न्यायाधीश योगी हुन् : प्रधान्यायाधीश कार्की

न्यायाधीश योगी हुन् : प्रधान्यायाधीश कार्की

चितवन, मंसिर २७–

प्रधानन्यायाधीश सुशीला कार्कीले दबाब र प्रभावमा न्याय दिन कठिन हुने बताउनुभएको छ ।

चितवन जिल्ला अदालतले आज आयोजना गरेको ‘मुद्दाको समय तालिका, टिपोट, सूचना प्रवाह, सेवाग्राहीसँग व्यवहार, सोधपुछ तथा सहायता कक्षको व्यवस्थापन’सम्बन्धी अन्तक्र्रियामा उहाँले न्यायाधीशले साहस र प्रयास गरेर जनतालाई भलो र न्याय दिनुपर्ने बताउनुभयो ।

न्यायपालिका अग्रगमनतर्फ गइरहेको बताउँदै उहाँले अभावै अभाव भए पनि जनतालाई छिटोछरितो र गुणस्तरीय न्याय दिन न्यायाधीशलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “न्यायाधीश सन्यासी हुन्छन्, योगी नै हुन्, योगीलाई संसारिक मोह हुँदैन, उनीहरुले अरुको भलो मात्रै चाहन्छन् ।”

मुद्दा फैसलापछि हृदयाघात भएर मानिसको मृत्युसमेत भएको आफैँले देखेको बताउँदै उहाँले भन्नुभयो, “विवेक राखेर फैसला गरिएन र अलिकति पनि तलमाथि भयो भने व्यक्तिको जीवन नै बर्बाद हुन सक्छ, परिवार बिग्रन सक्छ, सम्पत्ति जान्छ, उसको चित्त दुख्छ ।” कोही अन्यायमा परे उसको श्रापसमेत लाग्ने बताउँदै उहाँले यस्तो स्थिति आउन नदिन न्याय दिँदा विचार पुर्याउनुपर्नमा जोड दिनुभयो ।

योजनाबाट अदालत चल्नुपर्छ भन्ने मान्यताका साथ एसियामै पहिलो पटक तेस्रो रणनीतिक योजनाअनुरुप न्यायसम्पादन भइरहेको जानकारी दिँदै उहाँले प्रभावकारी रुपमा छिटोछरितो र गुणस्तरीय न्याय दिनु अहिलेको अवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा सर्वोच्च अदालतका रजिस्ट्रार श्रीकान्त पौडेलले गुणस्तरीय न्याय सम्पादनका लागि सुधारका योजना अगाडि ल्याइएको जानकारी दिँदै कतिपय मुद्दा एकै दिनमा फैसला हुन सके अझै प्रभावकारी हुने बताउनुभयो । प्रजिअ नारायणप्रसाद भट्टले न्याय क्षेत्रसँग जनताले भरोसा र अपेक्षा गरेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला अदालतको कार्य प्रगतिका बारेमा न्यायाधीश सुवार पुरी र सर्वोच्च अदालतका सहरजिस्ट्रार विपुल न्यौपानेले न्याय सम्पादनका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ