको विकास प्रशासनको अवस्था के कस्तो रहेको छ ?

हुम्ला जिल्लाको विकास प्रशासनको अवस्था हेर्दा अन्य जिल्लाहरुको दाँजोमा पर्याप्त बजेट भइकन पनि सदुपयोग कम हुनु, स्थानीयस्तरमा जनचेतना तथा विकासका गतिविधिहरुको जानकारी कम मात्रामा हुनु पहिलो कारण हो भने विकासका काम कारवाहीहरु परम्परागत रुपमा हुनु र त्यस्ता गतिविधिहरु स्थानीय आवश्यकतालाई सम्बोधन गर्न नसक्ने कारणले गर्दा वर्षेनी जिल्लामा उपलब्ध हुने बजेट बालुवामा पानी खन्याए झैँ भएको पाइन्छ । यसलाई प्रभाबकारी बनाउनका लागि योजनाको स्थलगत तथा अत्यावश्यक योजनाहरुलाई छनौट गरी व्यवहारिक हुनु पर्छ नकि कामका लागि काम, योजनाका लागि योजना छनौट गरी भागबण्डा गर्ने वृत्ति, प्रवृत्ति र संस्कारलाई कम गर्नु पर्ने देखिन्छ ।

यसैले पनि जिल्लाका धेरै जसो योजनाहरु उपभोक्ता मार्फत काम सञ्चालन गरीने भएकाले काजगी रुपमा सम्पन्न तर स्थलगत रुपमा केही पनि नभएको अवस्था देखिएको छ । यसका लागि सबै सरोकारावाला निकायहरुबाट अनुगमन, मुल्याङ्कन, छनौट, समन्वय र आवश्यकता जस्ता विविध कुराहरुलाई ध्यान दिनुपर्छ ।

२. हुम्ला जिल्लाका विकासे तथा अन्य सरकारी कार्यालयहरुका प्रमुखहरुलाई कुनै पनि कामका लागि एक हप्ताभन्दा धेरै जिल्ला बाहिर बस्ने कानुनी प्रावधान भए पनि यहाँका कार्याल प्रमुखहरु महिनौंसम्म हराउने प्रचलन रहेको छ । यसलाई के कसरी रोक्न सकिन्छ ?

हो कानुनी प्रावधान अनुसार सम्बन्धीत विभागीय प्रमुखको स्वीकृति लिएरु ७ दिनसम्म जिल्ला बाहिर बस्न पाउने व्यवस्था भए पनि धेरै समय बस्ने गरेका छन् । यो गलत संस्कार र प्रवृति हो तापनि दुर्गम क्षेत्रमा यो संस्कृतिलाई पचाउने गरिएको छ ।

नेपालको निजामति क्षेत्रमा एक पटक सरकारी जागिरमा नाम लेखाएपछि यस्ता अनेकौं प्रकारका प्रवृत्तिहरुमध्येको यो पनि एक हो । कतिपय अवस्था काम नगरी दुर्गम भत्ता खाने, काम नगरी नम्बर पकाउने, फर्जी हाजिरी मिलाएर शहरतिर बस्ने कामहरु भएका छन् तर हामीले एकैपटक दण्डात्मक रुपमा जानुभन्दा पनि विभिन्न समयम हाजिर रजिष्टर चेकजाँच गरेर, विभागीय कारवाहीका लागि पत्रचार गरेर सचेत बनाउने काम गरेका छौं । यस्ता प्रकारले सचेत बनाउँदा बनाउँदै पनि अटेरी गरेमा हामीले ऊ कुन मितिमा सिमकोटमा आएको हो । कुन कस्तो अवस्था के कति दिनको कित्ते अर्थात फर्जी हाजिरको चेकजाँच गर्ने काम गरेका छौं र गर्ने तयारीमा रहेका छौं । केहीलाई सचेत गराउनका लागि कारवाहीको प्रक्रिया पनि अगाडि बढाएका छौं । यी कुराहरुबाट पनि सचेत भएनन् भने कडा कारवाही पनि गरिने छ ।

यस्तो प्रवृत्तिले एकातिर उनीहरुले सरकारलाई ठगेको छन् भने अर्कोतिर स्थानीय जनताहरु विभिन्न सेवा सुविधाहरुबाट वन्चित भएका छन् ।

३. नेपाल सरकारले वि.सं. २०६४ पछि सूचना ऐन र नियमावली ल्याएको छ । जसमा कुनै पनि नागरिकले चाहेको र खोजेको सूचना अनिवार्य उपलब्ध गराउनु पर्छ तर हुम्लाको सन्दर्भका नत कुनै कार्यालयहरुमा सूचना अधिकारीहरु छन्, न त सूचनाको पहुँच ? यसलाई सहज बनाउन के कस्तो काम गर्न आवश्यक छ ?

नेपाल सरकारले सूचनाको बारेमा ऐन, नियम बनाएर केही विशिष्ट अवस्था बाहेक कुनै पनि सूचना गोप्य राख्नुपर्ने कुरा छैन तापनि कतिपय नीतिगत र व्यावहारिक तालमेल नमिल्दा यस्तो भएको हो । यसलाई सरल र सहज बनाउनका लागि नागरिक बडापत्र, उजुरी पेटीका, सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी तथा विभिन्न समयमा गोष्ठी, अन्तरक्रिया, जानकारी तथा समीक्षा गर्नु पर्ने प्रावधानहरु रहेको छ । यसलाई अझै जनस्तरसम्म पु–याउनका लागि पनि स्थानीय जनताहरुले चासो देखाउनु पर्ने हुन्छ । उनीहरुले चाहेको जानकारीहरु नपाएमा सम्बन्धित कार्यालयका कार्यालय प्रमुख र त्यहाँ पनि सुनुवाई नभएमा जिल्ला प्रशासन कार्यालयमा जानकारी तथा उजुरी गर्ने काम भएका एकातिर सूचनाको पहुँचमा सरल तथा सहजता आउने छ भने अर्कातिर प्रशासनिक, विकासे तथा अन्य कामहरुम पारदर्शिता, जवाफदेहीता र उत्तरदायित्व बहन गर्ने संस्कारको विकास हुन्छ ।

जिल्लाका सबै कार्यलयका प्रमुखहरुलाई प्रत्येक महिनाको ५ गते हुने कार्यालय प्रमुखहरुको नियमित बैठकमा सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी लगायतका कुराहरुम छलफल गरी कार्यान्वयनका लागि आवश्यक पहल गर्नेछु ।

४. विभिन्न सरकारी कार्यालयहरुले चौमासिक रुपमा आफ्ना गतिविधिहरुलाई अनिवार्य रुपमा सार्वजनिक गर्ने व्यवस्था हुन सेकेको छैन ? यसबारे के भन्नुहुन्छ ?

भर्खरै भएको क्षेत्रीय सुरक्षा गोष्ठीमा पनि यी कुराहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने निर्देशन भएको छ । विभिन्न सरकारी तथा अन्य निकायहरुले सञ्चारका माध्यमहरुबाट जानकारी गराउनुका साथै स्थानीयस्तरमा पनि यस्तो काम गर्ने आवश्यक रहेको छ । यसको उदाहरण स्वरुप जिल्ला प्रहरी कार्यालय लगायत केही कार्यालयहरुले प्रयास गर्नु सकरात्मक काम मान्न सकिन्छ ।

हाम्रो परम्परागत प्रशासनिक प्रणालीमा सुधार ल्याउन खोजीए पनि पुरानो सोच, प्रविधिको कम जानकारी हुनु र अन्य कारणले यस्ता कामहरुमा बाधा पुगको पाइन्छ ।

५. जिल्ला प्रशासन कार्यालय हुम्लामा हालसम्म दुई सयभन्दा धेरै गैससहरु दर्ता भएका छन् तर यिनीहरुमा केही मात्रै सक्रिय छन् तर सुशासन, शान्ति, पारदर्शीता, जवाफदेहीता ताथ सचेतनाको कुरा गर्ने तर आफुभित्रै पारदर्शी छैनन् ? यसको खास कारण के हो ?

गैससहरु सरकारका सहयोगी हुन् तर प्रतिस्पर्धी हैनन् तर पनि केही राम्रा कुराहरुलाई छाडेर गर्ने हो भने उनीहरु आफै पनि पारदर्शी छैनन् । यसका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, सञ्चारकर्मी र स्थानीय जनताहरुले उनीहरुले गर्ने काम, त्यसको बजेट र दोहोरोपन हटाउनका लागि सरकारी कार्यलयमा टाँस गरिएको नागरिक बडापत्र जस्तै जानकारी गर्ने गतिविधिहरु दिन दबाब दियौं भने उनीहरु पनि वाध्य भएर पारदर्शी हुने थाल्ने छन् ।

६. गैससले जिल्लाको विकास के कस्ता राम्रा कामहरु गरेका छन् ?

गैससहरु सरकारका सहयोगी हातहरु हुनाले प्रत्यक्ष र परिणाममुखी कामहरु पनि धेरै भएका छन् । सचेतनाको क्षेत्रमा उल्लेख्य काम भईकन पनि यसको मापन गर्न गाह्रो भएको छ । विभिन्नस्तर र क्षेत्रमा कृषि, वन, वातावरण, सहकारी, आय आर्जन तथा गरीबी कम गर्ने काममा पनि सहयोग पुगेको छ तापनि समन्वयको अभाबले धेरै कार्यक्रमहरुमा दोहोरोपन देखिएकाले यसलाई सुधार्न आवश्यक छ ।

सचतनाको कामका साथै विभिन्न प्रकारका अत्यावश्यक औजारहरु तथा भौतिक निर्माणको काममा पनि सहयोग गर्न सकेमा लामो समयसम्म यसले जनताहरुलाई लाभ हुने छ ।

७. तपाई हुम्ला जिल्लाको लागि अख्तियार प्रमुखको पनि जिम्मेवारी सम्हाल्नु भएको छ, जिल्लाको अनियमतिता र भष्ट्चारको अवस्था के कस्तो र यसलाई कम गर्न के गर्नुपर्ला ?

हुम्ला जति अनियमितता भयो । भष्टचार भयो भन्ने हल्ला जस्तो उजुरी परेको छैन । हालसम तीन वटा उजुरी परेको छ ।

एक अलि गम्भीर खालको उजुरी भएको हुनाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको छ भने अर्को छानविनको प्रक्रिया रहेको छ र एक सामान्य अवस्थामा रहेको छ । तर पनि हुम्ला जिल्लाको अवस्था हेर्दा नीतिगत अनियमितता र भष्ट्चारका गतिविधिहरु धेरै भए पनि जानकारी र विभिन्न कारणले यस्ता कुराहरुलाई कम गर्ने हामीले सक्दो प्रयास गरेको छौं तर पनि कतिपय अवस्थामा व्यक्तिगत  स्वार्थका लागि अरुलाई उचालेर लाभ दिने र धम्की दिने प्रवृत्ति पनि देखा परेको छ । यसलाई कम गर्न जनताहरु पनि जागरुक हुन आवश्यक देखिन्छ । हुम्लामा यस्ता उजुरीहरु कम मात्रामा पर्ने गरेका छन् ।

८. अहिले प्रमुख जिल्ला अधिकारीले पनि निजामति कर्मचारीहरुलाई एक कार्यालयबाट अर्को कार्यालयमा काग तथा सरुवा गर्ने अधिकार प्रत्यायोजन गरिएको छ । यो अधिकारको के कस्तो प्रयोग गर्नु भएको छ र यसले के कस्तो प्रभाब पार्ने देखिन्छ ?

यो प्रावधान बारेमा भर्खरै सर्कुलर पुगेको छ । यसले जिल्लाको लागि राम्रो सन्देश दिने विश्वास गरिएको छ । हामीले भर्खरै गाविसहरुमा सचिव नहुँदा कामकाजहरु सुचारु गर्नका लागि यो सर्कुलरले सहयोग गरेको छ । मन्त्रालय र विभागले सरुवा बढुवा गर्ने समय बाहेक अरु महिनामा कुनै पनि कार्यलयमा समस्या प—यो भने तत्कालका लागि र्दीर्घकालीन र अल्पकालीन समयमा लागि जनशक्ति परिचालन गर्न सकिन्छ । यसले गर्दा राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई दण्ड गर्न सजीलो बनाएको छ ।

९. हिमाली जिल्ला हुम्लामा भारतीय नाका बन्दीले के कस्तो असर पारेको छ ?

ठूलै असर पारेको छ । बजारभाउ ३० प्रतिशतभन्दा धेरै बढेको छ । दैनिक उपभोग्य सामानदेखि विकासका लागि चाहिने सामाग्रीहरु आपूर्ति गर्न गाह्रो भएको छ । जिल्लाको एक मात्र हवाई सेवा पनि इन्धन नहुँदा केही अवरोध भएको छ ।

१०. हुम्लामा चामलको राजनीति धेरै छ ? जिल्लाको प्रशासनिक निकायको प्रमुख पनि हुनुहुन्छ, तपाईको दैनिक समय प्रशासनिक कामभन्दा चामल वितरणमा धेरै समय खर्च हुन्छ ? सहुलियतको चामललाई पनि अवैध मदिरा उत्पादनमा प्रयोग भएको पाइन्छ । यसलाई कम गर्न के गर्नुपर्ला ?

हुम्ला जिल्ला नेपालको दोेस्रो ठूलो जिल्ला भैकन पनि कुल भूभागको १ प्रतिशत भूभागमा खेती गरिन्छ । यो वर्ष त लामो समयसम्म खडेरी परेकाले सबैको आशा चामलतिर हुनु अस्वभाविक पनि हैन । यसको प्रमुख कारण समान वितरण प्रणालीमा समस्या हो । यदि हामीहरुले पछिल्लो समय सबैले पाउन भनेर गाविस कोटा र कुपन कार्डमा पनि चामलको कोटा बढाएका छौं । यसले टाठाबाठाभन्दा पनि सर्वसाधारणहरु चामल धेरै पाएका छन् । भर्खरै नेपाल सरकारले हुम्ला जिल्लालाई थप १० हजार क्वीन्टल चामल थपेको छ । छिट्टै जिल्ला खाद्य व्यवस्थापन समितिको बैठक बसी रासन कार्ड र गाविस कोटालाई थप गरी सबैले चामल पाउने व्यवस्था गरिने छ ।

वितरीत चामलको ३० प्रतिशत अवैध घरेलु मदिरा उत्पादन हुने आँकडा देखिन्छ । यसलाई कम गर्न भर्खरै विभिन्न प्रकारका सचेतनामुलक गतिविधिहरु सञ्चालन गरेका छौं र केही मात्रामा यो काम कम भएको छ । यसलाई सकभर उपचारात्मक विधिबाट काम गरिनेछ । यसैले होटल तथा पसलहरुको मदिरा बिक्री वितरण गर्न पाउने इजाजत पत्रहरुको चेक जाँच गर्न लागेका छौं ।  आवश्यक परेमा स्थलगत र प्रत्यक्ष कारवाही पनि गरिने छ ।

११. जिल्लाको शान्ति सुरक्षाको अवस्था कस्तो रहेको छ ?

अन्य जिल्लाको तुलनामा हुम्ला जिल्लाका शान्त जिल्लाको रुपमा लिइएको छ । गाउँघरमा हुने लेनदेन लगायतका केही ठाडो निवेदन बाहेक अरु खासै त्यस्ता घटनाहरु घेटका छैनन् । सदरमुकाम सिमकोटमा केही मापस र केही जुवातासबाट हुने घटना बाहेक अरु त्यस्ता छैनन् । ती घटनाहरु पनि धेरै जसो अज्ञानताको कारण भएका छन् । सम्बन्धीत निकायहरुले यसबारे सचेतना जगाउन सकेमा अझै सुधार आउने देखिन्छ । यसमा सरकारले ध्यान दिन आवश्यक देखिन्छ ।

१२. हुम्ला जिल्लालाई चाहिने जनशक्तिको के कस्तो अवस्था छ ? के यो जनशक्तिले हुम्लाका जनताहरुलाई सन्तोषजनक सेवा प्रवाह गरेका छन् त ?

जिल्लामा कार्यरत विभिन्न क्षेत्रका जनशक्तिहरु कमजोर छैनन् । तर पनि कतिपय अवस्था हुम्लामा विभिन्न अवस्थाले दुर्गम क्षेत्र आउने भएकाले पनि जनतालाई सेवा प्रवाह गर्ने काममा कहिले काँही असजीलो अवस्था भए पनि समष्टिगत रुपमा सन्तोषजनक अवस्था नै छ ।

कतिपय कामहरु व्यावहारिक र सैद्धान्तिक अवस्थालाई ध्यान दिनु पर्दा केही अप्ठयारो महसुुस हुने गरेको भए पनि त्यस्तो केही कुरा छैन । प्रशासनिक जनशक्ति सन्तोषजनक अवस्थामा रहे पनि प्राविधिक जनशक्तिको खाँचो भने धेरै छ ।

विभिन्न अवस्था र कारणले सरकारका विभिन्न निकायहरुबाट विनियोजीत भएको बजेट काजगी रुपमा गाउँ गाउँमा पुगेको देखिए पनि पाउनुपर्ने वर्ग, समुह, क्षेत्र र स्थानमा नपुगेको कुराको व्यापक हल्ला भए पनि प्रक्रियागत र कानुनी साक्षरताको अज्ञानताले त्यस्ता कुराहरुको उजुरी पर्ने गरेको छैन तापनि यस्ता कुराहरुलाई हामी सबैले खबरदारी, निगरानी, खोजी गर्नु पर्छ । यो आजको आवश्यकता पनि हो । हामी जो कोही राष्ट्सेवक कर्मचारीहरु जनताको सेवा गर्न आएका हौं । त्यस्तो गर्नेहरुलाई कारवाही हुनुपर्छ र गर्नुपर्छ ।

१३. हाल जिल्ला प्रशासन कार्यालय हुम्लाको जनशक्ति कस्तो अवस्थामा रहेको छ ?

जिल्ला प्रशासन कार्यालय हुम्लामा साधारण जनशक्तिको कमी छैन । कार्यालयलाई चाहिने पर्याप्त जनशक्ति छ तर पनि राष्ट्यिस्तरमा नै ईगर्भनेन्स र ईपेपरको अवधारण विकास हुँदै गएको अवस्थामा चाहिने मात्रामा प्राविधिक सामानहरु भएर पनि प्राविधिक जनशक्तिको अभाबमा केही समस्या हुने गरेको छ भने अर्कातिर जिल्ला प्रशासन कार्यालय हुम्लाले पनि कम्प्युराजइज नागरिकताको प्रमाणपत्र दिने सुविधा गरेकाले केही समस्या देखिएको छ । यसका लागि विभिन्न सरकारी कार्यालयहरुबाट सहयोग लिएर काम चलाइएको छ । खाली भएका दरबन्दीहरु पनि पुरा हुन थालेका छन् । प्राविधिक जनशक्तिलाई पनि थप गर्ने प्रक्रिया चलेको छ ।

सकेसम्म हुम्ली जनताहरुले छिटोभन्दा छिटो सेवा पाउन भनेर तत्काल सेवा प्रवाह गर्ने नीति अपनाइएको छ । अझै यी सेवाहरु गाउँस्तरसम्म पुगोस् भनेर हुम्ला जिल्लाको सर्केगाडमा छिटै इलाका प्रशासन कार्यालय स्थापना हुने तयारी रहेको छ ।

१४. तपाईको जिम्मेवारी जिल्लाको प्रशासन प्रमुख, अख्तियारको प्रमुख, सुरक्षा समितिको अध्यक्ष लगायत विभिन्न जिम्मेवारीमा हुनुहुन्छ । यसैले जिल्लाको शान्ति सुरक्षा र अमनचयन स्थापना गर्नका लागि मिडियाले के कस्तो हुनुपर्छ ?

हामीहरु जुन अवस्था, स्थिति र जिम्मेवारीमा छौं । त्यसलाई आत्मसात गरेर इमान्दारीका साथ लाग्नु पर्छ । जुनसुकै कामका लागि एकल कार्यभन्दा पनि सामुहिक र सबैको सहभागीतामा काम गर्दा सफल र राम्रो हुन्छ । अझ त सबै वर्ग, क्षेत्र, पेशा र अवस्थालाई खबरदारी गरी सचेत बनाउने काम मिडियाको हो । यसैले पनि मिडियालाई चौथो अङ्ग भन्ने गरिन्छ ।

मिडियाकर्मीहरुले पनि वास्तविकता बुझी प्रकाशन प्रसारणमा ल्याउनुपर्छ । यो मिडियाकर्मीको धर्म र कर्म पनि हो । यसैले पनि प्रशानिक, विकासे तथा अन्य गतिविधिहरुमा खबरदारी गर्नु, सत्य, तथ्य, निष्पक्ष, यथार्थ समाचार सम्प्रषेण गरी समाजलाई सचेत गराउनु पर्छ । त्यसैले मिडिया र मिडियकर्मी कुनै दलको कार्यकर्ताका रुपमा नभएई एक मर्यादीत पेशाका रुपमा अपनाउन सकेमा अवसर र सम्भावानाहरु धेरै रहेका छन् ।

१५. अन्त्यमा केही भए, यो पत्रिका मार्फत केही भन्नु छ कि ?

जिल्लाको समष्टिग विकासका लागि सबैले हातेमालो गरेर जाऊँ भन्ने अनुरोध सबै छ । गरे नहुने केही छैन । यसैले शुद्ध मन र सकरात्मक सोचले अगाडि बढौं । सबैसँग यही अनुरोध छ । धन्यवाद ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका