साँच्चै भनुँ भने निष्कर्षमा त
बा नै एउटा सिङ्गो समय रहेछ ।
धर्ती भरिको निस्पट्ट अँध्यारो
जब विलय हुँदै हुँदै जान्छ
पोखिन थाल्छन् अजस्र उज्यालो
नाङ्गिन थाल्छ सर्लक्कै भूगोल ।
मस्तिष्क भरी लालाबालाहरुकै
भोलिहरुको अथाह समय सजाएर
कठ्याङ्ग्रिदो बिहानी कुल्चिदै
भाग्य कोर्ने एक थान- गरुङ्गो हलो
दुख तान्ने एक थान- सासना जुवा
मक्किन लागेको कुममा बोकेर
बा ! प्रात:कर्ममा
ओर्लनु हुन्छ किस्ल्या खेत ।
यो जिन्दगी जस्तै पट्यारलाग्दो बाँजो खेत
बाध्यताको बर्कतले जोत्नु हुन्छ बा !
हिर्काउनु हुन्छ दुखै दु:खले
फुटाउनु हुन्छ अवरोधका
– असरल्ल ढिकाहरु ।
आफ्नै विरूप जिन्दगी
कहिल्यै बदल्न नसकेका
मेरा बा !
सम्याउनु हुन्छ गह्राहरु
र बनाउनु हुन्छ सुन्दर ।
समयले जब परिपक्व फलाउँछ गह्राहरु
बा ! उत्साहको काँधमा
अभावै अभावको डोको भिरेर
ओर्लनु हुन्छ किस्ल्या खेत ।
पुग्नु हुन्छ अभीष्टताकै समीप
निरीह चहार्नु हुन्छ प्रत्येक गह्राहरु
नियाल्नु हुन्छ जम्मै
भेट्नु हुन्छ आधा- आधा पेट ।
जसरी लुक्ला-नाम्जेमा बा !
भ्याएसम्म तुजुकको तुनौरीले छाँदेर
पिठ्युँको निर्दोष छाला
निर्ममतापूर्वक उप्कने गरी
बोक्नु हुन्थ्यो दुखै दुखको पहाड
प्राप्त गर्नु हुन्थ्यो उस्तै अँध्यारो रहरहरु ।
त्यसो रै लाग्छ,
जिन्दगी अभावहरुको अभिमान पहाड हो
जो छिचोल्न लागिपर्नु-जीवनको अनन्त भोगाई ।