एमालेको आजपनि संसद अवरुद्ध गर्ने तयारी

एमालेको आजपनि संसद अवरुद्ध गर्ने तयारी

काठमाडौ,मंसिर १७-

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार पनि व्यवस्थापिका संसद बैठक अवरुद्ध गर्ने भएको छ।  एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले संविधान संसोधन विधयेक फिर्ता नलिएसम्म संसद चल्न नदिने बताए। सरकारले राष्ट्रहित विपरित विधयेक ल्याएको भन्दै एमालेले बिहीबार पनि संसद अवरुद्ध पारेको थियो।

बैठक चल्न नसक्दा एमालेकै समर्थनमा संसदमा दर्ता भएको अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाउने कार्यसूची प्रभावित भएको छ। तर एमालेले महाभियोग प्रस्ताव भन्दा पनि संसोधन विधयेक राष्ट्रघाती भएकाले यसको टुंगो नलागेसम्म संसद चल्न नदिने उपनेता नेम्वाङको भनाइ छ।  शुक्रबारको संसद बैठक अघि दलहरुलाई सहमति जुटाउन आग्रह गरेको सभामुख ओनसरी घर्तीले बताइन्। सहमति नजुटेपनि एक दुई दिनमा दलहरुबीच सहमति भएर महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइने उनले जानकारी दिइन्।

सभामुख घर्तीले बिहीबार संसद अवरुद्ध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग छुट्टाछुट्टै भेटेर संसद चल्ने वातावरण बनाउन आग्रह गरेकी थिइन्।  संसद बैठक शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ