Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चीनबाट काठमाडौं लक्षित कार्गो रेल – Gaule Khabar

चीनबाट काठमाडौं लक्षित कार्गो रेल

चीनबाट काठमाडौं लक्षित कार्गो रेल

काठमाडौं,मंसिर १६-  

 

व्यापार सहजीकरण र प्रवद्र्धनको उद्देश्यले निजी क्षेत्रको पहलमा चीनको दक्षिणको व्यापारिक सहर गोन्जाओबाट बुधबार दक्षिण एसिया अन्तर्राष्ट्रिय सार्वजनिक ढुवानी रेल सेवा सुरु भएको छ । यो सेवाबाट चीनबाट आयात हुने सामान केरुङ हुँदै नेपालको राजधानी भित्र्याउन सहज हुने अपेक्षा गरिएको छ ।

चीनको दा सुन फा इन्टरनेसनल लजिस्टिक एवं थियान जी टिबेट कम्पनी र नेपालको सिनो नेपाल लजेस्टिक एन्ड ट्रान्सपोर्टेसन कम्पनीबीच भएको साझेदारी सम्झौताबमोजिम नेपाली व्यवसायीको सामान बोकेर २२ क्याबिनेट र कार्गाे बक्ससहितको उक्त रेल ल्हासाका लागि छुटेको हो । उक्त रेलमा लोड गरिएका तयारी कपडा, विद्युतीय सामग्री, फर्निचरलगायत करोडौं मूल्यका सामान केरुङ नाका हुँदै राजधानी भित्रने छ ।

व्यापारिक सामान मात्र बोक्ने उद्देश्यले दक्षिण एसियाली मुलुकहरूलाई केन्द्रित गर्ने र समुद्रको बाटो हुने व्यापार कम गर्ने भन्दै चीन र नेपाली व्यवसायीसमेतको पहलमा उक्त सेवा सञ्चालन भएको हो । यस अघि ल्हासासम्म यात्रु ओसारपसार र व्यापारिक सामान ढुवानीमा एउटै रेल प्रयोग हुँदै आएको थियो । यात्रु बोकेकाले रेल ठाउँ–ठाउँमा रोकिँदा व्यापारिक सामान ढुवानीको समय बढ्ने गरेको थियो । सिनो नेपालका अध्यक्ष सन्जयकुमार चेतानीले यो व्यवस्थाले नेपाली व्यवसायीले सक्दो फाइदा लिने अवसर मिलेको बताए ।

व्यपारिक सामान मात्र ढुवानी गर्ने भएकाले आयातमा लाग्ने समय झन्डै आधा कम हुने जानकारी चेतानीले दिए । भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि नेपाली व्यवसायी सामुद्रिक बाटो र केरुङबाट व्यापार गर्दै आएका छन् । समुद्रको बाटो प्रायोग गर्दा ढुवानीका लागि लामो समय लाग्ने गरेको थियो । गोन्जाओबाट उक्त रेल चार हजार नौ सय ८० किमि टाढा ल्हासा पुग्नेछ । उक्त रेल प्रतिघण्टा एक सय २० किमिको रफ्तारमा गुड्ने छ । बाटोमा अलमल नगर्ने र यात्रु नचढ्ने भएकाले सामानको सुरक्षा हुने व्यवसायीको दाबी छ ।

सम्झौता कार्यक्रमका सहभागी नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर खत्रीका अनुसार यो सुविधाबाट ढुवानी खर्चमा कटौती हुने छ । अब नेपाली व्यवसायीले भोग्दै आएको ढुवानी समस्यामा थोरै भए पनि सहज हुने छ, अध्यक्ष खत्रीले कान्तिपुरसँग भने,‘ ‘चाँडै कुहिने र टुटफुट हुने सामान सुरक्षित रूपमा नेपाल भित्रनेछ ।’ पछिल्लो समय बजारमा चीनबाट आयात हुने व्यापारिक सामानको वर्चस्व रहँदै आएको छ ।

यसैबीच ग्वाङवु होल्डिङ ग्रुप कम्पनी र सिनोबीच गोन्जाओमा चीन नेपाल ‘लजेस्टिक पार्क’ बनाउने आशय पत्रमा हस्ताक्षर भएको छ । होल्डिङ कम्पनीका उपकार्यकारी निर्देशक लो राङ क्वाङ र सिनोका अध्यक्ष चेतानीले हस्ताक्षर गरेका थिए । ‘वान बेल्ट वान रोड’ को अवधारणाअनुसार पार्क निर्माण हुन लागेको हो । होल्डिङ कम्पनीले उक्त स्थान (गोन्जाओ) मा ‘नेपाल टाउन’ नाम दिएर व्यापारिक भवन निर्माण गर्नेछ ।

व्यापारिक आर्थिक क्षेत्रका रूपमा विकास गरिने उक्त पार्कलाई केन्द्र बनाएर आयात निर्यातमा सघाउने चिनियाँ अधिकारीलाई उद्धृत गर्दै नेपाली व्यवसायीले बताएका छन् । सीमापारका अध्यक्ष खत्रीका अनुसार उक्त स्थानमा नेपाली संस्कृति र रीतिरिवाज झल्कने संरचना निर्माण गर्न प्रस्ताव गरिएको छ । चीनको कम्पनीले रेल सेवा सुरु गर्ने क्रममा चीनका वरिष्ठ सरकारी अधिकारी तथा नेपाल चेम्बर, हिमालय सीमापारसम्बद्ध व्यवसायीको सहभागिता थियो । एक महिनाअघि चीनको उत्तर पश्चिम प्रान्त लान्झोउबाट व्यापारिक तथा उपभोग्य सामान बोकेको रेल नेपाललाई लक्षित गरेर सञ्चालन भएको थियो । उक्त सेवा अहिले पनि जारी छ । तातोपानी बन्द भएपछि चीनले केरुङ नाकालाई प्राथमिकता दिँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका