Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मध्यपहाडी लोकमार्गले जग्गा मासिएको भन्दै आन्दोलन – Gaule Khabar

मध्यपहाडी लोकमार्गले जग्गा मासिएको भन्दै आन्दोलन

मध्यपहाडी लोकमार्गले जग्गा मासिएको भन्दै आन्दोलन

तेह्रथुम, फागुन ५ –

तेह्रथुमको म्याङलुङ्गमा वर्षौंदेखि बसोबास गर्दै आएको घर र जग्गाजमीन मध्यपहाडी लोकमार्ग निर्माणले मासिन थालेको भन्दै स्थानीय बासिन्दाले आन्दोलन थालेका छन् ।

सडक निर्माणको क्रममा आफूहरुको गाँस बास नै उठ्ने र सुकुम्बासी हुनुपर्ने अवस्था सृजना हुने भन्दै म्याङलुङ्गका झण्डै दुईसय घरधुरीले लोकमार्ग पीडित सरोकार समिति नै गठन गरेर कम क्षति हुनेगरि ट्रयाक परिवर्तन गर्न माग गरेका हुन् ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सरोकार समितिले आफूहरुको आवासको अधिकारलाई रक्षा गर्दै लोकमार्ग निर्माण गर्न विभिन्न विकल्पहरुसहितका मागहरु राखेको छ । म्याङलुङ्ग बसपार्कदेखि जिरिखिम्ती र हलिमेला जाने बाटोमा झण्डै एक किमि दुरी भित्र सडकको ट्रयाक परिवर्तन गर्न माग गरिएको सरोकार समितिका अध्यक्ष लालबहादुर खत्रीले बताउनुभयो ।

विभिन्न समयमा पत्रपत्रिकामा आएका समाचारहरुमा लोकमार्गको चौडाई आठ मिटर हुने र केन्द्रबाट दायाँबायाँ २५–२५ मिटरको सडक सीमा छोड्नुपर्ने उल्लेख गरिएकाले त्यसो गर्दा आफूहरुको घर, घडेरी र जमीनहरु पूर्ण रुपमा क्षति भएर सुकुम्बासी हुने उनीहरुको भनाई छ ।

स्थानीय बासिन्दाले यो क्षेत्र बजार क्षेत्र भएकाले त्यसो गर्दा ठूलो क्षति हुने भन्दै बरु आफूहरु लोकमार्गका लागि १५ मिटरको बाटो छाड्न तयार रहेको विकल्पसमेत दिएका छन् । अन्यथा आफूहरु सुकुम्बासी हुने भएकाले कम क्षति हुनेगरि ट्रयाक परिवर्तन गर्न माग गरेको अध्यक्ष खत्रीले बताउनुभयो ।

‘संविधानमा आवासको अधिकारलाई मौलिक हकको रुपमा राखिएपनि एक थरी नागरिकलाई सुविधा दिने नाममा अर्को नागरिकको बास खोस्न मिल्दैन’ अध्यक्ष खत्रीले भन्नुभयो, ‘हामी विकास विरोधी हैन, कम क्षति गरेर निर्माण गरौँ मात्रै भनेको हो ।’

स्थानीय बासिन्दाले विकास आयोजना निर्माण गर्दा कुनै व्यक्तिको क्षति भएमा कानुनबमोजिम क्षतिपूर्ति वा मुआब्जा दिनुपर्ने भएपनि राज्यले आफ्नो शक्तिको आडमा जबर्जस्ती व्यक्तिगत सम्पत्तिमा आक्रमण गर्न खोजेको आरोप लगाएका छन् । ‘लोकमार्ग जिल्लाको सदरमुकाम भएर जानु राम्रो कुरा हो, प्रभावित क्षेत्रका स्थानीय बासिन्दा उदयराज लिम्बुले भन्नुभयो, ‘तर मुख्य बजार भएर लोकमार्गबारे आएका समाचारमा उल्लेख भएजस्तै भए दशकौं अघिदेखिको बजार नै पूर्ण रुपमा विस्थापित हुन्छ ।’

आफूहरुले धनकुटा बसपार्क र पाल्पा बसपार्कको जस्तै मुख्य बजारलाई तर्काएर लोकमार्ग निर्माण गर्न माग गरेको उहाँले बताउनुभयो । लोकमार्गको अष्पष्ट नीतिका कारण पनि स्थानीय बासिन्दा हैरान छन् । ‘राष्ट्रिय गौरवको आयोजना घर नजिकैबाट बन्दा खुसी नहुने कुरै भएन’ स्थानीय शरदमणि दाहालले भन्नुभयो, ‘तर मापदण्ड कति हो ? सडक कत्रो बन्ने हो भन्ने स्पष्ट नहुँदा सडक छेउमा रहेको आफ्नो घर जग्गा प्यारालाईसिस बनाएर राख्नु परेको छ ।’ लोकमार्गको स्पष्ट खाका थाहा नहुँदा नगरपालिकाले यस क्षेत्रमा निर्माणाधीन आसपास घर जग्गा नक्सापास र बैंकले दिने ऋणमा समेत प्रतिवन्ध लगाइएको छ ।

‘जीवन भरको सम्पत्ति घरमा छ, आवश्यक पर्दा दुई पैसा निकालेर काम गर्न पनि नपाइने यो कस्तो व्यवस्था ?’ दाहालले भन्नुभयो, ‘कि अहिल्यै लोकमार्गले यत्ति हडप्ने हो भनेर कित्ता काँट गर्नुप¥यो, हैन भने अल्मल्याएर हाम्रो सम्पत्ति प्यारालाइसिस बनाउँदै कर असुल्न पाइँदैन ।’ जग्गा किनबेच गर्न बन्देज छ, तर कर चाँहि तिरीराख्नु पर्छ, लोकमार्गको अष्पष्ट नीतिले हामी हैरान छौँ’ स्थानीय शेखर सुवेदीले भन्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका