Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भूकम्पप्रभावित २१ जिल्लामा घरेलु तालिम – Gaule Khabar

भूकम्पप्रभावित २१ जिल्लामा घरेलु तालिम

भूकम्पप्रभावित २१ जिल्लामा घरेलु तालिम

अच्युत रेग्मी,
काठमाडौँ, मंसिर २३–

घरेलु तथा साना उद्योग विकास समितिले रु सात करोड ८९ लाख लागतमा २१ जिल्लामा सीपमूलक तालिम दिने भएको छ ।

गत वर्ष वैशाख १२ गतेको भूकम्पले पुर्याएको क्षतिको पुनःनिर्माण गर्न समितिले भूकम्प प्रभावित २१ जिल्लाका दुई हजार आठ सय युवालाई तालिम दिन लागेको हो । समितिले गत वर्ष भूकम्प प्रभावित १६ जिल्लामा विभिन्न सीप विकास तालिम सञ्चालन गरी एक हजार नौ सय ३३ जनालाई प्रशिक्षित गराएको समितिका सूचना अधिकारी देवप्रसाद गुरागार्इंले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यस वर्ष डकर्मी, सिकर्मी, हाउस वायरिङ र प्लम्बिङ र कपाल काट्ने तालिम दिएका हौँ ।” तालिमबाट दक्ष, कुशल जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको घरेलु तथा साना उद्योग विकास समिति राखेको छ । समितिले प्रत्येक जिल्लामा एक सयदेखि दुई सयको सङ्ख्यामा तालिम दिँदै आएको छ भने भूकम्पबाट क्षति भएका घर, उद्योग, विद्यालय, मठमन्दिर निर्माण र पुनः निर्माणलाई अभियानकै रुपमा निरन्तर अगाडि बढाउँदै आएको छ ।

यस्तै, भूकम्पपश्चात् सहरी तथा ग्रामीण क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहँदा घरेलु तथा साना उद्योग विकास समितिले आवश्यक सङ्ख्यामा पुनःनिर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । कतिपय जिल्लामा जनशक्ति उत्पादन गर्ने अवधिमै भूकम्पप्रतिरोधी भवन निर्माणसमेत गरेको समितिले जनाएको छ ।

निर्माण भएका भूकम्पप्रतिरोधी भवनमध्ये लमजुङमा मिश्र सेवा समाजको आधुनिक पक्की भवन, नुवाकोटको थानसिंहमा गाविसको भवन, नुवाकोटको ककनीमा विद्यालय भवन, रसुवामा तामाङ भवन, नुवाकोटको विदुरमा घरेलु तथा साना उद्योग विकास समितिको शाखा कार्यालय रहेका छन् । समितिले दिने यस्तो तालिम दुई महिनाको हुनेछ ।

समितिले विपद्को समयमा गाउँघरमै गएर तालिम दिँदा सीप मात्र नदिएर रोजगारीको अवसरसमेत प्रदान गरेको छ । समितिले भूकम्प अतिप्रभावित गुल्मी, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी, अर्घाखाँची, भोजपुर, सङ्खुवासभा, धनकुटा, नुवाकोट, रसुवा, धादिङ, गोरखा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र लमजुङमा तालिम दिएको हो ।

पछिल्लो समय युवा विदेश जाने गरेको भन्दै यसलाई रोक्न यस्ता तालिमले ठूलो सहयोग पुगेको समितिले जनाएको छ । तालिममा सहभागी हुने युवालाई कामको प्रकृति हेरेर दैनिक रु सयदेखि रु तीनसयसम्म भत्ताको व्यवस्था मिलाइएको समितिका निमित्त कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्यायले बताउनुभयो ।

ग्रामीण क्षेत्रका युवा मनग्य आम्दानी गर्ने उद्देश्यका साथ विदेसिएको समयमा भूकम्पबाट क्षति पुगेका भवन निर्माणका लागि आवश्यक पर्ने जनशक्ति नहुँदा घर, भवन बन्न नसकेको बेला समितिले दिएको सीपमूलक तालिमले घर निर्माण गर्न सफल भएको उपाध्यायले बताउनुभयो । तालिम अवधिमा निर्माण भएका घर, भवन, विद्यालय सबै भूकम्प प्रतिरोधी रहेको समितिले दाबी गरेको छ । तालिममा पुरुष र महिला दुवैलाई उच्च प्राथमिकतामा राखिएको समितिले जनाएको छ ।

समितिले लघु, घरेलु तथा साना उद्योगको विकास, विस्तार र प्रवद्र्धनसम्बन्धी कार्यलाई मात्र जोड दिइरहेको समयमा भूकम्पपश्चात् पुनःनिर्माण एवम् नवनिर्माण कार्यमा समेत सहयोग गरेको निमित्त कार्यकारी निर्देशक उपाध्यायले बताउनुभयो । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका