बेमौसमी तरकारी खेतीका लागि हुम्लामा एक हजार पाँच सय ग्रीनहाउस निर्माण भएका छन् । यसबाट वार्षिक करीब तीन लाख केजी तरकारी उत्पादन भइरहेको छ ।
हुम्लाका हिमाली जिल्ला भएकोले वर्षको ७ महिना जग्गाहरु खाली रहने हुनाले पछिल्लो समय ग्रीनहाउस बनाएर तरकारी खेती गरिने प्रचलन बढ्दै गएको छ । यसबाट पारिवारिक रुपमा स्वास्थ्य तथा पोषणमा सुधार आउनुका साथै आम्दानी पनि बढ्दै जाँदा कृषि पेशा पनि आम्दानीको माध्यम बन्दै गएको जिल्ला कृषि विकास कार्यालय हुम्लाका बागबानी अधिकृत भक्त बहादुर रोकायाको स्वीकारोक्ती रहेको छ ।
हिमाली जिल्ला हुम्लामा वर्षको करीब सात महिना जग्गा खाली हुने समयमा कुनै पनि खेतीपाती हुँदैन तर पछिल्लो समयमा विभिन्न प्रकारका कृषि प्रविधिहरु प्रयोग गरेर मौसमी तथा बेमैसमी कृषि कामहरु भएका छन् । यस्तै बेमौसमी कृषि प्रविधि अन्तर्गत हुम्लामा पनि सरकारी तथा गैरसरकारीतर्फबाट ग्रीन हाउस बनाउने काम एक सफल प्रविधि मानिएको छ ।
हालसम्म हुम्लाभरी एक हजार पाँच सय ग्रीन हाउस निर्माण भएका छन् । यसबाट बेमौसमी समयमा हुम्लामा तीन लाख केजी तरकारी उत्पादन भएको स्थलगत अध्ययनले थाहा भएको छ । यो कामले पारिवारिक रुपमा तरकारी खाने चलन बढेको छ भने गाउँघर सबैतिर तरकारी खेतीबाट पनि राम्रो आम्दानी हुने गरेको छ । यसबाट प्रति केजी सागको सालाखाला ५० रुपैंयाले बेच्दा जिल्लाम एक करोड ५० लाखभन्दा धेरै आम्दानी हुने गरेको छ । ग्रीनहाउस निर्माणका लागि न्यूनतम ५० हजार लाग्ने गरेको छ ।