चितवन, पुस २५–
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसंगको समझमदारीमै संविधान संशोधनको प्रस्ताव संसदमा टेबल गरिएको दावी गर्नुभएको छ ।
प्रेस सेन्टर चितवनले आज भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाटमा बोल्दै प्रधानमन्त्री एवंम नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले जबरजस्ती नभई सल्लाह बमोजिम नै संशोधन प्रस्ताव टेवल गरिएको बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो–“एमाले अध्यक्ष ओलीज्यूसंग एक घण्टा छलफलपछि बिरोध गरेजस्तै गर्ने, संशोधन प्रस्ताव टेवल गर्ने सहमती भएको हो, कसैलाई झुक्याईको होईन ।” प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्तावको विषयमा तत्काल समझदारी नबन्ने भएकाले विषयलाई अगाडि बढाउन सबै सहमत भएको बताउनुभयो ।
यस्तै प्रधानमन्त्री दाहालले आफू रिवन काट्न मात्र देशदौडाहामा नलागेको भन्दै विकास निर्माणको कार्यलाई अगाडि बढाउन आफू देशको चारै भागमा पुगेको बताउनुभयो । उहाँले चितवनको विकास निर्माणबारे आफूले प्याकेज नै घोषणा गर्ने बताउनुभयो । उहाँले आफ्नो प्रधानमन्त्री कार्यकाल एउटा काम पुरा भएपछि मात्र छोड्ने भन्दै त्यसबीचमा चितवनको विकासमा वृहत्तर कार्यक्रम ल्याउने बताउनुभयो । विगतको जस्तो आफूले कसैले भन्दैमा राजीनामा नदिने स्पष्ट पार्दै आफ्नो जिम्मेवारी पुरा गरेर मात्रै सरकार छाड्ने बताउनुभयो ।
प्रधानमन्त्री दाहाल चार वटा कार्यक्रमका लागि दुई दिनका लागि चितवन आउनुभएको हो ।