काठमाडौं,माघ १५ –
प्रमुख दलहरुले आफूहरुका माग अनुसार संविधान संशोधन विधेयक पारित गर्न चासो नदेखाएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई मधेसमा विरोध प्रर्दशन गर्ने भएको छ। दुई दिनसम्म चलेको मोर्चाको बैठकले सरकार र प्रमुख दलहरुले मोर्चाका माग समेटेर संविधान संशोधन विधेयक पारित गर्न चासो नदेखाएकाले माघ २३ गते तराई मधेसका सबै जिल्लामा विरोध प्रर्दशन गर्ने निर्णय गरेको छ।
बैठकले परिमार्जनसहित विधेयक पारित गर्न दवाव दिन मधेसका जिल्ला सदरमुकाममा विरोध सभा गर्ने र सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि आफूहरुले गरेका प्रयासका बारेमा स्वेतपत्र जारी गर्ने भएको छ। बैठकपछि तमलोपाका महामन्त्री जितेन्द्र सोनलले आफूहरुसँग भएको सहमति अनुसार आन्दोलनका क्रममा मोर्चाका कार्यकर्तामाथि लगाइएको झट्टा मुद्दा फिर्ता नलिएको भन्दै मोर्चाले सरकारलाई दवाव दिन विरोध प्रर्दशन गर्न लागिएको बताए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक पटक आश्वासन मात्र दिएर आफूहरुलाई अलमलमा पार्न खोजेको भन्दै दबाव दिने बताए।
बैठकले स्थानीय तह पुनसंरचन आयोगले मोर्चाको सहमति विपरीत स्थानीय तहको सीमा निर्धारण गरेर दिएको प्रतिवेदन मान्न नसक्ने ठहर गरेको छ। मोर्चाले आयोगको प्रतिवेदन खारेज गरेर आफूहरुको माग अनुसार स्थानीय तहको पुनर्संरचना गर्नुपर्नेसमेत माग गरेको छ। मोर्चाले प्रमुख दलहरु संविधान संशोधन भन्दा पनि निर्वाचनमा बढी केन्द्रित भएको भन्दै समस्या समाधानका लागि परिमार्जनसहितको संशोधनमा लाग्न सुझाव समेत दिएको छ। बैठकमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भने सहभागी भएनन्।