दिपेन्द्र अधिकारी,
चितवन, माघ ९–
नातासम्बन्धले आफ्ना भन्नेहरुबाटै गम्भीर प्रकृतिका घटना हुने गरेको पाइएको छ ।
हत्या, बलात्कार, मानव बेचबिखन, बहुविवाहलगायत अपराधिक घटना नातासम्बन्ध भित्रै व्यक्तिहरुबाट हुने गरेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत चितवनको एक वर्षको तथ्यांकलाई केलाउने हो भने गम्भीर प्रकारका अपराधिक घटनामा आफ्ना नै पीडकका रुपमा देखिएका छन् । आजको चितवन पोष्ट दैनिकमा खबर छ ।
श्रीमान्, श्रीमती, बा, आमा, काका, मामा, माइजूजस्ता निकट सम्बन्धहरुबाटै मानिसहरु अपराधको शिकार हुने गरेका छन् । एक वर्षको अवधिमा जिल्लामा झण्डै एकदर्जन घटनामा पीडितहरुको तथ्यांक हेर्दा उनीहरु आफ्ना भन्नेहरुबाटै पीडित बनेका छन् । पीडित हुनेमा अधिकांश महिला र बालिका रहेका छन् । कसैको हत्या भएको छ, कोही बलात्कार शिकारमा परेका छन्, कोही बेचिनका लागि भारत लगिएका छन् त कोही बहुविवाहको शिकार बन्ने गरेका छन् । आफ्ना भन्नेहरुबाटै मानव अधिकारको उल्लंघन भएका छन् ।
‘कतिपय अपराधिक घटनामा आफ्ना मान्छेहरु नै मुछिएका हुन्छन’, चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले भने,‘घटनामा संलग्नहरुको खोजी अनुसन्धान गर्दै जाँदा पीडक कतिपय अवस्था पीडितका आफन्त नै हुने गरेका छन् ।’
१२ वर्षीया बालिकालाई ०७२ चैत १७ गते काउले गाविस–६ का ३७ वर्षीय शेरबहादुर चेपाङ र ३१ वर्षीया विष्णुमाया चेपाङले ललाइफकाइ दलाल गोरखा जिल्ला बुङकोटका ३१ वर्षीय चन्द्रबहादुर श्रेष्ठसँग जबरजस्ती विवाह गराई भारततर्फ लैजाने क्रममा महेन्द्रनगर गड्डाचौकीमा माइती नेपालले नियन्त्रणमा लिई अभिभावकको जिम्मा लगायो । शेरबहादुर बेचिन लगिएकी बालिकाको मामामाइजू हुन् । ०७३ मङ्सिर ६ गतेको फैसला अनुसार बालविवाहमा परिणत भई आरोपित सबैलाई ६ महिना कैद सजाय फैसला भएको छ ।
त्यस्तै भरतपुरकी ६ वर्षीया बालिकालाई ०७२ चैत ८ गते राति बलात्कार गरेको भनी पीडितकी आमाले प्रहरीमा चैत ९ गते उजुरी दिइन् । यस घटनामा बाबु पीडकका रुपमा रहेका छन् । जिल्ला अदालतको वैशाख २९ गतेको फैसलाले आरोपितले अभियोगबाट सफाइ पाएका छन् । केही दिनअघि मात्रै भण्डारा क्षेत्रमा पनि एक बालिका आफ्नै काका पर्नेबाट यौन दुव्र्यवहारको शिकार बनेकी थिइन् ।
अर्को घटना हत्या सम्बन्धमा रहेको छ । भरतपुर उमनपा–७ उज्जवलटोलका ३३ वर्षीया जमुना काफ्ले चापागाईलाई गत वर्ष माघ १६ गते राति पति ३८ वर्षीय त्रिभुवन काफ्लेले घरमा सुतिरहेको अवस्थामा धारिलो हयितार प्रयोग गरी गम्भीर घाइते बनाए । जमुनाको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा सोही दिन निधन भयो । ०७३ वैशाख ५ गतेको फैसलाले त्रिभुवन काफ्लेलाई जन्म कैद भएको छ ।
त्यसैगरी आफ्नो भन्ने बाटै पीडित अर्को घटना बहुविवाह सम्बन्धमा रहेको छ । माडी बघौडाका ३५ वर्षीया भीमबहादुर दराईले घरमा पत्नी हुँदाहुँदै भरतपुर नपा– ११ की ३५ वर्षीया सरिता दराईलाई ०७३ असार १५ गते दोस्रो पत्नीको रुपमा ल्याएको भन्दै पीडितले गते ०७३ साउन २४ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिइन् । भीमबहादुर र सरिता दुबैलाई प्रहरीले साउन २५ गते गिरफ्तार ग¥यो । बहुविवाह मुद्दा दर्ता भएकोमा चितवन अदातलको मङ्सिर २० गतेको फैसलाले पीडक भीमबहादुर र सरितालाई जनही एक वर्ष कैद र ५ हजार रूपैयाँ जरिवाना तोक्यो ।
भारतको बिहार बसन्तपुर थाना सिवान घर भई हाल भरतपुर उमनपा–४ बेलचोक बस्ने ४२ वर्षीय भगवान राय यादवले पत्नी ४० वर्षीया अमृता शर्मा यादवलाई आफ्नो इच्छा विपरित यौनसम्पर्क गरेको भन्दै पीडितले ०७३ भदौ २७ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिइन् ।
त्यस्तै नाताले काकी पर्ने २६ वर्षीया महिलालाई ०७३ वैशाख १२ गते राति सुतिरहेको अवस्थामा कोराक गाविस–१ का २७ वर्षीय सन्तोष थिङले बलात्कार गरेको प्रहरीमा उजुरी परेको थियो ।